३१ भाद्र २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा यसरी लोकप्रिय बन्यो एउटा पाडो

मालिकले मार्न खोज्दा भागेको भैंसीको पाडो गत साता अमेरिकाको आयोवामा सर्वसाधारणका लागि अत्यन्त लोकप्रिय (सेलेब्रिटी) बनेको छ। नियन्त्रणमा लिने क्रममा प्रहरीले गोलीसमेत हानेको उक्त पाडो केही दिनसम्म फरार थियो।

डेस मोइन्स महानगरीय क्षेत्रको सहर प्लिजन्ट हिलका सर्वसाधारणले उक्त पाडोलाई अगस्ट २४ मा पहिलो पटक सडकको बीचमा देखेका थिए। एक वर्षको घाइते पाडोको दृश्य असमान्य भएकाले सर्वसाधारण आश्चर्यमा परेका थिए।

कय्यौं दिनसम्म स्थानीयले उक्त पाडोलाई सडकमा देखेपछि त्यसको ट्र्याकिङ गर्न थालेका थिए। उनीहरूले आफ्नै सहरकै नाममा उक्त पाडोको नाम ‘फिल’ नामाकरण गरेका थिए। भड्किरहेको पाडोको बारेमा उनीहरूले स्थानीय प्रहरीलाई जानकारी गराउनुका सार्थ त्यसको मालिकसँग पनि कुरा गरेका थिए।

मासुको प्रयोजनका लागि मार्न खोज्दा पाडो उम्केर भागेको मालिकले बताएका थिए। डेस मोइन्स नगर प्रहरीका प्रवक्ताका अनुसार मार्न खोज्दा उम्केर भागेको त्यो पाडो ‘आक्रामक र खतरनाक’ देखिन्थ्यो। पाडो सडकमा यत्रतत्र दौड्दा सडक दुर्घटना हुने भन्दै प्रहरीले सार्वजनिक सुरक्षा उच्च प्राथमिकता राखेर काम गरेको ती प्रक्ताले बताए। एसियन भैंसी (एसियन बफेलो) भनेर चिनिने यसप्रकारका पानी भैसी (वाटर बफेलो) लाई कसरी नियन्त्रणमा लिने भन्ने विषयमा स्थानीय प्रहरीलाई खास अनुभव पनि थिएन।

मार्न खोज्दाकै दिन भागेको त्यो पाडोलाई एक प्रहरी अधिकारीले चार लेनको राजमार्ग छेउमा देखेका थिए। पाडो राजमार्गमा नजाओस् भनेर ती प्रहरी अधिकारीले त्यसलाई गोली हानेका थिए। प्रहरीको गोली पेटमा लागेको त्यो पाडो त्यहाँबाट पनि उम्केर भागेको थियो।

झन्डै एक हजार पाउण्ड तौलको उक्त पाडोलाई ट्र्याक गर्दैगर्दा उसले सहरवरिपरि आफ्नो गन्तव्य बनाइरहेको थियो। स्थानी बासिन्दाले उसलाई घरवरिपरि पनि देख्न थालेका थिए। पार्किङ स्थल र मानिस हिँड्ने बाटो (ट्रेल) मा पनि त्यो पाडो देखिन्थ्यो।

सर्वसाधारणले इन्टरनेट ग्रुपमा पनि उक्त पाडोको फोटो राख्न थालेका थिए। यो क्रम एकाएक बढेको थियो। कतिपयले त्यो पाडोलाई सुरक्षित राख्न अनुरोध गर्न थालिसकेका थिए। ‘उसलाई नमार, ऊ सानो प्यारो कुरा (क्युटेस्ट लिट्ल थिङ) हो,’ सर्वसाधारणको प्रतिक्रिया थियो।

२५ वर्षदेखि उक्त सहरमा बस्दै आएका सुजी हेनरिकसेनले यो पाडोको उद्धार र सुरक्षाका लागि फेसबुक पेजसमेत बनाएकी थिइन्। फेसबुक पेजमार्फत पाडोको अवस्थाबारे लगातार जानकारी दिन थालियो। स्थानीय पसलमा ‘फ्री फिल’ लेखेका टिसर्ट बेच्न थालियो।

हिंस्रकभन्दा पनि सामान्य हिसाबले हिँडडुल गरिरहेके ‘फिल’ले धेरैको माया पाउन थालिसकेको थियो। विस्तारै स्थानीय सञ्चारमाध्यमबाट पनि त्यो पाडोका बारेमा समाचार प्रवाह गर्न थालियो।

‘दुई पटक मृत्यु छलेको फिल बाँच्न लायक छ। उसलाई स्वतन्त्र हुन दिनुहोस्,’ हेनरिकसेनले फेसबुक पेजमा लेखेकी थिइन्।

गोली लागेको केही क्षणपछि आफ्नै घरको क्यामेरामा फिललाई देखेकी जेसिका एसेलम्यानले उसले आक्रामकताको कुनै संकेत नदेखाएको बताइन्।

‘ऊ धेरै प्यारो देखिन्थ्यो। मैले केही मद्दत गर्न नसकेकोमा नरमाइलो लाग्यो। उसले मेरो बगैंचाका फूलहरू सुँघिरहेको थियो’, उनले भनिन्, ‘सायद गोलीका कारण ऊ पीडामा थियो र साँच्चै हृदयविदारक दृश्य थियो।’

प्लिजन्ट हिलबाट करिब एक सय माइल टाढा रहेको आयोवा फार्म स्याङचुअयरी (पशुविहार) ले यो जानकारी पाएसँगै फिलका मालिकसँग रहेका दुई अन्य भैंसी आफूले पाल्ने योजना अघि सार्‍यो। अन्ततः व्यापक दबाबपछि ती मालिक तीनवटै भैंसी (पाडोसहित) उक्त पशुविहारलाई दिन तयार भए।

पशुविहारका सहसंस्थापक जेरेड क्याम्पका अनुसार ४० एकडमा फैलिएको उक्त फार्ममा अब उनीहरूले घुम्न, खान, खेल्न र बस्न पाउनेछन्। अगस्ट २७ मा फिललाई ट्रान्कुलाइज गरेर आयोवा स्टेट युनिभर्सिटीको पशु अस्पतालमा लगरेर उपचार गरिएको थियो।

उक्त पशुविहारले यी तीनवटा भैंसी पाल्नका लागि रकम जुटाउने अभियान सञ्चालन गरेको छ। हालसम्म २५ हजार अमेरिकी डलर जम्मा भैसकेको छ। पैसा उठ्नेक्रम जारी छ। मंगलबारसम्म उक्त पशुविहारमा ती दुईवटा भैंसी आइपुगेका छन्। फिल अस्पतालमा छ। एक्सरेले उसको पेटमा गोली रहेको देखाएको छ तर सर्जरी गर्ने कि नगर्ने भन्नेमा चिकित्सक टुगोमा पुगिसकेका छैनन्। अस्पतालमा केही दिनको उपचारपछि फिल पनि उक्त पशुविहार पुग्नेछ।

तनाबका सात दिनपछि प्लिजन्ट हिलका स्थानीय खुसी छन्। उनीहरूले अब फिल शान्तिसँग बाँच्न पाउने ठानेका छन्। प्लिजन्ट हिलकी एसेलम्यानले अब आफ्नो समुदायवरपर फिललाई देख्न नपाउँदा उसको अभाव खड्कििने बताइन्। ‘हामी पुनः उसलाई भेट्न चाहन्छौं। अर्काे वर्ष आयोजना हुने आयोवा स्टेट मेलामा सायद उसलाई फेरि देख्न सकिनेछ,’ एसेलम्यानले भनिन्।

–वासिङ्टन पोस्ट,टसिडनी पेज

प्रकाशित: २२ भाद्र २०८१ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App