३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

आमा–छोरा हत्या प्रकरण : ११ दिनसम्म घट्ना रहस्यमै

घरमै सुतेको अवस्थामा मृत भेटिएका आमा–छोराको हत्याको रहस्य अझै खुल्न सकेको छैन । भदौ २० गते विहान मृत अवस्थामा भेटिएका आमा–छोराको घट्नाको रहस्य ११ दिन बितिसक्दासम्म खुल्न नसकेको हो ।  

कटारी नगरपालिका १० सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस घरमै मृत अवस्थामा फेला परेका थिए । सोरुङछविसेस्थित १० नम्बर वडा कार्यालय नजिकै जस्ताको टहरामा सामान्य किराना तथा होटल सञ्चालन गर्दै आएकी निर्मला नाबालक छोरासँगै बस्दै आएकी थिईन् ।  

श्रीमान् अशोक थापा ३ वर्षअघि गाउँकै एक महिलासँग दोस्रो विहे गरेर भारतको राजस्थान पलायन भएका कारण निर्मला गाउँमै सामान्य होटल र किराना पसल चलाउँदै छोरासँग बस्थिन् । कहिलेकाँही मूल घर गएर सुत्ने गरेका उनीहरु सो दिन पनि सासुससुराले घर आउन बोलाएका थिए । भोलिपल्ट तीजको दर खाने दिन भएकाले मूल घरमा खसी काट्नुपर्ने भन्दै बोलाए पनि उनीहरु होटलमै सुतेको र विहान उठ्दा रगतमा लत्पतिएको अवस्थामा मृत भेटिएका थिए ।  

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार घट्नास्थलमा हत्याराले कुनै प्रमाण नछाडेको हुनाले कारण पत्ता लगाउन समस्या भईरहेको छ । मृतक निर्मलाको साथमा १६ हजार नगद, सुन चाँदी सबै सुरक्षित रहेको भन्दै उनले मोवाईल भने कब्जामा लिएको हुनसक्ने बताए । निर्मलाले प्रयोग गर्दै आएको मोवाईलको खोल प्रहरीले स्थानीय सोरुङ खोलामा फेला पारेको छ । घट्नास्थलदेखि ५० मिटर तल मोवाईलको खोल फेला परेको वडाध्यक्ष खड्काले बताए ।  

वडाध्यक्ष खड्काले आमा–छोरा दुवैको मृत्युको कारण भने पत्ता लगाउन सकेको छैन । यद्यपि हत्या भएको निष्कर्षसहित प्रहरीले खोजी भने जारी राखेको छ । निर्मलाको घुच्चुकभन्दा तलमाथि ८÷९ ठाउँ धारिलो हतियार प्रहार गरेको पाइनु र आरुसको घाँटीमा गहिरो चोट हुनुले हत्या भएको निष्कर्ष प्रहरीको रहेको खड्काले बताए ।  

जिल्ला प्रहरी कार्यालय उदयपुरले घट्नाबारे सुक्ष्म अध्ययन भईरहेको जनाएको छ । प्रहरी प्रमुख एसपी हरिनाथ योगीले घट्नास्थलमै अनुसन्धान टोली खटाएर मिहीन ढङ्गले अपराधी खुट्याउने काम भईरहेको र अपराधी नजिक पुग्न लागेको बताए । ‘हामीले घट्नाको सुक्ष्म अनुसन्धान गरिरहेका छौँ र लगभग नजिक नजिक पुगिसकेका छौँ’ एसपी योगीले भने ‘अपराधका सम्भावित सबै पाटा केलाउँदै अनुसन्धान गर्ने काम भईरहेको छ । केहीदिनभित्रै अपराधी पत्ता लाग्ने अपेक्षा छ ।’

घट्नाको भोलिपल्टदेखि नै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका डिएसपी राजन चापागाई कमाण्डको टोली घट्नास्थलमै बसेर गहिरो अनुसन्धानमा लागिरहेको छ । अहिलेलाई सफ्ट कर्नरबाट अनुसन्धान गरिरहेको र घट्नाको रहस्य पत्ता लगाउन नजिकनजिक पुग्न लागेको उनको भनाइ छ ।  

‘हामी निरन्तर अनुसन्धानमा छौँ, अहिलेसम्मको प्रगति ५० प्रतिशतभन्दा माथि छ भन्नुपर्ला’ डिएसपी चापागाईले भने ‘अपराधीसम्म पुग्न विभिन्न कोणलाई माध्यम बनाएर अनुसन्धान भईरहेको छ । आशा छ छिट्टै तथ्य पत्ता लाग्नेछ ।’ 

प्रकाशित: ३१ भाद्र २०८१ १८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App