२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

सुदूरपश्चिममा रेबिज संक्रमणको चुनौती बढ्दो

सांकेतिक तस्बिर

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज संक्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जंगली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठुलो चुनौती थपिएको हो । धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ ।  

‘तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेब्क्रिमण पुष्टि भइसकेको छ’, उनले भने, ‘यो त प्रयोगशालालाई जानकारी भएको मात्र हो, यसबिचमा कम्तीमा पनि पाँच जनाको मृत्यु रेबिज संक्रमणकै कारण भएको जानकारी भएको छ, धेरैजस्तो त जानकारीमै नआउने भएकाले मृत्युको संख्या धेरै हुन सक्ने देखिन्छ ।’

रेबिजकै कारण यसै साता बझाङको सुर्मा गाउँपालिका–२ की ७० वर्षीया महिलाको मृत्यु भएको जानकारी आएको वरिष्ठ पशु चिकित्सक जोशीले बताए । उनका अनुसार यसअघि यसै वर्ष असारमा बैतडीमा एक बालकको पनि रेबिजका कारण मृत्यु भइसकेको छ । सबैभन्दा बढी रेबिजको संक्रमण कैलाली र कञ्चनपुर जिल्लामा छ । आर्थिक वर्ष २०८१/८२ मा संकलित एक सय ७० नमुनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ । सो आर्थिक वर्षमा सबैभन्दा बढी संक्रमण कैलालीमा भेटिएको छ । त्यहाँ संकलन गरिएका ९८ नमुनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये ६ पोजेटिभ परिणाम आएको छ ।

कैलालीको गोदावरी नगरपालिका–६ मा अन्य पशुलाई टोक्दै हिँडेको एक पशुमा दुई दिनअघि मात्रै रेबिज पुष्टि भएको छ । प्रयोगशालाको द्रुत प्रतिकार्य टोली (आरआरटी) ले संकलन गरेको नमुना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको वरिष्ठ पशु चिकित्सक जोशीले जानकारी दिए । यसअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा बहुला कुकुरमा रेबिज पुष्टि भएको थियो भने हाल सोही नगरपालिकाको वडा १२ मा समेत कुकुरको आतंक बढ्दै गएको नगरपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताए । उनका अनुसार पछिल्लो समय स्यालहरू एकाएक मानव बस्तीमा पस्न थालेका छन्, त्यसको मुख्य कारण उखु खेती कटानीका कारण प्राकृतिक बासस्थान नष्ट हुनु रहेको छ ।

‘उखु कटानीको सिजन सुरु भएपछि स्यालको लुक्ने ठाउँ र आहार क्षेत्र मासिएको छ’, भट्टले भने, ‘बासस्थान अभाव भएपछि स्याल आहाराको खोजीमा बस्ती पस्ने, घरपालुवा कुकुर तथा पशुलाई टोक्ने र त्यसैबाट रेबिजको संक्रमण तीव्र गतिमा फैलिएको छ ।’ पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार रेबिज शतप्रतिशत प्राणघातक रोग भए पनि समयमै उपचार र सावधानी अपनाएमा ज्यान जोगाउन सकिन्छ । उनका अनुसार कुनै पनि पशुले टोकेमा घाउलाई १०–१५ मिनेटसम्म साबुन र सफा पानीले राम्ररी धुने, घाउ सानो भए पनि ढिलाइ नगरी तुरुन्त स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने कार्य गर्नुपर्छ ।

असामान्य व्यवहार गर्ने, टोक्ने वा र्‍याल झार्ने पशु देखिए स्थानीय तह वा पशुपन्छी सेवा शाखामा तुरुन्त जानकारी गराउने, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन, जंगली जनावर तथा भुस्याहा कुकुरबाट टाढा रहन र बालबालिकालाई विशेष सतर्कता अपनाउन लगाउने कार्य गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित: ११ पुस २०८२ २१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App