१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सिन्धुलीमा ओलीलाई खैँजडी बजाएर स्वागत

सिन्धुलीमा खैँजडी बजाएर रमाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर: अनिल भण्डारी/नागरिक

झुलाघाट-चिवाभञ्ज्याङ यात्रा सङ्कल्प यात्राका क्रममा सिन्धुलीको खुर्कोटमा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई  खैँजडी बजाएर स्वागत गरिएको छ।

अध्यक्ष ओलीलाई कलाकारहरुले खैँजडी बजाउँदै भजन गाएर एमालेले आयोजना गरेको कार्यक्रममा स्वागत गरेका हुन्।

कार्यक्रममा सम्बोधन गर्दै ओलीले देशको विकास एमालेले मात्रै गर्न सक्ने बताएका छन्। उनले स्थानीय आवश्यकतालाई मध्यनजर गरेर विकासको खाका बनाइने बताए। एमाले बाहेकको नेतृत्वबाट देशको विकास सम्भव नहुने उनको भनाइ थियो।

अध्यक्ष ओलीले सुनकोसी मरिण डाइभर्सन आयोजनाले प्रभावित माझी समुदायलाई आधुनिक तरिकाले व्यवस्थापन गरिने बताए। 'पुरानै तरिकाले होइन नयाँ तरिकाले उहाँहरुको पेसा जीविकालाई ध्यानमा राखेर आयोजनाको निर्माण गरिनेछ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष,' ओलीले भने। अध्यक्ष ओलीलाई सुनकोसी मरिण डाइभर्सन आयोजनाको हालसम्मको प्रगतिका सन्दर्भमा आयोजना प्रमुख मित्र बरालले संक्षिप्त जानकारी गराएका थिए। तराईका ६ जिल्लामा सिचाई सुविधा पु¥याउन सरकारले निर्माण गर्दै गरेको निर्माणाधीन सुनकोसी मरिण डाइभर्सन आयोजनाको नेकपा एमालेलेका अध्यक्ष ओलीले स्थलगत अवलोकन गरेका हुन् उनले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ड्याम छेत्रको स्थलगत गरेका थिए।

आयोजनाको अटोमेटिक टनेल बोरिङ मेसिन (टिविएम) बाट १३ दशमलव ३ किलोमिटर टनेल निर्माण अन्तिम चरणमा पुगेको छ भने खुर्कोट स्थित सुनकोसी नदीमा बाँध निर्माण कार्य धमाधम भइरहेको छ। यस आयोजनाबाट ३१.०७ मेगावाट विद्युत् उत्पादनसँगै तराईका विभिन्न जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने यस बहुउद्देश्यीय आयोजनाको २०७७ फागुन २० गते तत्कालीन समयमा प्रधानमन्त्री समेत रहेका ओलीले शिलान्यास गरेका थिए।

यस्तै मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने विभिन्न दश नमुना सहर मध्यको एक खुर्कोटमा निर्माण थालिएको आयोजनाको समेत अध्यक्ष ओलीले अवलोकन तथा चासो व्यक्त गरेका छन्। गत आर्थिक वर्ष २०६७/६८ सालबाट स्थानीयको ६ सय ६८ रोपनी जग्गा लिएर करोडौँ रुपैयाँ खर्चेर निर्माण थालिएको योजनाका कुनै पनि काम पूरा हुन नसक्नुको कारण बारे आयोजना र स्थानीयसँग ओलीले छलफल समेत गरे। उक्त आयोजनाले एक दशक पुरा गर्दा समेत कुनै गति लिन भने सकेको छैन।

यात्राका क्रममा रामेछाप हुँदै खुर्कोट आइपुगेका ओलीले वरिष्ठ पत्रकार तथा सहिद सम्झना दाहालका पिता शेषराज दाहालको २ थान पुस्तक विमोचन समेत गरे ।ओलीले राष्ट्रिय महत्वका साथ हेरिएको चियावारी–खुर्कोट सुरुङ्ग मार्ग र सिन्धुली महाभारत क्षेत्रकोकै प्रमुख नगदेबाली जुनारका समस्याहरुको बारेमा समेत जानकारी लिएका छन्। स्थानीयले सुरुङ मार्ग र जुनारको विषयमा ज्ञापन पत्र समेत बुझाएका छन्। ज्ञापन पत्र बुझ्दै ओलीले सबै मागहरूको अध्ययन गरी देश विकास र समृद्धिको खाका बनाउने स्पष्ट पारे। 

प्रकाशित: २६ मंसिर २०८० ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App