३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीप्रति बढेको जनलहरले २०६४ को झल्को दिइरहेको छ : पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको अस्तित्वका लागि मात्र नभइ मुलुककै स्वाधीनताका लागि माओवादी केन्द्र बलियो बन्न आवश्यक रहेको बताएका छन् ।  

 नेकपा माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेको अन्तर्रास्ट्रिय शक्ति सन्तुलन र त्यसबाट नेपालमा पर्नसक्ने असरबारे लामो चर्चा गर्दै मुलुकको स्वाधीनताका लागि जनता र देशका लागि संवेदनशील र सबैलाई सन्तुलनमा राख्नसक्ने शक्ति माओवादी केन्द्र नै भएको दाबी गरे ।  

पछिल्लो केहीदिन पूर्वी नेपालमा केन्द्रित रहेका दाहालले माओवादीप्रति बढेको आकर्षणले २०६४ कै निर्वाचनको झल्को दिइरहेको बताए । आफूले लगातार मोरङ, सुनसरी र झापाका जनतासँग गरेको छलफल र सबै प्रदेशमा गरिएको पार्टीको परामर्श बैठकबाट पार्टीलाई नयाँ उचाइमा उठाउने विश्वास पैदा भएको उल्लेख गर्दै उनले अब आफू पूरै आँट गरेर समाज निर्माणको अभियानमा अघि बढेको उल्लेख गरे ।  

अध्यक्ष दाहालले भने,  ‘झापा बिद्रोहको ऐतिहासिक विरासतबाट आएका झापाली जनताले अब प्रतिक्रान्ति, दलाली र जालझेललाई साथ दिने छैन।'

नक्कली भूटानी शरणार्थी, गिरिबन्दु टिस्टेट जस्ता माफिया र तस्करीसित जोडिएका घटना झापामा भएको र आज आफूले संयोगवस गिरिबन्दु टिस्टेटको भूमि टेकेर पीडितसँग छलफल गर्ने अवसर पाएको उनको भनाइ थियो । आफूले नेतृत्व गरेको सरकारले माफिया र दलालहरुविरुद्व थालेको कदम चाल्दा नै सरकार ढालिएको स्पष्ट गर्दै उनले पछिल्लो समय नक्कली भूटानी शरणार्थी काण्डका अभियुक्त पक्राउ र त्यसपछि अनुसन्धानको सुई बुढानीलकण्ठ र बालकोटतिर सोझिएपछि माफियाहरुको मध्यस्थतामा कांग्रेस एमाले रातारात एक भएको दाबी गरे ।  

सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डासहित भ्रष्टाचारका फाइल खोल्दैगर्दा सरकार छाडेपछि जनताको आकर्षण वृद्धि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै पार्टी संगठन पुनर्गठन गरेर जनपरिचालनसहित अघि बढ्ने उल्लेख गरे ।  

प्रकाशित: ३० भाद्र २०८१ १८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App