२८ असार २०७७ आइतबार
विचार

प्रकृतिमा आधारित समाधान खोजौँ

सन्दर्भ: विश्व जैविक विविधता दिवस

सन् २०२० को सुरुवातसँगै कोभिड–१९ का कारण मानव जाति संकटमा परेको छ। पछिल्लो समय जलवायु परिवर्तनका जोखिमले मानव जातिलाई बढी संकटमा पार्दै आएको पृष्ठभूमिमा अहिले आएर कोभिड–१९ ले मानवीय संवेदनशीलतालाई थप संकटमा पारिदिएको छ। यो संकट यति धेरै सर्वव्यापी छ कि एकातिर सिंगो मानव जाति र अर्कोतिर कोभिड–१९ जुधेको अवस्था छ। यो संकटले मानव जातिलाई मात्र समस्यामा पारेको छैन, यसको दायरा अब बिस्तारै वन्यजन्तु र वनस्पति अर्थात जैविक विविधतामा पनि पर्दैछ। मानव जातिको अस्तित्व वन्यजन्तु र वनस्पतिमा अन्तरनिर्भर भएकाले पनि भोलिका दिनमा यो संकट अझ व्यापक भएर जाने सहजै अनुमान गर्न सकिन्छ। शायद त्यही भएर होला, संयुक्त राष्ट्र संघले यस वर्षको जैविक विविधता दिवसको नारा हाम्रा समाधान प्रकृतिमा छन् भनेर मानवलाई प्रकृतिसँग मिलेर बाँच्नका लागि आह्वान पनि गरेको छ। यस वर्षको विश्व जैविक विविधता दिवसको सन्दर्भ पारेर यस लेखमा कोभिड–१९ र जलवायु परिवर्तनले नेपालको जैविक विविधतामा पारेको असर र समाधानका उपायबारे चर्चा गर्न खोजिएको छ।    

नेपाल जैविक विविधतामा धनी छ भनेर दोहोराइरहनु पर्दैन। हाल नेपालमा २१२ प्रजातिका स्तनधारी, ८८६ प्रजातिका चरा, २३२ प्रजातिका माछा र विविध प्रजातिका कीराफट्यांग्रा, करिव १७०९७ प्रजातिका वन्यजन्तु रहेका अनुमान छ। त्यस्तै गरी फूल फुल्ने र नफुल्ने गरी १३०६७ भन्दा बढी प्रजातिका वनस्पति भएका अनुमान छ। अझै नेपालमा अध्ययन÷अनुसन्धानको अभावमा कति वनस्पति र वन्यजन्तुबारे त जानकारी नै छैन। जे होस्, नेपाल वन्यजन्तु र वनस्पतिको विविधतामा धनी छ र यसरी धनी हुनुमा यहाँको भौगोलिक विविधता, ठाउँअनुसारको स्वच्छ हावापानी, उत्तरदेखि दक्षिण बगेका नदी प्रणाली र मलिलो माटोको भूमिका महत्वपूर्ण मानिन्छ। प्रकृतिका यी अमूल्य निधिको दिगो संरक्षण र व्यवस्थापन गर्नु हामी सबैको साझा कर्तव्य र दायित्व दुवै हो। मानव अस्तित्व बचाइराख्नका लागि पनि वनस्पति र वन्यजन्तुलाई बचाईराख्नुपर्ने हुन्छ।  

जलवायु परिवर्तन र कोभिड–१९ बीचको अन्तरसम्बन्ध त अझै परिभाषित भइसकेको छैन तर जलवायु परिवर्तन र कोभिड–१९ को बीचमा सम्बन्ध नै छैन भन्न सक्ने अवस्था पनि छैन।  

नेपालमा भएका वन्यजन्तु र वनस्पतिको संरक्षण र व्यवस्थापन तथा त्यहाँबाट प्राप्त हुने वस्तु र सेवाको बुद्धिमतापूर्ण तरिकाले सदुपयोग गर्नका लागि नेपाल सरकारले विभिन्न मोडालिटीका संरक्षित क्षेत्र पनि स्थापना गरेको छ। हाल नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा ििकार आरक्ष र ६ वटा संरक्षण क्षेत्र गरी २० वटा संरक्षित क्षेत्र स्थापना भएका छन्। यी क्षेत्रले देशको कुल भूभागको २३.३९५ क्षेत्रफल ओगटेका छन्। जसमध्ये १२ वटा संरक्षित क्षेत्र उच्च हिमाली क्षेत्रमा, एउटा संरक्षित क्षेत्र पहाडी क्षेत्रमा र बाँकी ७ वटा संरक्षित क्षेत्र तराई क्षेत्रमा अवस्थित छन्। राष्ट्रिय निकुञ्ज र आरक्ष दुर्लभ र लोपोन्मुख वन्यजन्तुको संरक्षण र तिनको बासस्थानलाई मध्यनजर गरेर स्थापना गरिएको छ भने संरक्षण क्षेत्रहरू सामुदायिक विकासमार्फत प्रकृति संरक्षण गर्ने दोहोरो उद्देश्यले स्थापना भएका छन्। सरसर्ती हेर्दा हिमाली र तराई क्षेत्रमा संरक्षित क्षेत्रको उपस्थिति प्रतिनिधिमूलक भए पनि पहाडी क्षेत्रमा राष्ट्रिय निकुञ्ज र आरक्षको स्थापना अत्यन्त न्यून छ जबकि वैज्ञानिकहरूका अनुसार दुर्लभ र लोपोन्मुख वन्यजन्तु र वनस्पतिको बासस्थानको दृष्टिले मध्यपहाडी क्षेत्र सबै भन्दा धनी मानिन्छ।            

वनस्पति र वन्यजन्तुको संरक्षण र व्यवस्थापन गर्दा सरोकारवालाहरूको सहकार्य र समन्वयमा मानव प्रकृतिको सहअस्त्तिव कायम हुने गरी संरक्षित क्षेत्रको एकीकृत व्यवस्थापन गर्ने विश्वव्यापी मान्यता छ। यसै मान्यतालाई आत्मसात गर्दै नेपाल सरकारले पनि वन्यजन्तुको बासस्थान व्यवस्थापनका लागि निकुञ्ज विभागका प्राविधिक कर्मचारी, संरक्षित क्षेत्रभित्र हुने चोरी सिकार र अवाञ्छित गतिविधि नियन्त्रण गर्न नेपाली सेना, संरक्षित क्षेत्र बाहिर हुने वन्यजन्तुको अवैध व्यापार नियन्त्रण र कानुन कार्यान्वयनमा नेपाल प्रहरी, संरक्षित क्षेत्रको संरक्षण र त्यहाँबाट उत्पादन हुने वस्तु र सेवाको दिगो उपयोग गर्नमा स्थानीय समुदाय र आर्थिक एवं प्राविधिक सहयोग जुटाउन डब्लुडब्लुएफ, एनटिएनसी र जेडएसएल जस्ता संरक्षण साझेदार संस्थाको सहकार्यमा संरक्षित क्षेत्रको एकीकृत व्यवस्थापन गर्दै आएको छ। त्यसै गरी नेपालले रामसार, साइटिस, आइयुसिएन, सावेन, जैविक विविधता र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि जस्ता अन्तरसरकारी निकायको पक्षराष्ट्र भई अन्तर्राष्ट्रिय समुदायसँग समेत समन्वय र सहाकार्य गर्दै आएको छ। अझ सगरमाथा र चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत हुनु नेपाल र नेपालीका लागि गौरवको विषय हो। 

हामीले नेपाल जैविक विविधतामा धनी छ र जैविक विविधता संरक्षण र व्यवस्थापन गर्ने हाम्रो नीति र कार्यक्रम राम्रो छ भन्दाभन्दै थाहा नपाइकन धेरै प्रजातिका वन्यजन्तु र वनस्पति लोपोन्मुख अवस्थामा पुगेका छन्। 

वन्यजन्तु र वनस्पतिबिना मानव जीवनको कल्पना पनि गर्न सकिँदैन। हामीले हरेक क्षण फेर्ने श्वास÷प्रश्वास होस् वा बिहान र बेलुकाको खानेकुरा, हामीले लगाउने कपडा होस् वा घर, कुनै न कुनै सबै वन्यजन्तु र वनस्पतिबाट प्राप्त भएका हुन्छन्। वन्यजन्तु र वनस्पतिको यति धेरै अन्तरसम्बन्ध हुँदाहुँदै पनि नेपालका जैविक विविधताको क्षेत्रले थुप्रै चुनौती सामना गर्नुपरेको छ। व्यवस्थित बसोबास नहुँदा वन क्षेत्रको अतिक्रमण, विकासका नाममा डोजर संस्कृति, वन्यजन्तुका बासस्थानको खण्डीकरण, क्षयीकरण र नास, अनियन्त्रित आगलागी र चरिचरण, मिचाहा प्रजातिको विगविगी, मानव–वन्यजन्तु द्वन्द्व, चोरी सिकार र अवैध व्यापार जस्ता चुनौती दिन÷प्रतिदिन बढ्दो छ। मन्द विषका रूपमा जलवायु परिवर्तनको असर वन्यजन्तुको बासस्थान, तिनले पिउने पानी र खान र समग्र पारिस्थितिकीय प्रणालीको स्वास्थ्यमा देखा पर्दैछ। हुँदाहुँदा कोभिड–१९ र लकडाउनको असर वन्यजन्तु र वनस्पतिको चोरी सिकार र अवैध व्यापारमा वृद्धि हुन पुगेको छ। हालै सगरमाथा राष्ट्रिय निकुञ्जमा वीनाका लागि कस्तूरी मृगको चोरी सिकार हुनु यसको ज्वलन्त उदाहरण हो। सामान्यतया वन्यजन्तुले मानव क्षति पुराउँदा मानव–वन्यजन्तु द्वन्द्व र मानिसले वन्यजन्तुलाई क्षति पुराउँदा वन्यजन्तु अपराधका रूपमा परिभाषित गरिँदै आएको अवस्था छ। जे होस्, मानव–वन्यजन्तु द्वन्द्व हुँदा सकेसम्म धेरै र छिटोछरितो तरिकाबाट राहात उपलब्ध गराउने र वन्यजन्तु अपराध भएमा प्रभावकारीरूपमा कानुन कार्यान्वयन गर्नुपर्ने हुन्छ जुन हुँदै पनि आएको छ।    

हामीले नेपाल जैविक विविधतामा धनी छ र जैविक विविधता संरक्षण र व्यवस्थापन गर्ने हाम्रो नीति र कार्यक्रम राम्रो छ भन्दाभन्दै थाहा नपाइकन धेरै प्रजातिका वन्यजन्तु र वनस्पति लोपोन्मुख अवस्थामा पुगेका छन्। पृथ्वीको सतहको तापक्रम बढ्दा कति वन्यजन्तुका पिउने पानीका स्रोत सुकेका छन्। कति वन्यजन्तु आगलागीको चपेटामा परेका छन्। खडेरीका कारण जमिनको उत्पादकत्त्व घटेको छ, बाघ, भालु, गैँडा, अर्ना र हात्ती जस्ता दुर्लभ वन्यजन्तु झन झन खतरामा परेको महसुस भएको छ, कमिला, धमिरा, पुतली र मौरी, जस्ता ससाना वन्यजन्तु प्रजनन नै गर्न नसक्ने र कति वन्यजन्तु रोगव्याधिको सिकार हुन पुगेका छन्, कति वन्यजन्तु लोप हुन पुग्दा बिरुवाको प्रागसेचन प्रक्रिया अवरुद्ध हुन पुगेको छ।

कोभिड–१९ ले गर्दा वन्यजन्तुमा आधारित पर्यटन धराशायी भएको छ। पर्यटनमा आधारित हवाई र स्थल यातायात ठप्प छ, होटेल, रेस्टुरेन्ट बन्द छन्। लाखौँ मानिसले आफ्नो रोजगारी र रोजीरोटीको स्रोत गुमाएका छन्। मानिसको जीवन प्रक्रिया अवरुद्ध भएको छ। आर्थिक वर्षको सुरुमा नेपालको अर्थव्यवस्थामा ७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएकामा २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।      

त्यसो भए अब के गर्ने त ? जलवायु परिवर्तन र कोभिड–१९ बीचको अन्तरसम्बन्ध त अझै परिभाषित भइसकेको छैन तर जलवायु परिवर्तन र कोभिड–१९ को बीचमा सम्बन्ध नै छैन भन्न सक्ने अवस्था पनि छैन। आज जुन जुन देशले बढी मात्रामा हरितगृह ग्यास उत्सर्जन गरेका थिए, तिनै देशमा कोभिड महामारीको प्रकोप देखिनु पक्कै पनि संयोग मात्र होइन। यस्तो अवस्थामा जैविक विविधतासँग जलवायु परिवर्तन र कोभिड–१९ को अन्तरसम्बन्धलाई समयमा केलाउन सकिएन र यी दुवै समस्याले पारेको असर र जोखिमलाई न्यूनीकरण र नियन्त्रण गर्नका लागि प्रकृति संरक्षण गर्न सकिएन भने भोलि गएर थप संकटमा नपरिएला भन्ने छैन।  

कोभिड–१९ ले दिएको एउटा महत्वपूर्ण सन्देश के हो भने अब मानिस स्वस्थ र सभ्य जीवन जिउन चाहन्छ भने प्रकृति संरक्षण गर्नुको विकल्प छैन। यहाँनेर हामीले बुझ्नुपर्ने र मनन गर्नुपर्ने एउटा तथ्य के छ भने मानवताको अस्तित्व प्रकृतिमा अन्तर्निहित सम्बन्धसँग छ। संस्कृतमा एउटा भनाइ नै छ– प्रकृति रक्षित रक्षिता अर्थात प्रकृति सुरक्षित भए मात्र तिनले हाम्रो रक्षा गर्छिन। कहिलेकाहीँ वन्यजन्तु, संरक्षित क्षेत्र र जैविक विविधता संरक्षणको कुरा गर्दा मानिस पहिला कि वन्यजन्तु पहिला भन्ने बहस पनि सुन्न पाइन्छ। लाग्छ, मानिस पहिला भन्ने तथ्यमा बहस गर्नु नै पर्दैन। मानिस नै पहिला हो, यसमा दिविधा नै छैन। तर मानिसलाई केन्द्रमा राख्नका लागि पनि वरिपरिका वन्यजन्तु र वनस्पति संरक्षण गर्नुपर्ने हुन्छ। तसर्थ यहाँ को अगाडि र को पछाडि भन्ने नै होइन। अर्थात को पहिलो र को दोस्रो भन्ने प्रतिस्पर्धाको पनि होइन। सवाल त एकअर्काको परिपुरक हुने वा नहुने अर्थात एकअर्काको सहअस्तित्व स्वीकार गर्ने कि नगर्ने भन्ने नै हो। मानिसलाई दैनिकरूपमा बस्ने, खाने र लाउने वस्तु र सेवा तिनै वन्यजन्तु र वनस्पतिबाट आउने हो। वनस्पति र वन्यजन्तु नै नभए कहाँ बस्ने ? के खाने ? के लाउने ?  
(सहसचिव, वन तथा वातावरण मन्त्रालय)  

प्रकाशित: ९ जेष्ठ २०७७ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App