७ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

मति भ्रष्ट भए समाज परिवर्तन गर्न गाह्रो हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल जेसीजको ५१ औं महाधिवेसनलाई सम्बोधन गर्दै।

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक व्यक्तिले ज्ञान, बुद्धि र मतिलाई ठिक राखेर काम गरेमा मात्र समाजमा परिवर्तन आउने दाबी गरेका छन्। उनले कुनै पनि व्यक्तिमा ज्ञान र बुद्धि दुवै भएतापनि मति भ्रष्ट भएमा समाजमा परिवर्तन ल्याउन गाह्रो हुने बताए।  

‘मति ठिक भए व्यक्तिले विवेक सिर्जना गर्छ, विवेकले कहिल्यै गलत काम गर्दैन,’ प्रधानमन्त्री ओलीले शनिबार इटहरीमा नेपाल जेसीजको ५१ औं महाधिवेशनको उद्घाटनका क्रममा भने, ‘मानिसको सबैभन्दा उत्तम मति ठिक हुनुपर्छ। मति ठिक भएपछि मात्र बुद्धिमत्तापूर्वक काम गर्छ।’

उनले व्यक्तिमा घमण्ड नहुँदा बुद्धि पनि बढ्ने भएकाले गर्दा जुनसुकै कुरालाई राम्रो बनाउन आफू ठिक हुनुपर्ने जिकिर गरे। ‘हाम्रो देश हरेक हिसाबले अगाडि लम्किँदै छ,’ उनले भने, ‘जेसीज संस्थाले शिष्टता, मर्यादा र शिष्टता सिकाउँछ।’ उनले हाम्रा भविष्यका सन्तानप्रति सजगता हुनका लागि पनि आग्रह गरे।

‘खास गरेर हाम्रा भविष्यका सन्तानप्रति सजगता हुनका लागि नेपालको बिग्रँदो धर्तीलाई ध्यान दिनु जरुरी छ,’ उनले भने, ‘नेपालको धर्तीलाई ठिक राख्नका लागि सबै जिम्मेवार हुनुपर्छ। सबै एकतित्र भएर लाग्नुपर्छ। दिगो भविष्यका लागि धर्तीको भविष्य रहे मात्र सम्भव हुनेछ।’ 

प्रधानमन्त्री ओलीले नेपालको एकताको पक्षमा काम गर्न सबैलाई आह्वान समेत गरे। ‘नेपाललाई साम्प्रदायिक हिसाबले विद्वेष फैलाउनेभन्दा एकतित्र भएर अघि बढनुपर्छ,’ ओलीले भने, ‘नेपाललाई समृद्ध नेपाल बनाउन चाहे पनि गरिबी रही रहेकाले गर्दा सबै सङ्गठित भएमा गरिबी निवारणसँगै समाजलाई हरेक हिसाबले अघि बढाउन सहयोग मिल्नेछ।’ उनले जेसीजले नेतृत्व विकास र उद्यमशीलताका निम्ति कार्य गर्दै आएकोमा प्रशंसा गरे।

सोही क्रममा प्रधानमन्त्री ओलीले अबको डेढ वर्षपछि प्रधानमन्त्री शेरबहादुर देउवा भएको बताए। जेसीजको विभिन्न विधाका उत्कृष्टलाई सम्मान गर्ने क्रममा कार्यक्रम सञ्चालिकाले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भनी सम्बोधन गरेको प्रसङ्ग निकाल्दै ओलीले ठिकै भनेको बताए। ‘प्रधानमन्त्री पद अस्थायी हो, अब डेढ वर्षपछि शेरबहादुर देउवा नै हो। म प्रधानमन्त्री भए पनि नभए पनि जेसीजप्रति सधैंभरी शुभेक्क्षा छ।’

सोही क्रममा नेपाल जेसीजले वर्षेनी प्रदान गर्दै आएको विभिन्न विधामा उत्कृष्ट युवा सम्मान गरेको छ। जसमा क्रिकेट खेलाडी द्वय करण केसी, रुविना क्षेत्री, साहित्यतर्फ कुमार सिंह, सामाजिक न्यायको क्षेत्रमा क्रियाशील कविता नेपाल, कलातर्फ विजय बराल, पत्रकारितातर्फ गोविन्द मरासैनी, आर्थिक क्षेत्रमा प्रगति गर्ने राहिव साहीवाला, विज्ञान प्रविधितर्फ कपिली खनाल र सङ्गीततर्फ सरोज श्रेष्ठलाई नगदसहित सम्मान गरियो।

यस्तै, इटहरी जेसीजको तर्फबाट इटहरीका मेयर हेमकर्ण पौडेल र समाजसेवी ईश्वरी पराजुलीलाई मनार्थ सदस्यता प्रदान गरियो। नेपाल जेसीजका तर्फबाट भने नेकपा एमालेका प्रमुख सचेतक महेष वतौंला र नेपाली काँग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरालाई मनार्थ सदस्यता प्रदान गरियो। सोही क्रममा वैज्ञानिक जितेन्द्र उपाध्यायलाई पनि सम्मान गरियो।

तीन दिनसम्म चल्ने जेसीजको अधिवेशनले सन् २०२५ का लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ। नयाँ नेतृत्वका रश्मी सिल्पकार, विजय गुरुङ, रजनी थापा, नरेशचन्द्र ओझा, जीवन कार्की र सुनिल तिम्सिना रहेका छन्। महाधिवेशनमा एक हजार दुई सय ४६ प्रतिनिधि र पर्यवेक्षक गरि पाँच हजार हाराहारी सहभागी भएको महाधिवेशन आयोजक समितिका संयोजक दीपक ढकालले बताए।

प्रकाशित: ६ पुस २०८१ २१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App