१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

के नेपालले पाउलान् त ‘ट्रान्जिट’ प्रधानमन्त्री?

फाइल तस्वीर

कांग्रेस–माओवादी गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई एक वर्षका लागि सरकारको नेतृत्व दिने भद्र सहमति भएको थियो। त्यो सहमतिअनुसार माधव नेपालले करिब एक वर्षपछि सरकारको नेतृत्व गर्ने अवसर पाउने थिए। तर माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धनलाई छाडेर एमालेसँग सहकार्य गर्न आइपुगे।

२०७९ पुस १० गते एमालेको काँध चढेर प्रधानमन्त्री बनेका दाहाल डेढ महिनापछि कांग्रेससँग गठबन्धन गर्न पुगे पनि त्यसलाई एक वर्ष टिकाउन धौधौ परेपछि पुनः एमालेकै साथमा आइपुगेका छन्। एमालेले यो सरकारलाई २०७९ पुस १० को निरन्तरता मानेको छ।

‘त्यतिबेला राप्रपा सरकारमा थियो, अहिले नेकपा एस सरकारमा आएको छ,’ एमालेका एक पदाधिकारीले भने। तर एमाले र नेकपा एसले यो समीकरणलाई त्यही बेलाको निरन्तरता मात्रै मानेका छैनन्, एमालेसँगकै पूर्वनेताहरूलाई पुरानो घर फर्काएर जिम्मेवारी दिने र संसद्मा सबैभन्दा ठुलो दलका  रूपमा स्थापित भई आगामी निर्वाचनलाई भरपुर उपयोग गर्ने अवसरका रूपमा समेत लिएका छन्।

एमालेले कांग्रेससहितको गठबन्धनमा समस्या छ भनेर धेरै पहिलादेखि भन्दै आएको भए पनि जब राष्ट्रियसभाको निर्वाचन र कांग्रेस महासमितिको बैठक बस्यो, त्यसपछि झन् समस्या देखियो। त्यसले माओवादीलाई झस्काएपछि एमालेसँगको सहकार्यमा उनीहरू जुटेका थिए। त्यसको परिणाम नयाँ गठबन्धन सम्भव भयो।

नयाँ गठबन्धन बनेसँगै फागुन २३ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित रमेश लेखकलगायत नेताहरू माधव नेपालनिवास पुगेर प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। कांग्रेसले १४२ अंकको हिसाब देखाउँदै विश्वासको मत नदिन तथा नयाँ गठबन्धनको प्रस्तावसमेत गरेको थियो। त्यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसमेतले नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर नेपालले ‘अहिले यो विषयमा म लाग्दिनँ’ भनेर अस्वीकार गरेको स्रोतले जनायो।

देउवा पुगेको अघिल्लो दिन अर्थात् फागुन २२ गते मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालनिवास पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए। त्यसबेला नेपालले नयाँ गठबन्धनको सरकारमा सहभागी हुने÷नहुने विषयलाई टुंगो लगाउन सचिवालय बैठक कुर्न आग्रह गरेका थिए।

यी घटनाक्रमसँगै पछिल्लो पटक एमाले अध्यक्ष ओलीले नेपालसँग सम्बन्ध सुधारको प्रयासमा फोन गर्ने, भेटघाट गर्ने र विगतका कुरा सबै बिर्सेर अघि बढ्ने प्रस्ताव गरिरहे। पछिल्लो पटक ओलीले टेलिफोन सम्पर्क गर्ने, प्रत्यक्ष भेटघाट गर्ने कार्यलाई निरन्तरता दिएका छन्।

 शनिबारको भेटघाट पनि यसकै निरन्तरता थियो। शनिबार भने एमाले अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई पनि साथमा राखेर कुराकानी गरे। माधव नेपालले पनि एक्लै भेटघाट गरेनन्। उनले पनि उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई साथमा राखेर छलफल गरे।

एमाले र नेकपा एसका रूपमा भन्दा पनि एमालेकै नेताहरूको भेटघाट तर बिग्रेको सम्बन्ध सुधार गर्ने र विवाद मिलाउने रूपमा भेटघाट परिणत भएको थियो। त्यस क्रममा पार्टी एकताको विषय पनि अघि सारिएको थियो।

‘बसाइ राम्रो छ, विषयहरू उठेका छन् र सकारात्मक छन्, उच्चस्तरीय समझदारी भएका छन् तर बाहिर ल्याइहाल्नुपर्ने तथा भनिहाल्नुपर्ने र अहिले नै प्रगति भइहाल्यो भन्ने होइन,’ बसेरा होटलमा भएको भेटघाटमा सहभागी एक नेताले भने। उनका अनुसार ओलीले आफ्नो समूह अगाडि राखेर माधव नेपाललाई उच्चस्तरीय समझदारी कार्यान्वयन गर्ने विश्वास दिलाउन खोजेको तर माधव नेपालले अझै विश्वास गर्ने आधार तयार नभइसकेको जस्तो गरी शनिबारको बसाइ सकिएको थियो। त्यस क्रममा नेताहरूबीच लामो छलफल भएको थियो।

‘दुई नेताहरूबीच पार्टी मिलाउनेदेखि नेताहरूको व्यवस्थापनको कुरा उठेको छ त्यो भनेको माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने भन्ने नै हो। त्यो विषय एमाले अध्यक्ष केपी ओलीको चाहना र विश्वास गर्ने माधव नेपालको अवस्थामा भर पर्छ, मलाई लाग्छ उच्चस्तरको समझदारी यही हो,’ भेटघाटमा सहभागी एक नेताले भने।

उनका अनुसार एमालेबाटै सम्बन्ध बलियो बनाउने र पार्टी एकताको विषयमा आएको यस्तो प्रस्तावलाई माधव नेपालले अस्वीकार गरेका भने छैनन्। तर उनले हुन्छ भन्न पनि सकेका छैनन्। ‘कांग्रेसले प्रस्ताव गरेको प्रधानमन्त्री अस्वीकार गरिएको थियो।

यता एमाले अध्यक्षले पनि सोही प्रस्ताव गरेको बुझेका छौं तर माधव नेपालले यो विषयमा खुलेर कुरा गरेका छैनन्,’ उनले कुरा नगर्दासम्म यसै भन्न सक्ने अवस्था छैन, उहाँको कुरा अहिले पनि गठबन्धन बलियो बनाउने र सहकार्यलाई विश्वासिलो बनाउने भन्नेमै जोड रहेको छ,’ नेकपा एसका एक नेताले भने। एमाले नेताहरूले माधव नेपाल र अन्य नेताहरूसँगको भेटघाटलाई गोप्य राख्न चाहेका छन्। उनीहरूले माधव नेपालसँग भएको भेटघाटलाई खुलेर कुराकानी गर्न चाहेका छैनन्।

एमालेले पार्टी विभाजनलाई पीडाबोध गरिरहेकाले २०८४ को निर्वाचनमा जसरी पनि शक्ति आर्जन गर्ने उद्देश्य राखेको छ। नेकपा एससँग रहेका करिब २० हजार कार्यकर्तालाई व्यवस्थापन गरेर अघि बढे अहिलेको चुनौतीसँग सामना गर्दै शक्तिसँग आर्जन गर्ने एमालेको बुझाइ रहेको छ।

विगतमा माले–एमाले विभाजनको घाउ २४ वर्षपछि २०७८ भदौ ९ गते फेरि बल्झिएपछि २०७९ को निर्वाचनमा एमाले ७९ सिटमा खुम्चनु परेको थियो भने विभाजित नेकपा एस राष्ट्रिय दलमा समेत परेको थिएन। केपी शर्मा ओली र माधवकुमार नेपालबीचको ४९ वर्षे सहयात्रामा पार्टी विभाजन भएर तिक्ततामा परिणत भएको थियो। जसले गर्दा दुई वर्षसम्म दुई नेताहरू एकले अर्कालाई भेट्न पनि अप्ठेरो मान्दै आएका थिए।

राष्ट्रपति निर्वाचनको बेला दुई नेताहरूबीच भेटघाट भए पनि त्यसले सम्बन्धमा विश्वास आर्जन गर्न सकेको थिएन। अहिले भने विस्तारै सम्बन्ध सुधार हुने क्रममा छ, यसलाई दुवै पार्टीका नेता कार्यकर्ताले सकारात्मक रूपमा लिएका छन् ।

प्रकाशित: २९ फाल्गुन २०८० ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App