१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारमा जसपाको दोहोरो रूप : संघमा गठबन्धनसँग, प्रदेशमा कांग्रेससँग

नेपाली कांग्रेससँगको गठजोड तोडेर माओवादी एमालेसँग सेपिएको मधेसवादी दल जनता समाजवादी पार्टी सरकारमा संघीय सरकारमा सहभागी भयो। पार्टीका केन्द्रीय अध्यक्ष उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बन्दै सरकारमा सहभागी हुँदा यो पार्टीले अर्को मन्त्रालय पनि हात पार्‍यो।

पार्टीबाट नवलकिशोर साह वन तथा वातावरणमन्त्री बनेका छन्। संघीय सरकारमा माओवादी तथा एमालेसँगको गठबन्धनमा जोडिएको जनता समाजवादी पार्टी प्रदेश तहमा भने फरक भूमिकामा छ। अर्थात् प्रदेश तहमा भने कांग्रेससँगको साइनो कायमै रहेको छ। गठबन्धनइतर दल कांग्रेस नेतृत्वको सरकार छोड्न सकेकै छैन।  

कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारमा जसपाका भण्डारीलाल अहिर अहिले पनि मन्त्री पदमा कायमै छन्। उनी कृषि तथा भूमि व्यवस्थामन्त्री हुन्। केन्द्रीय राजनीतिमा फरक गठबन्धनमा पार्टी सहभागी भएको भए पनि यी मन्त्रीले भने कांग्रेस नेतृत्वको सरकार यहाँ छोड्न सकेका छैनन्।

आफूलाई कुनै पनि जानकारी नआएकाले आफूले कांग्रेस नेतृत्व सरकारबाट बाहिरिने निर्णय नलिएको उनी बताउँछन्। ‘मलाई माथिबाट सरकार छोड्ने भनेर कसैले पनि भनेको छैन,’ मन्त्री अहिरले भने। ‘पार्टीका कुनै पनि नेताले छोड् नभन्दासम्म किन सरकार छोड्नु ? जुन दिन मलाई सरकार छोड भनेर भन्लान् त्यही दिन छोड्छु।’

एमाले माओवादीसँगको गठबन्धनमा सहभागी भएको जसपाले मन्त्रीलाई सरकारबाट बाहिरिन भनेको छैन। यो पार्टी केन्द्रले एक हप्तापछि के गर्ने भनेर सर्कुलर आउने भन्दै अहिरलाई अहिले भने सरकारमै बस्न भनेको छ। ‘मैले पनि माथिका नेताहरूसँग के गर्ने भनेर भनेको छैन,’ मन्त्री अहिरले भने, ‘मैले यो गर्छु भनेर गर्न खोजेर हुने केही पनि हैन, त्यसैले माथिबाट जे निर्देशन आउला त्यहीअनुसार कदम चाल्छु।’

यो पार्टीका अनुसार एक हप्तापछि प्रदेश सरकार सहभागिताबारे निर्णय हुनेछ। ‘अहिलेलाई केही निर्णय नगरेर बस्नुस् भन्ने कुरा केन्द्रबाट आएको छ,’ जसपाका एक प्रदेश नेताले भने, ‘एक हप्तापछि के गर्ने भनेर हामी भन्छौं भनेर केन्द्रीय नेताहरूले भनेकाले हामी चुप लागेर बसेका छौं।’

त्यसो त, जसपा स्रोतका अनुसार केन्द्रीय राजनीतिमा जुन खालको समीकरण बनेको भए पनि यो प्रदेशमा भने जसपा कांग्रेससँगको साथ छोड्ने पक्षमा छैन। यसकारण पनि उसले यहाँ सरकारदेखि बाहिरिने निर्णय नगरेको स्रोत बताउँछ। प्रदेश तहका एक नेताका अनुसार पार्टीको प्रदेश तहको निर्णय गर्ने अधिकार प्रदेश समितिलाई नै छ।

यसर्थ यो प्रदेशमा वर्तमान गठबन्धनमा सहभागी नभई कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिने मनसायमा नेताहरू देखिएका हुन्। ‘अहिले प्रदेश सरकारमा रहेको सहभागितालाई कायमै राख्ने भन्ने खालको मनसाय प्रदेशमा छ,’ ती नेताले भने, ‘यसर्थ पनि प्रदेश सरकारमा हाम्रो सहभागिता अहिले सम्म कायम रहेको हो।’

तर अन्य प्रदेशमा पार्टीको सहभागिता कस्तो हुने भन्ने विषयले थप निर्णय गर्नुपर्ने अवस्था आउने ती नेताले बताए। प्रदेश तहको समीकरण मिलाउँदा यहाँ छोड्नैपर्ने अवस्था आए मात्रै वर्तमान सरकारबाट आफूहरू बाहिरिने अवस्था रहने उनले बताए। 

‘प्रदेशको समीकरण मिलाउँदा हाम्रो प्रदेशका कारण अरू प्रदेशमा समस्या हुने अवस्था आए मात्रै यहाँ फरक खालको निर्णय गर्नुपर्ने अवस्था आउन सक्छ,’ ती नेताले भने, ‘नत्र भने अहिलेको अवस्थालाई नै निरन्तरता दिनेगरी निर्णय गरेर जान्छौं।’

प्रकाशित: ४ चैत्र २०८० ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App