२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीले बालेनलाई भने: ‘मनपरी बोल्ने केटो’ !

कार्यकर्तालाई निर्देशनः त्योसँग जनमत छ भनेर नलडे हारिन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई ‘मनपरी बोल्ने केटो’ भन्दै टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एमालेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै यस्तो टिप्पणी गरेका हुन्।

‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यल्ले मनपरी बोल्छ। त्यल्लाई चलाउनुहुँदैन है ! त्यो सँग जनमत छ अरे ! डराएर उसलाई नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ,’ ओलीले भने, ‘देखिसक्यौं नि हामीले, बोक्नेले त बोकेकै छ।’

बोकेको बिरालोले मृग नमार्ने पनि ओलीले दाबी गरे। ‘बिरालो काँधमा बोकेर यतापट्टिबाट गोली हानेर मृग मार्‍यो भन्दै भ्रम चलाइन्छ। त्यसकारण हामी भ्रमणबाट मुक्त हुनुपर्छ,’ उनले अगाडि भने।

‘साँढे’ कविताको एक लाइन ‘नलढी कोहीँ हुन्न विजेता’ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बलियो र दुब्लोको लडाइँमा बलियोले प्रहारै गर्दैन भने दुब्लोको त्यसै जित हुने बताए।

‘दुब्लोले कहिले आँखा फुटाइदेला, अर्कोपटक के गर्देला, अर्को पटक दाँत झारिदेला, दुब्लोले त्यति त सक्छ नि ! प्रधानमन्त्री ओलीले भने, ‘बलियाले हात छाड्दैन्। अनि दुब्लोले एकलौटी हान्या छ–हान्या छ गरेपछि बलियोले नि हार्छ। लड्नुपर्‍यो नि जित्न।’

एमाले बलियो हुँदाहुँदै पनि लडाइँ नगर्दा अहिले बजारमा कमजोर देखिएको पनि उनले बताए। ‘आफ्नै हातमा मोबाइल छ, तर आफ्नै साथीविरुद्ध लेख्या छ। विरोधीसँग लड्न मोबाइल चुप छ। अनि हामी लड्छौं कसरी ?,’ ओलीले भने।

प्रकाशित: २९ भाद्र २०८१ १६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App