११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

‘रेडपाण्डा–थार महोत्सव’ मा ५० हजार बढी पर्यटक पुगे

खोटाङ सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा–थार महोत्सव’ले पर्यटन  प्रवर्द्धनमा उचाइ लिने अपेक्षा गरिएको छ । नयाँ वर्ष ०८२ लाई स्वागत गर्दै २ नं. वडाको हुर्लुङमा आयोजित महोत्सवमा सहभागी अतिथि तथा आयोजकहरू रेडपाण्डा र थार रहेको पाथेकासम्म आन्तरिक पर्यटक पुगेका थिए ।

चर्चित अभिनेता दयाहाङ राई र नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरेको महोत्सवमा ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ अन्तर्गत आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढीले जनाएको छ । नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार वैशाख १ र २ गते नगरको पर्यटकीय स्थल हुर्लुङमा सुरु महोत्सवको अवसर पारेर ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ को शुभारम्भ भएको छ ।

विश्वको लोपोन्मुख वन्यजन्तुमा सूचिकृत रेडपाण्डा तथा थार दिक्तेल रुपाकोट मझुवागगढी नगपालिका १० को पाथेकास्थित मेरुङ सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रमा यसै वर्ष भेटिएको हो । ती लोपोन्मुख वन्यजन्तुको संरक्षण र प्रचारप्रसार गर्दै नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मेयर भट्टराईले बताए । विभिन्न जातजाति तथा समुदायको परम्परागत र मौलिक खानाका परिकार तथा संस्कार, सांस्कृतिक झाँकी, भेसभुसा, रहनसहनसँग सम्बन्धित स्टलहरू प्रदर्शन गरिएको महोत्सव स्थल विद्यार्थीहरूले कोरेका रेडपाण्डा र थारको चित्रकलाले थप आकर्षित थियो ।

मन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई सफल पार्ने कार्यक्रमको रुपमा आयोजित महोत्सव तथा शुभारम्भ गरिएको नयाँ रेडपाण्डा–थार रुट मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी खण्डको हुर्लुङदेखि पर्यटकीय स्थल रुपाकोट, बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल पदमार्गमा जोडिन्छ ।

उद्घाटनका दिन साँझ अतिथि पर्यटकहरूलाई लिएर समुद्री सतहदेखि ६०० मिटर उचाइको पर्यटकीय स्थल रुपाकोट लगेर बास राखेको आयोजकले रातभर जुहारी (दोहोरी गीत)सहित नाचगान गरेर मनोरञ्जन दिलाएको थियो । २ गते बिहान सूर्याेदयसँगै सर्वोच्च शिखर सगरमाथा र तराईका विभिन्न फाँटको दृश्यावलोकन गराउँदै महोत्सव समापन गरिएको नगर उपप्रमुख बिशन राईले बताए । 

उपमेयर राईका अनुसार ५० हजार बढीको जमघट भएको महोत्सवले स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउन मद्दत गरेको छ । हुर्लुङ र रुपाकोट आफैमा पर्यटक आकर्षण गर्ने ठाउँहरू भएकोमा महोत्सव पनि थपिदा आगन्तुकले व्यापार व्यवसायलाई प्रत्यक्ष लाभ पुगेको राईले बताए ।

अभिनेता दयाहाङसँगै प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, अर्थशास्त्री हरि रोक्का, पूर्व सांसद टङ्क राईलगायत अगुवाहरूको अर्थपूर्ण सहभागिता रहेको महोत्सवले सरकारद्वारा घोषित १ सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम ट्रेलसँग जोडेर समग्र खोटाङको पर्यटन प्रवर्द्धन गर्न सकिने निष्कर्ष निस्केको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले बताए ।

हाकिम राईले मुन्दुम ट्रेल रेडपाण्डा–थार रुटलाई पर्यटकको आकर्षण केन्द्र बनाउन वर्षेनी महोत्सव आयोजना गर्ने योजना नगरपालिकाले बनाउनको छ । करिब ३ दिनमा घुमिसकिने नयाँ घोषित रेडपाण्डा थार रुटभित्र समेटिएका क्षेत्रहरू हुलुङदेखि रुपाकोट हुँदै पाथेका मेरुङ भएर मुन्दुम ट्रेलसम्मका सबै भूभागमा आकर्षक पर्यटकीय स्थलहरु जाेडिएका छन् । 

प्रकाशित: ३ वैशाख २०८२ १७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App