३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

घरबाटै ‘वान एक्स बेट’ मा सट्टेबाजीको धन्दा चलाएको आरोपमा दाजुभाइ पक्राउ

सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरबाट एकै घरका दुई दाजुभाइलाई नियन्त्रणमा लिएको छ।

विराटनगर महानगरपालिका–१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई घरबाटै पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार दाजुभाइले घरबाटै सट्टेबाजीको धन्दा चलाइरहेको पाइएपछि पक्राउ गरिएको हो।

पक्राउ परेका दाजुभाइले विभिन्न एप्स मार्फत् अनलाइन सट्टेबाजी सम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएको सूचनाका आधारमा प्रहरीले उनीहरुको घरमा छापा हानेको थियो।

त्यसक्रममा उत्कृष्टले प्रयोग गर्दै आएको मोबाइलमा ‘वान एक्स बेट’ लगायतका एप्स ‘डाउनलोड’ गरेको पाइएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘त्यसमार्फत ‘अनलाइन डिजिटल’ खाताबाट सट्टेबाजीमा लिनेदिने काम गर्ने गरेको खुलेको छ। कोठाबाट कम्प्युटरको सिपियु, राउटर, मोबाइललगायत बरामद गरिएको हो।’

भदौ १८ गते पक्राउ गरी उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८१ २२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App