८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

डा. स्वर्णिम वाग्ले यो देशले छानेकाे उम्मेदवार हुन्: रवि लामिछाने

फाइल तस्बिर।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तनहुँ १ उपनिर्वाचनका आफ्नो पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई ‘देशले छानेको उम्मेदवार’काे संज्ञा दिएका छन्। 

उनले सोमबार तनहुँस्थित रास्वपाको पार्टी कार्यालय उद्घाटनका क्रममा यस्तो बताएका हुन।

सभापति लामिछानेले डा. वाग्लेलाई भौगोलिक सीमामा बाँध्न नहुने जिकिर गरे। ‘स्वर्णिम वाग्लेलाई पाहुना भन्यौँ भने यो माटोको अनादर हुन्छ’, उनले भने, ‘संसारका कैयौँ देशको अर्थतन्त्र बिग्रिदा त्यसलाई सुधार्न स्वर्णिम वाग्लेलाई बोलाइन्छ। उनी यो माटोमा केही गरौँ भनेर फर्किएका मान्छे हुन।’

सभापति लामिछानेले डा. वाग्लेलाई उम्मेदवार बनाउन पाउँदा आफूलाई गर्व लागेको बताए। ‘एउटा चुनावी क्षेत्रले मेरो हो वा होइन भन्ने हुँदैन। स्वर्णिम वाग्लेको जितसँगै यो देशमा स्वर्णिम दिनहरू आउनेछन्। तपाईँले एक पाइला चाली हेर्नुस् हामी चार पाइला देशलाई अघि बढाउन आएका छौँ। यो देशलाई गुण लगाइदिनुहोला’, उनले भने। 

‘दश औँला जोडेर अनुरोध गरेको छु यो देशको भाग्य फेर्न घण्टीकै डा. स्वर्णिम वाग्लेलाई भोट दिनुहोला’, सभापति लामिछानेले भने। 

उनले डा. वाग्लेको उम्मेदवारीलाई युग फेर्ने अवसरका रूपमा व्याख्या गरे। ‘एउटा स्वर्णिम वाग्ले राजनीतिमा लाग्न देशले युगौँ कुर्नुपर्छ। त्यसैले यो एउटा अवसर हो’, लामिछानेले भने। 

सभापति लामिछानेले वाग्लेले जिते भने यो देशको क्यालेन्डर फेरिने र भाग्य चम्किने बताए। 

‘हामीले धेरै कुरा नभनीकन धेरै भनिसके जस्तो लाग्छ। हामीले हरेक वर्ष जस्तो क्यालेन्डर फेर्र्यौ । क्यालेन्डरहरू फेरिँदै गए। हरेक वर्ष । तर मुलुकको काँचुली फेरिएन। मुलुकको भाग्य फेरिएन’, उनले भने, ‘यो पटक पनि भित्तोका क्यालेन्डर फेरिँदै छ। तर सँगसँगै यो पटक देशको भाग्य पनि फेरिँदै छ। हामी यो देश निर्माण गर्न सक्ने मान्छे खोजिरहेका छौँ।’ 

सभापति लामिछानेले मुलुक परिवर्तनका लागि शंखनाद गर्न घट्टी बजाइसकेको उल्लेख गर्दै भने, ‘यो देशका नागरिकको हैसियत मजबुत बनाउने अठोटका साथ आएका छौँ ।’

उनले देश नजान्ने व्यक्तिहरूले चलाएको र आफूहरूले जान्ने व्यक्तिहरू खोजिरहेको उल्लेख गरे। 

प्रकाशित: २० चैत्र २०७९ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App