११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गगनको अभिव्यक्ति कांग्रेसकै धारणा

मुलुकमा संसद्को पहिलो ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमाले सम्मिलित सरकार छ। सरकारलाई सफल बनाउनका लागि भन्दै कांग्रेस-एमालेले दश सदस्यीय एक संयन्त्र बनाएका छन्। त्यही संयन्त्रका सदस्यसमेत रहेका कांग्रेस महामन्त्री गगन थापाले केही दिनअघि एक अभिव्यक्ति दिए- बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्मै छ।

सरकार सफल बनाउने संयन्त्रकै सदस्यले यस्तो अभिव्यक्ति दिएपछि स्वाभाविक रूपमा सरकारमा शङ्का पैदा हुने नै भयो। फेरि थापाको यो अभिव्यक्ति कतिबेला आयो भने जतिबेला प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार ढल्ने दाबी छाँट्दै थिए।

दाहालले नयाँ सरकार बन्ने बताउँदा नै 'के हो के हो'को अवस्था सृजना भइसकेको थियो। त्यसमाथि सरकार सफल बनाउने संयन्त्रका सदस्यले नै यस्तो अभिव्यक्ति दिइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै कांग्रेस सभपाति शेरबहादुर देउवालाई बोलाए र लामै संवाद गरे।

यसपछि सरकार (गठबन्धन)मा विभिन्न समस्या र शङ्का भएको भन्दै रिपोर्टदेखि विश्लेषणसम्म भए। ठीक यहीबेला कांग्रेस नेताहरूले भने महामन्त्री थापाले बोलेको कुरा कांग्रेसकै धारणा भएको बताउँछन्।सभापति देउवानिकट नेता मीन विश्वकर्माले भनेका छन्, 'त्यो धारणा कांग्रेसकै धारणा हो।'

सरकारले नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्न नसकिरहेको उल्लेख गर्दै विश्वकर्माले थपे, 'सरकारले कार्यशैलीमा परिवर्तन गर्नुपर्‍यो। महामन्त्रीले संयन्त्रका तर्फबाट सुझाव दिनुभयो। सभापतिले पनि सुझाव दिनुभयो। तर, परिणाम नआएको अवस्थामा सबै ठिक छ भनेर बोल्न सक्ने स्थिति छैन। विपक्षी दलले सरकारको विकल्प खोज्दैछन्। हामी सत्तारूढ दलले सरकारको कार्यशैलीको विकल्प खोज्दै छौँ।'

त्यसो त ओलीको नेतृत्वमा सरकार गठन भएदेखि नै कांग्रेसका केही नेताहरूले आलोचना गर्न सुरु गरिसकेका थिए। डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरूले सरकारले सुरुवात नै राम्रो नगरेको बताउने गरेका छन्।

यहाँसम्म आइपुग्दा सरकारको प्रमुख सहयोगी दल कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ। यो सार्वजनिक रूपमै देखिन थालिएको छ। यसपछि कांग्रेसले बैठक बोलाएको छ। सभापति देउवाले बैठकमार्फत नेताहरूलाई विश्वस्त गर्न खोजेका छन्। 

प्रकाशित: ३ वैशाख २०८२ १७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App