नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिए पनि त्यसको चर्चा सेलाएको छैन। कांग्रेस वृत्तमा एक प्रकारको सकारात्मक तरंग फैलिएको छ। लोकतान्त्रिक विधिबाट सम्पन्न महाधिवेशनले विशेषतः युवा पुस्ताको राजनीतिक क्रियाशीलतालाई आशावादितातर्फ डोर्याएको छ।
युवा पंक्तिको बाहुल्यले प्रौढ पुस्ताको निर्णायक तहमा रहँदै आएको यसअघिको भूमिकालाई प्रतिस्थापन गर्दै जाने सम्भावना बढाएको छ। समयले इतिहासको निर्माण गर्छ। अब युवा पुस्तालाई समयले नयाँ इतिहास निर्माणतर्फको प्रस्थान बिन्दुमा ल्याएर उभ्याइदिएको छ।
यस प्रस्थान बिन्दुबाट उनीहरूले कसरी यात्रारम्भ गर्छन्, त्यसको वास्तविक मूल्यांकन भने अबको समयले सूक्ष्म ढंगले गर्ने नै छ। इतिहासबाट पाठ सिकेर मुलुकको जिम्मेवारीको भारी उचाल्न पार्टीगत तहबाट निर्णायक भूमिका खेल्ने पालो अब युवा कांग्रेसको भएको छ।
बिपीले भनेका छन्, ‘इतिहास एउटा अतीतको कथा वा पुराण मात्र होइन- यो भविष्यको निर्देशक पनि हो।’ कांग्रेसले इतिहासमा प्राप्त गरेका उपलब्धिले अबका दिनलाई मार्गदर्शन गर्न सक्छन् भने इतिहासमा गरिएका भूलले आगामी समयमा सजगताका लागि पाठ पनि सिकाउँछन् भन्ने नै बिपीको उक्त भनाइको आसय हो।
समयले मुलुकको नेतृत्वलाई नयाँ नयाँ जिम्मेवारी सुम्पँदै जान्छ। ती जिम्मेवारी पूरा गर्दै जान नेतृत्वले आफ्नो व्यवस्थापकीय, सांगठनिक एवं रणनीतिक सामथ्र्य विस्तार गर्दै अघि बढ्नुपर्छ। विगतभन्दा आगतका चुनौती बढी सशक्त रहन्छन्। विगतका उपलब्धिको सिरानी हालेर मस्त निदाउने नेतृत्वलाई समयले छाडेर अघि बढ्छ।
राजनीतिक पार्टीलाई जीवन्तता दिइरहन र नवीन सोच एवं चिन्तनले सिञ्चन गराइरहन केन्द्रीय नेतृत्वको सर्वोपरि भूमिका रहन्छ। बिपीका विचार उत्तिकै सान्दर्भिक छन्, ‘इतिहासले हामीलाई विश्राम दिँदैन। सम्पन्न गरेका जिम्मेवारीको सुखद विचारमा आफूलाई भुल्याउन थाल्यौँ भने इतिहासले हामीलाई पनि त्यागेर अघि बढ्छ।’
००७ सालको जनक्रान्तिको नेतृत्व गरी युग परिवर्तनको प्रारम्भ गरेको नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गर्दै बिपीले २०१७ सालमा तरुण दलको अधिवेशनमा नेपाली तरुण एवं विद्यार्थीलाई आगामी दिनमा उनीहरूले अपनाउनुपर्ने सचेतता, पालन गर्नुपर्ने कर्तव्यपरायणता र वहन गर्नुपर्ने जिम्मेवारीका लागि सन्देश दिने क्रममा उक्त विचार व्यक्त गरेका थिए।
वर्तमान युवा नेतृत्व पुस्ताले बिपी विचारको उज्यालोलाई आफ्नो तात्कालिक स्वार्थको अँध्यारो छायाले ढाक्न थाले भने निश्चित छ, उनीहरू वैचारिक रिक्तताको धापमा फस्नेछन् र इतिहास निर्माणको सुनौलो अवसरबाट वञ्चित रहनेछन्।
युवा नेतृत्वले आफूलाई मुलुकको हितमा हरपल जागरुक राख्ने उपायका लागि बिपी विचारभन्दा माथिको अर्को कुनै स्रोत खोज्नुपर्दैन। उनीहरूभित्र बाँचिरहेको ‘कांग्रेस’ भन्नु बिपीको वैचारिकताद्वारा निर्मित कोषिका हुन् भने आफूभित्रका ती वैचारिक कोषिकालाई स्वस्थ राख्ने प्रयत्न गर्नु नै उनीहरूको प्रथम कर्तव्य पनि हो। शरीरको स्वस्थता रक्तकोषहरूको स्वस्थतामा निर्भर हुन्छ। विचारलाई जीवन्त राख्न त्यसको व्यावहारिक प्रयोग अनिवार्य रहन्छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा जसरी तेस्रो पुस्ताका युवाको जागरण देखियो, त्यस जागरणलाई बढी जागृत गराउने तत्व भने बिपी विचार नभएर गुट रहेको महसुस उनीहरूले गरेको देखिएन। पार्टीमा रहेका गुटहरूलाई प्रिय शब्दमा विचार समूह भन्ने गरेको पाइन्छ। कांग्रेसमा कतिवटा र कस्ता विचार समूह हुन्, त्यसको स्पष्टता देखिँदैन।
सैद्धान्तिक कुरामा कांग्रेसमा मतभेद देखिएको छैन। त्यसमा अर्को विचार समूह भन्ने कुरै भएन। नीतिमा पनि मतभेद देखिँदैन। कांग्रेसको नीतिको आधार भनेको यसको घोषणापत्र हो। त्यसमा पनि मतभेद देखिँदैन। लोकतन्त्र, समाजवाद, राष्ट्रियता भनेका कांग्रेसको बाटो र उद्देश्य तय गर्ने आधारभूत मार्गदर्शक सैद्धान्तिक अवधारणा हुन्, तिनमा बिपीकै पालादेखि अर्थात् स्थापनाकालदेखिकै निरन्तरता छँदैछ, त्यसमा भतभेद हुने कुरै देखिँदैन भने विचार समूहको अन्तर्य के हो सर्वसाधारण कांग्रेसले बुझेको छैन। विचार समूह भनेको पार्टीमा लाभ, पद वा अवसरको भर्याङ हो भनेर बुझ्नेहरू पनि देखिन्छन्।
कांग्रेसका महाधिवेशन प्रतिनिधिदेखि पालिका, जिल्ला, प्रदेश वा केन्द्रीय कार्यसमितिका पदाधिकारीसम्म गुट–गुटका कांग्रेस देखिन्छन्। कतिवटा विचार समूह हुन्, त्यसको ठ्याक्कै अनुमान गर्न गाह्रो छ। कांग्रेसका क्रियाशील सदस्यको संख्या बढाइएको भए पनि ती विभिन्न गुटबन्दीभित्रका क्रियाशील सदस्य भएको कुरा बुझ्न सकिन्छ।
यसरी गाउँदेखि केन्द्रसम्म सबै गुटबन्दीमा परेपछि कुनै न कुनै गुटमा नलागेको कांग्रेस सायद छैन। एउटा कांग्रेसले अर्कोलाई यो कुन गुटको हो भनेर निक्र्योल गरेपछि मात्र खुलेर बोल्न सक्छ। स्थानीय तहदेखि नै गुटबन्दीको चलखेल अत्यधिक हुँदै आएको विषय त क्रियाशील सदस्य बनाउने क्रममा भएको विवादबाटै छर्लंग बुझ्न सकिन्छ। जेहोस्, महाधिवेशन भयो, चुनाव भयो। जित्नेले जिते। तर, सबै केन्द्रीय सदस्य एवं पदाधिकारी सुयोग्य पात्र नै हुन् भन्ने विश्वास गर्न सकिँदैन। धेरै पात्रले कांग्रेसको भन्दा गुटपरस्त कांग्रेसी पात्रको छवि बनाएका छन्।
कांग्रेसमा गुटबन्दीको राजनीति ००३ सालदेखि नै सुरु भए पनि पञ्चायतकालीन तीस वर्षलाई छोडेर २०५० सालयता भने निरन्तर रहेकै देखिन्छ। प्रधानमन्त्री एवं सभापति देउवा स्वयं नै गुटबन्दीका अगुवा हुन् भन्ने कुरा जगजाहेर छ। यो नेपाली कांग्रेसभित्रको तीतो यथार्थ हो।
कांग्रेसमा अलिकति बौद्धिक स्तरमा राजनीति गर्ने नेता र कार्यकर्ताहरूले गुटपरस्त राजनीतिले शिर उठाउँदा परिणाम के हुँदो रहेछ भन्ने राम्ररी बुझेका पनि छन्, केन्द्रीय नेतृत्व कमजोर हुन गई संगठन कमजोर हुन्छ, इमानदार कार्यकर्ताहरूमा निराशा बढ्छ, कुनै पनि तहको निर्वाचनमा अन्तर्घात हुन्छ, पार्टीले पराजय भोग्नुपर्छ, निष्ठाको बदला पैसाको प्रभाव बढी हुन्छ, पारस्परिक अविश्वास बढ्ने गर्छ।
यसैगरी राष्ट्रिय समस्याहरूमा पनि मतभिन्नता बढेर जान्छन्, जनतामा अविश्वास बढेर जान्छ, आरोप प्रत्यारोपको क्रम बढेर जान्छ, सिद्धान्त र आदर्शको कुनै मर्यादा रहँदैन, मुलुकको जिम्मेवारी वहन गर्नबाट पार्टीले वञ्चित भइरहनुपर्छ।
नेपाली कांग्रेसको वैचारिक शुद्धीकरण र सांगठनिक सुदृढीकरणलाई सँगसँगै अघि बढाइनुपर्छ भन्ने आवाज २०४८ सालपछि सर्वोच्च नेता गणेशमान सिंहले उठाउन थालेका थिए। यस्तै, प्रधानमन्त्रीबाट राजीनामा दिने क्रममा २०५६ सालमा सन्तनेता कृष्णप्रसाद भट्टराईले महसुस गरेका राजनीतिक तीक्तता उनका निजी असन्तुष्टि मात्र थिएनन्, ती पार्टी परिवेशबाटै उत्पत्ति भएका अनुभूति थिए।
२०५९ सालमा पार्टी विभाजन हुनेसम्मको स्थिति किन उत्पन्न भयो, त्यसले राष्ट्रिय राजनीतिलाई कुन मोडमा, कुन अँध्यारो भँगालातिर धकेलिदियो, त्यसतर्फ पनि वर्तमानको विजयी युवा कांग्रेसको जमातले गम्भीरतापूर्वक चिन्तन र विश्लेषण गर्नु जरुरी छ।
इतिहासबाट पाठ सिक्नुपर्छ, इतिहास भविष्यको निर्देशक पनि हो भन्ने बिपीको दुरगामी चिन्तन केवल कागजी आदर्श मात्र नभएर नेपाली कांग्रेसको वर्तमान र सुदूर आगतसम्मका लागि विचार, व्यवहार र पार्टीगत सामथ्र्यको आधार हो भन्ने कुरालाई पनि नेतृत्व तहमा उक्लिएको कांग्रेस पुस्ताले गम्भीरतापूर्वक लिनुपर्छ। उल्लिखित परिस्थिति नेपाली कांग्रेसभित्रैको गुटबन्दी—राजनीतिकै परिणाम थिए।
१४औं महाधिवेशन लोकतान्त्रिक पक्रियाबाट सम्पन्न भयो। सामान्य विवाद रहनु अस्वाभाविक होइन। लामो समयसम्म योगदान दिएका नेतामा सभापति बन्ने आकांक्षा रहनु पनि स्वाभाविकै हो। विजय, पराजय पनि स्वाभाविक हो। तर विगतदेखि नै नेतृत्वमा रहिसकेका प्रत्येक नेताले कांग्रेसलाई गुटरहित र एक ढिक्का बनाउँछु भन्दै आए तर व्यवहारमा त्यसतर्फ गम्भीर अग्रसरता देखाएको पाइएन।
अन्ततोगत्वा सातजना सभापतिका उम्मेदवारले आ–आफ्ना निर्धा–बलिया गुटको निर्माण गरे र प्रतिस्पर्धा गरे। प्रतिस्पर्धा अस्वाभाविक भएन तर नवोदित केन्द्रीय युवा पदाधिकारी पनि कोही न कोहीका गुटभित्रकै बन्दी भएर विजयी भए जो महाधिवेशन पहिले भने गुटविरोधी थिए।
यहाँनेर, विजयी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र अरू केही जसलाई नेपाली कांग्रेसका भविष्य भनेर धेरै शुभेच्छुकले सम्झने गरेका छन्, ले कुनै पनि गुटभित्र नपसीकन प्रतिस्पर्धा गरेका थिए भने पराजित हुने थिए त? अनुमान गर्न सकिन्छ, उनीहरू गुटको घेरा बाहिरै थिए भने पनि पराजित हुने थिएनन्।
बरु अझ बढी नै मत प्राप्त गर्ने थिए। अनि उनीहरूलाई अबका दिनमा गुटरहित कांग्रेस निर्माण गर्न अझ नैतिक बल र पृष्ठभूमि प्राप्त हुने थियो। नेतृत्वको कथनी र करनी उत्तर र दक्षिण ध्रुव बन्यो, भने उसले आफूलाई समर्थक माझ लोकप्रिय बनाइरहन सक्दैन। भूलबाट पाठ सिकेर आफूलाई सच्याउँदै जाने परिस्थिति भने सधैँ रहिरहन्छ।
महाधिवेशनमा भएको निर्वाचनका क्रममा दाइ पुस्ताका सभापतिका आकांक्षीको आग्रहलाई उनीहरूले बेवास्ता गर्न नसकेका हुन् भन्ने बुझ्न सकिन्छ। उनीहरू स्वयं नै आ–आफ्ना लागि दाइहरूको फेरो समात्नै गएका चैँ होइनन् भन्ने अनुमान गर्न सकिन्छ।
कांग्रेसको भविष्यमा गुटरहित प्रतिस्पर्धा सम्भव छ कि छैन त? १४औँ महाधिवेशन (र विगतका पनि) को स्थिति हेर्ने हो भने त्यस्तो हुन सम्भव छैन। तर प्रयास गरेमा सम्भव छ। त्यसका निम्ति भित्रैदेखि गुटमा विश्वास नगर्ने र परिबन्दले यस महाधिवेशनमा गुटबन्दीबाट विजित केन्द्रीय समितिका युवा नेताले विशेष प्रयास गर्नु जरुरी देखिन्छ।
त्यस निम्ति विजित र पराजित, यसको र उसको समूह नभनीकन जिम्मेवारी र सम्मान दिने/दिलाउने प्रयत्न गर्नु आवश्यक देखिन्छ। सभापति देउवाले यसका निम्ति विशेष उदारता र लचिलोपन देखाउन जरुरी हुन्छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिएको कारण गुटगुटको तानातानमा आफूले सम्भावित पराजय भोग्नुपर्ने आशंका भएर नै हो।
निर्वाचनपछिका उनका प्रतिक्रियामा उम्मेदवारी नदिनुपर्नाको आवेगको स्वर सुनिएको छैन। जुन रूपमा भए पनि कांग्रेसलाई वर्तमानसम्म ल्याउन पौडेल र उमेरगत रूपमा निकट एवं उनका पुस्ताका नेताको त्याग र समर्पणलाई वर्तमानमा केन्द्रीय कार्यकारी नेतृत्व पंक्तिमा पुगेको युवा पुस्ताले किमार्थ कम सम्झनु हुँदैन। मुलुकका लागि बढी त्याग गरेको पुस्ता ०४६ सालअघि नै कांग्रेस राजनीतिमा स्थापित पुस्ता हो भन्ने कुरा नयाँ पुस्ताले सम्झिनैपर्छ।
औपचारिक हिसाबले नेतृत्वमा पुगेको नयाँ पुस्ता र विजित वा पराजित दाइ पुस्ताका बीच कुनै अन्तर्विरोध भएन र गुटबन्दीको राजनीतिबाट कांग्रेसलाई मुक्त गर्ने अठोट उनीहरूले गरे भने कांग्रेसलाई गुटरहित बनाउन बेरै लाग्दैन। केन्द्रीय तहमा गुटको तुष रहेन भने प्रदेश, जिल्ला वा गाउँ/नगरपालिका स्तरमा हुने गुटबन्दी स्वतः निस्तेज बन्नेछ।
आगामी स्थानीय वा संघीय निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम ल्याउने यो एक प्रमुख आधार पनि हो। नत्र भाइ फुटे गँवार लुटे हुन्छ, विगतका निर्वाचनको परिणाम र कारण सम्झे पुग्छ। तिनमा पराजयका कारण त अनेक छन् तर एउटा प्रमुख कारण आपसी फुट पनि हो भन्ने कुरा स्पष्ट नै छ।
नेपाली कांग्रेसमा सधैँ खड्किँदै आएको अर्को विषय हो, यसको संस्थागत विकास नहुनु। संस्थागत विकास हुन नसक्नुमा केन्द्रीय नेतृत्व नै पूर्णतः जिम्मेवार छ। यसका निम्ति अबको नेतृत्वले अत्यन्त गम्भीरतापूर्वक जागरुक बन्नुपर्ने देखिन्छ। गुटबन्दी राजनीतिकै कारण संस्थागत संरचना कमजोर बनेको हो। १३खौँ महाधिवेशनपछि कांग्रेसका अधिकांश भ्रातृ/भगिनी संस्थाहरूको नवनिर्माण र तिनका अधिवेशन सम्पन्न भएनन्। अधिकांश भ्रातृसंस्थाहरूको कुनै निर्वाचन, अधिवेशन नै हुन नपाई पार्टीको १४औँ महाधिवेशन सम्पन्न भयो।
पार्टीका लागि यस्तो हुनु बिल्कुलै शोभनीय होइन। तसर्थ निकट भविष्यमा हुने राष्ट्रिय निर्वाचनभन्दा पहिल्यै कांग्रेसका भ्रातृ÷भगिनी संस्थाहरूको अधिवेशन भई तिनका संस्थागत संरचनाको टुंगो भइसक्नु आवश्यक देखिन्छ। नेतृत्वको कुशलता पार्टीको संस्थागत आधार बलियो पारेर सम्पूर्ण वर्गीय विविधताका बीच एकता कायम गर्दै संगठनलाई मजबुत बनाउनुमा देखिन्छ। नयाँ नेतृत्वको यो प्रथम चरणकै जिम्मेवारी पनि हो।
यसैगरी, संस्थागत रूपमा खड्किएको अर्को विषय छ। नेपाली कांग्रेसका केन्द्रीय तहका पदाधिकारी आउजाउ गर्ने र बैठक बस्ने, निर्णय गर्ने थलो त सानेपामा निर्मित बिपी भवन हो, त्यो परबाटै देखिन्छ नै। तर केन्द्रीय अभिलेखालय चैँ कहाँ छ भन्ने चैँ कसैलाई ज्ञात छैन। ००३ सालदेखिका कांग्रेसका मौलिक अभिलेख वा लिखित दस्तावेजको त कुरै छोडौं, ०४६ साल यताका त्यस्ता सामग्रीहरू पनि संस्थागत तवरले प्राप्त हुने एउटा मात्र ठाउँ कहीँ होला भन्ने लाग्दैन। नयाँ पुस्ताको नेतृत्वले यसतर्फ विशेष पहल गरी कांग्रेसको केन्द्रीय अभिलेखालय वा अध्ययन अनुसन्धान केन्द्रको स्थापना गर्नु अनिवार्य छ। कांग्रेसको संस्थागत विकास हुन नसक्नुको तीतो परिणाम यो पनि हो। पार्टीगत तहबाट नयाँ नेतृत्व पुस्ताले नै यसमा पहल गर्नु आवश्यक छ।
प्रधानमन्त्री तथा पुरानो पुस्ताका नेता शेरबहादुर देउवा गुटगत तालमेल मिलाएर सभापतिमा निर्वाचित भए पनि अब उनले गुटभन्दा माथि उठेर केन्द्रीय तहको नेतृत्वमा आएका युवा नेताहरूलाई पार्टीको मार्गचित्र बनाउन लगाई त्यसलाई इमानदारीपूर्वक कार्यान्वयनमा लैजान निर्देशन दिन सक्छन्। चाँडै हुने भनिएको नीति महाधिवेशनले त्यस मार्गचित्रलाई सघन र विस्तारित गर्न सक्नेछ। देउवाका लागि आफ्नो विगतको आलोचित छवि सुधार्ने राम्रो अवसर पनि हो यो अबको पदावधि। नवीन सोच र उत्साहका साथ युगीन आवश्यकता अनुसार गतिशील बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्न पार्टीलाई अपरिहार्य शक्तिमा रूपान्तरण गर्ने संकल्प युवा नेतृत्वले अब लिनैपर्छ।
एकै छिन २०१७ पुस १ गते थापाथलीमा प्रधानमन्त्री बिपीले दिएको सन्देश सुनिरहेको अनुभूति विभिन्न तहका वर्तमान युवा नेतृत्वले गरेमा उनीहरूले आफूलाई अझै ऊर्जावान् र गतिशील बन्न प्रेरणा पाउन सक्नेछन्। बिपीले त्यस दिन भनेका थिए, ‘तरुण साथीहरू, भविष्य उज्वल छ र त्यो भविष्य तपाईंहरूको हो। आफूलाई त्यो उज्ज्वल भविष्यको उत्तराधिकारी भन्ठान्नुस्। त्यस अनुरूप आफूलाई बनाउनु होस् र कर्तव्य गर्नु होस्।’
२०३३ पुस १६ मा प्रवासबाट राष्ट्रिय एकता र मेलमिलापका लागि देशवासीलाई आह्वान गर्दै सहकर्मी नेता गणेशमान सिंह र अन्य साथीका साथ बिपी नेपाल फर्केका थिए। त्यसबेला उनले राष्ट्रियता बचाउन र लोकतन्त्रको पुनर्स्थापना गर्न राष्ट्रिय एकताको खाँचो महसुस गरेका थिए। ठ्याक्कै त्यसबेलाकै जस्तो परिस्थिति यसबेला नभए पनि वर्तमानसम्म विकसित राष्ट्रिय/अन्तर्राष्ट्रिय घटनाक्रम र परिस्थितिका कारण नेपाली राष्ट्रियताप्रति पूर्ण प्रत्याभूतिको अवस्था अझै छैन।
अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू कुनै न कुनै कुनाबाट नेपालमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिमा लागिरहेकै छन्। उनीहरूका आ–आफ्ना स्वार्थ केन्द्रित आँखाको क्षितिजबाट नेपाल बाहिर छैन। यस्तो अवस्थामा राष्ट्रियतालाई अकण्टक रूपमा बचाइराख्न एवं यसप्रति आम जनभावनालाई सुनिश्चितताको प्रत्याभूति दिइरहन नेपाली कांग्रेसको शीर्ष जिम्मेवारी उत्तिकै प्रस्ट छ।
यसैगरी उसबेला लोकतन्त्रको पुनर्स्थापनाका लागि राजासँग संघर्ष गर्ने नीति बिपीले लिएका थिए। यसबेला लोकतन्त्रलाई सुदृढ पार्ने अहम् भूमिका कांग्रेसकै रहेको भन्नेमा जनता उत्तिकै आशावादी छन्। किनभने हरेक लोकताीन्त्रक संघर्षको नेतृत्व कांग्रेसले नै गरेको हो। यस्तो परिस्थितिमा राष्ट्रियताको भावनालाई अझै प्रवर्द्धन गर्दै लैजान र लोकतन्त्रप्रतिको जनआस्थालाई खण्डित हुन सक्ने अवस्था आउनबाट रोक्नलाई पनि वर्तमानको नेपाली कांग्रेसले उच्च सजगता अपनाइरहनु अनिवार्य छ।
आमजनताको आवश्यकता, आकांक्षाभन्दा पर नेपाली कांग्रेस जान सक्दैन। नेतृत्व तहमा पुगेको युवा कांग्रेस पंक्तिको साझा एवं एकताबद्ध चिन्तन र अखण्डित संकल्पद्वारा नै राष्ट्रिय जिम्मेवारी पूरा गर्दै जान नेपाली कांगेस सक्षम हुन सक्नेछ।
प्रकाशित: १७ पुस २०७८ ०३:०४ शनिबार