७ पुस २०८१ आइतबार
image/svg+xml
शिक्षा

गणित सुधार्न शिक्षक कार्यशाला

गणित शिक्षकहरुका लागि दुई दिने कार्यशाला शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ।

कार्यशालामा वीरेन्द्रनगरका १४ वटा विद्यालयका गणित शिक्षकहरू सहभागी छन्। पछिल्लो समय गणित विषयमा उत्तीर्ण हुने विद्यार्थीको संख्या कम हुन थालेपछि विद्यालयका प्रधानाध्यापकहरुको भेलाले गणित विषयका शिक्षकहरुको कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको थियो।

एसओएस बालग्रामका निर्देशक गोपालप्रसाद घिमिरेले विद्यालयका प्रधानाध्यापकको छलफलबाट गणित विषयकका शिक्षकहरुका लागि कार्यशाला आयोजना गर्ने निर्णय भए अनुसार पहिलो चरणको कार्यशाला सुरु भएको बताए।

उनले वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएकाले यहाँ कर्णालीका मात्रै नभएर विभिन्न जिल्लाहरूबाट अभिभावकसँगै विद्यार्थी आउने गरेको बताउँदै वीरेन्द्रनगरका विद्यालयका शैक्षिक गुणस्तरले देशभर प्रभाव पार्ने उल्लेख गरे।

शिक्षक अभिभावक संघका अध्यक्ष डाक्टर अर्चना कार्कीले कर्णालीबाट बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरूले आफ्नो विद्यालय र जिल्ला भन्दा पनि समग्र कर्णालीको प्रतिनिधित्व गर्ने भएकाले समग्र विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताइन्।

‘कर्णाली बाहिर अध्ययन गर्न जाने विद्यार्थीहरू कर्णालीलाई प्रतिनिधित्व गर्छन्,’ उनले भने, ‘त्यहीँ भएर कुनै एक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरेर हुँदैन सबै संस्थागत र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुनुपर्छ।’

‘गणित विषयमा कम विद्यार्थीहरू उत्तीर्ण हुने गरेको पछिल्ला नतिजाहरुले देखाएका छन्,’ अमरज्योति मावि नेवारेका प्रधानाध्यापक खगेन्द्र थापाले भने, ‘गणित शिक्षकहरुबीच सिकाई आदान–प्रदान गर्नुका साथै कक्षा कोठामा पढाउने शैलीलाई परिवर्तन गर्नका लागि यो कार्यशाला आयोजना गरिएको हो।’

उनले गणित अन्तर्राष्ट्रिय भाषा भएकाले यो सबैका लागि आवश्यक रहेको बताए। ‘गणित कमजोर भयो भन्ने चिन्ता सबैको छ, यसलाई सुधार्न सबै लाग्नुपर्छ,’ उनले भने, ‘गणित नराम्रो भयो भने गडबड हुन्छ।’

एसओएस हर्मन माइनर स्कुलका प्रधानाध्यापक हरिहर बस्नेतले दुई महिनाअघि वीरेन्द्रनगरमा १४ सामुदायिक, संस्थागत र गुठीबाट सञ्चालित विद्यालयका प्रधानाध्यापकहरुको भेलाले गणित विषयमा कार्यशाला चलाउने निर्णय गरेको बताए।

‘विद्यार्थीहरुलाई बुझ्ने गरेर कसरी पढाउने, एक–अर्काका राम्रा अनुभवहरूलाई साटासाट गर्ने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको हो,’ उनले भने, ‘आगामी दिनमा यो कार्यक्रम सबै विद्यालयहरूमा पुर्‍याउने लक्ष्य लिएका छौं।’

म्याथ काउन्सिल सुर्खेतका अध्यक्ष भीम रोकायले कक्षा आठ र १० को नतिजामा गणितमा सबैभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुने गरेको देखिएकाले विद्यार्थीलाई कसरी पढाउने, बुझाउने र उत्तीर्ण गराउने भन्ने विषयमा यो कार्यशाला महत्त्वपूर्ण हुने बताए।

शिव मावि लाटीकोइलीका प्रधानाध्यापक नवराज घिमिरेले गणितमा समस्या देखिएका विद्यालय र त्यहाँका गणित शिक्षकहरुलाई यस्तो कार्यशालामा समेट्नुपर्ने बताए। उनले यस्तो कार्यशाला उपत्यका हुँदै प्रदेशभर आयोजना गर्नुपर्ने बताए।

प्रकाशित: ६ पुस २०८१ २१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App