७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरको नागपोखरीमा दीपावली

पर्यटकीय आकर्षण बढाउन भक्तपुरको नागपोखरीमा शनिबार साँझ दीपावली गरिएको छ।

भक्तपुर नगरपालिका-१०, थालाछेंस्थित नागपोखरीमा स्थानीय बासिन्दाको सक्रियतामा दीपावली गरिएको हो। पोखरीको चारैतिर दीप प्रज्वलन गर्दै यो क्षेत्रलाई देश-विदेशमा परिचित गराई आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

स्थानीय युवा इन्जिनियर कृष्णभक्त दुवालका अनुसार नागपोखरीको टोल पृथ्वीनारायण शाहले परिकल्पना गरेको ‘चार जात छत्तीस वर्ण’ को बसोबासलाई प्रतिनिधित्व गर्ने क्षेत्र हो। यो टोलमा परम्परागत रूपमा उच्च वर्गका राणावर्गदेखि तल्लो वर्ग मानिने नापित र नकर्मी जातिसम्मका मानिसहरू मिलेर बसोबास गर्छन्। दुवालले भने, "यो टोल समाजशास्त्रमा रुचि राख्नेहरूका लागि अध्ययन र अनुसन्धानको एउटा अनुपम उदाहरण हो।"

पोखरीको संरक्षण र प्रवर्द्धनमार्फत समग्र टोललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना स्थानीय बासिन्दाले अघि सारेका छन्। उनीहरूले नागपोखरीलाई भक्तपुरको सांस्कृतिक सम्पदासँग जोड्दै यसलाई देश-विदेशमा परिचित गराउन सक्रियता देखाएका छन्।

नागपोखरी भक्तपुर नगरभित्रका ३४ पोखरीहरूमध्ये नागको प्रतीक रहेको एक मात्र पोखरी हो। यो पोखरी भक्तपुर नगरको बीच भागमा पर्दछ र देकोचाबाट दक्षिणतर्फ पाँच मिनेटको दूरीमा पुग्न सकिन्छ।

स्थानीय बासिन्दाले नागपोखरीलाई धार्मिक र सांस्कृतिक महत्वसहित पर्यटकीय आकर्षणको केन्द्र बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। दीपावलीजस्ता कार्यक्रमहरूले यसको प्रचारप्रसारमा थप सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: ६ पुस २०८१ २१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App