सन् २०२४ को निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले चिताएजस्तो बहुमत नपाएपछि केही विश्लेषकले भारतमा हिन्दुत्व राजनीति क्षणभंगुर भएको निष्कर्ष निकाल्न हतार गरे। उनीहरूको बुझाइ भाजपाको एक्लो बहुमत रोक्न सफल भारतीय कांग्रेससहितको ‘इन्डिया गठबन्धन’को हौसलाबाट बढी प्रभावित थियो। तर भारतमा हिन्दुत्व राजनीतिको इतिहास बुझेका जोकोहीलाई पनि भारतीय राजनीतिमा हिन्दु राष्ट्रवाद पूर्णतः भाजपा सापेक्षिक मात्र नभएको थाहा छ। सरकारको कुरा त पर जाओस्, संसद्मा हिन्दुत्व पक्षधर कोही पनि सांसद नहुँदा पनि भारतीय संस्थापनका निम्ति हिन्दु राष्ट्रवाद चुनौती थियो।
लामो समयदेखि हिन्दु राष्ट्रवादबारे प्राज्ञिक अध्ययन गरिरहेका प्राध्यापक क्रिस्टोफ जाफरलटले एउटा अन्तर्वार्तामा भनेका थिए– सन् १९८० को मध्यतिरै म विश्वस्त थिएँ, हिन्दु राष्ट्रवादी शक्ति उदाउँदो छ र यसले सत्तामा आउने क्षमता राख्छ। मेरा केही सहपाठीहरूले उतिबेला भनेका थिए– त्यसो हुन सक्दैन। सन् १९९८ मा सरकार चलाएर सन् २००४ मा चुनाव हार्दा पनि धेरैले मलाई फेरि भनेका थिए– हेर, यो सब केही समयका लागि मात्र थियो। अब सबै कुरा सकियो। मैले यो आन्दोलनको जरा तहसम्मको अध्ययन गरेको छु र मैले संघ परिवारले जरा गाड्दै गरेको, त्यो जरा फैलिँदै गरेको र संस्थागत बन्दै गरेको देखेको छु। त्यसकारण मलाई पूर्ण विश्वास थियो, यो विचार लामो समयसम्म जानेछ।’
सन् २०२४ को चुनावमा भाजपाले भनेजस्तो एकल बहुमत नपाएको र केही दलसँग मिलेर सरकार गठन गरेको परिस्थितिलाई हिन्दुत्व राजनीति कमजोर हुँदै गरेको विश्लेषण गर्ने विश्लेषकहरूका लागि जाफरलटको यो भनाइ सुहाउँदो उत्तर हो। हालै महाराष्ट्र र हरियाणा राज्यमा सम्पन्न निर्वाचनमा भाजपाको जीतले हिन्दुत्व राजनीतिले अझ शक्ति आर्जन गरेको देखाएको छ। भारतीय विश्लेषक सतिश झा भाजपाको पछिल्लो विजयले भाजपा सरकार र हिन्दुत्ववादी संगठनहरूलाई हिन्दुत्व राजनीति फैलाउन थप हौस्याउने विश्लेषण गर्छन्।
जाफरलटको शब्दमा भारतको हिन्दुत्व राजनीतिमा भाजपालाई मात्र देख्नु र हिन्दुत्व पक्षधर संघ परिवारका अन्य संगठनलाई नदेख्नु समुद्रको सतहमा देखिएको बरफको टुप्पा मात्र देख्नु तर भित्रको ठूलो खण्ड नदेख्नु हो। मोदीको सत्तारोहणसँगै हिन्दुत्व राजनीतिमा नयाँ विशेषता देखिएको विश्लेषण गर्दै अर्का अध्येता एडवर्ड एन्डरसनले ‘नव हिन्दुत्व राजनीति’ शब्दावली प्रयोगमा ल्याएका छन्। उनको भनाइमा हिजो र आजका हिन्दु राष्ट्रवादीहरूका काम गर्ने शैलीमा तात्विक अन्तर देखिएको छ। आज हिन्दु राष्ट्रवादीहरू सामाजिक सञ्जाल र नवोदित सञ्चारमाध्यममार्फत अनेक प्रचारबाजी गर्दै (हिन्दुबाहेक) ‘अरू’प्रति घृणा र द्वेष फैलाउन उद्यत छन्। उनीहरू सरकारी संरचनाको खुलमखुला दुरूपयोग गरी ‘अरूहरू’विरूद्ध विभेद र दमन गर्न तत्पर भएर लागेका छन्।
जाफरलट पनि आजको हिन्दुत्व राजनीति हिजोका सावरकर, हेजवर, आडवाणी र बाजपेयीहरूको शैलीभन्दा भिन्न भएकामा सहमत छन्। उनको विश्लेषणमा हिजो भाजपामाथि भारतका हिन्दु राष्ट्रवादी संगठनहरूको मूल संगठन राष्ट्रिय स्वयमसेवक संघ (आरएसएस) हावी हुन्थ्यो भने आज यो संरचनामा परिवर्तन देखिएको छ। विशेषतः सन् २०१४ पछि हिन्दुत्व राजनीतिको आन्तरिक संरचनामा उल्लेख्य भिन्नता देखिएको छ। आज आरएसएस र अन्य हिन्दु राष्ट्रवादी संगठनमाथि भाजपा, अझ विशेषतः नरेन्द्र मोदी हावी भएको देखिएको छ। शक्ति संरचनाभित्र यस्तै तानातानकै कारण पछिल्लो निर्वाचनमा भाजपाका केही उम्मेदवारले हार पनि भोग्नुपरेको थियो। भाजपा र आरएसएसमध्ये को माथि, कसको कुरा कसले मान्ने भन्ने प्रतिस्पर्धाकै कारण निर्वाचन परिणाम प्रभावित भएको बुझाइ छ। तर, भारतलाई हिन्दु राष्ट्र मान्ने र बनाउने मुद्दामा भने यी संगठनभित्र कुनै पनि मतभेद छैन। बरू मोदी सरकारले यो मुद्दा कार्यान्वयनमा संघ परिवारअन्तर्गतका हिन्दु राष्ट्रवादी संगठनहरूलाई खुलेरै सहायता गर्दै आएको छ।
मुसलमान, वामपन्थी, दलित र अल्पसंख्यकमाथि स्थानीय तहका हिन्दु राष्ट्रवादी संगठनहरूले गरेका कुटपिट, भीडले मान्छे मार्ने कृत्य, अपमान गर्ने, हिंसा फैलाउने काममा मोदी सरकार मुकदर्शक बनेर, अझ कतिपय अवस्थामा प्रोत्साहित गरेर हिन्दु राष्ट्रवादी मुद्दालाई टेवा दिँदै आएको छ। कानुन हातमा लिएर अल्पसंख्यकमाथि भएका दुर्व्यवहार र हिंसालाई कानुन रक्षाको दायित्व बोकेका सरकारी निकाय चूपचाप बसेका अनगिन्ती उदाहरण छन्। भाजपा सरकारले गरेका महत्वपूर्ण निर्णय र बनाएका ऐन कानुन, संविधान संशोधन प्रमुखतः हिन्दु राष्ट्रवादीहरूले विगत लामो समयदेखि उठाउँदै आएका मुद्दामा आधारित छन्। नागरिकता संशोधन ऐन, जम्मु काश्मीर राज्यको संवैधानिक अधिकारको अन्त्य जस्ता निर्णय यसका केही दृष्टान्त मात्र हुन्।
हिन्दु राष्ट्रवादी सरकार बनेयता भारतको परराष्ट्र सेवामा आएको परिवर्तनबारे अध्ययन गरेका किरा हुजुले विगतमा भारतलाई हिन्दु बाहुल्य राज्यको रूपमा चित्रण हुँदा पनि असहमति जनाउने कूटनीतिक सेवा आज भारतलाई हिन्दु राष्ट्रका रूपमा चित्रण गर्न उद्यत भएको लेखेका छन्। उनका शब्दमा आज कूटनीतिक सेवाका कर्मचारीहरू हिन्दु राष्ट्रवादी प्रतीक र उपमामार्फत भारतलाई हिन्दु राष्ट्रका रूपमा चित्रण गर्न मेहनत गरिरहेका छन्। यसको प्रत्यक्ष प्रभाव भारतको विदेश नीतिमा प्रष्ट देखिँदैछ। भारतको कूटनीतिक सेवामा प्रवेश गर्ने नयाँ कर्मचारीलाई दिइने तालिममा योग अनिवार्य बनाइएको छ। योगलाई हिन्दु राष्ट्रवादको प्रतीकका रूपमा प्रस्तुत गर्न भारतीय हिन्दु राष्ट्रवादी सरकार कटिबद्ध भएर लागेको छ। कुम्भमेलालाई भारतीय नरम शक्ति प्रबद्र्धन गर्ने माध्यम बनाउने सरकारी निकायको घोषित नीति हो। भारतलाई ‘विश्व गुरु’का रूपमा प्रस्तुत गर्ने मोदीको चाहना मूलतः भारतलाई हिन्दु राष्ट्रका रूपमा संसारमा परिचित गर्ने सिलसिला हो। विश्व गुरुका नाममा प्रयोग गरिएका उपमा, भाष्य, प्रतीकहरू मुख्यतः भारतलाई हिन्दुहरूको देशकै रूपमा चिनाउने मूल मनसायमा आधारित देखिन्छ।
केही अध्येता भारतमा हिन्दु राष्ट्रवादी सरकारले आन्तरिक नीतिमा महत्वपूर्ण परिवर्तन गरे पनि विदेश नीतिमा कुनै ठूलो अन्तर नगरेको तर्क गरिरहेका छन्। मोदी सरकारको विदेश नीति नेहरूको असंलग्न परराष्ट्र नीति, अटलबिहारी बाजपेयीको असल असंलग्न परराष्ट्र नीतिकै जगमा उभिएको बहुपक्षीय विदेश नीति भएको उनीहरूको बुझाइ छ। भारतीय अध्येता राजेश बसरुरको बुझाइमा नयाँ शब्दावलीका जामा लगाए पनि हिन्दुवादी चिन्तनले नेहरू र उनका उत्तराधिकारीले विकास गरेका पुराना नीतिभन्दा खासै ठूलो अन्तर देखाउन सकेको छैन।
भारतीय विदेशमन्त्री जयशंकरका पछिल्ला केही वर्षमा प्रकाशित दुई पुस्तकमा आजको भारतले लिएको बहुशक्ति केन्द्रसँग सम्बन्ध विस्तारको नीतिको सान्दर्भिकता देखाउन खोजे पनि उनी विदेश नीतिलाई मुख्यतः अघिल्ला सरकारकै सिलसिला भनिरहेका छन्। त्यसो भए भाजपा सरकारको विदेश नीति हिन्दुत्व राजनीतिबाट कत्तिको निरपेक्ष हो? भारतको आजको परराष्ट्र नीतिमा हिन्दु राष्ट्रवादको प्रतिछायाँ देख्न सकिन्छ। संघ परिवारअन्तर्गतका केही संगठनले बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि भएको दुर्व्यवहारका समाचारका आधारमा भारत सरकारले बंगलादेशमा हस्तक्षेप गर्नुपर्ने माग गरिरहेका छन्।
हिन्दु राष्ट्रवादीहरूको दबाबकै कारण पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले बंगलादेशका हिन्दुहरूको रक्षाका निम्ति भारतले संयुक्त राष्ट्र संघलाई भनेर राष्ट्र संघीय शान्ति सेना पठाउनुपर्ने बोलेकी छिन्। शेख हसिनाको सत्ता पतनपश्चात भारतीय विदेशमन्त्रीले सबभन्दा पहिला दिएको प्रतिक्रियामा त्यहाँको राजनीतिक परिवर्तनप्रति भन्दा बढी हिन्दुहरूमाथिको दमनमा चिन्ता पोखिएको थियो। शेख हसिनालाई शरण दिएकाले मात्र होइन, बंगलादेशसँग भारतको सम्बन्धमा समस्याको एउटा कारण आज हिन्दु राष्ट्रवादी विचारधारामा आधारित भारतीय सरकार पनि बनेको छ।
प्रधानमन्त्री बनेयता मोदीले नेपालमा गरेकामध्ये दुई भ्रमण धार्मिक प्रकृतिका थिए। त्यति मात्र होइन, नेपालका प्रधानमन्त्री र मन्त्रीहरूले भारत भ्रमण गर्दा पनि मठ मन्दिरको भ्रमण र धार्मिक नेताहरूसँगको भेटघाट कार्यतालिकामा समावेश हुने गरेको छ। पाकिस्तानसँगको भारतीय तिक्तता यतिबेला बन्द गल्लीमा फसेजस्तो भएको छ। संवादका सबै ढोकासमेत बन्द गर्ने परिस्थितिको मूल कारण हिन्दुत्वमा आधारित भारतीय राजनीति पनि हो। भारतमा मुसलमानहरूमाथि पराइको व्यवहारले पाकिस्तानलगायत मध्यपूर्वका देशहरूसँग उसका सम्बन्धमा समस्या देखिएका छन्। सन् २०२२ मा भाजपा नेताहरू जस्तै प्रवक्ता नुपूर शर्माले इस्लाम धर्मबारे दिएका विवादास्पद अभिव्यक्तिका कारण पनि भारतको विदेश सम्बन्धमा आएको समस्याले भाजपाको वैचारिकी विदेश नीतिमा अभिव्यक्ति भएको देखिएको छ।
छिमेकी देश र दक्षिण एसियाकै सबभन्दा ठूलो शक्ति देश भएकाले भारतमा विकास हुने राजनीतिक घटनाक्रमप्रति नेपाल चनाखो रहनु स्वाभाविक हो। धर्मलाई राष्ट्रवादसँग जोड्दा संसारले द्वन्द्व र विग्रहबाहेक केही भोग्ने छैन। भारतमा अझै पनि चुनावी चतुर्याइँ र सत्ता शक्तिको दुरूपयोगबाट अन्धराष्ट्रवाद बलियो बन्दै गरेको परिस्थितिबाट सजग हुनु बुद्धिमानी होला।
प्रकाशित: ७ पुस २०८१ ०८:०४ आइतबार