१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml १७:२१ अपराह्न
विचार

कांग्रेसमा गगन नै किन?

नेपाली कांग्रेसको महाधिवेशन विधानतः २०८२ मंसिरसम्ममा भईसक्नुपर्ने हो। यद्यपि यो मिति सार्न पार्टीको जिम्मेवार पदाधिकारीहरूबाटै प्रयत्न नभइरहेका होइनन्। महाधिवेशन जहिले भए पनि पार्टी सभापतिमा चुनाव लड्ने उद्घोषका साथ गगनकुमार थापा र डा. शेखर कोइरालाले चुनावी तयारीसमेत सुरु गरिसकेका छन्।

दुई पटक पार्टी सभापति भइसकेका शेरबहादुर देउवा पार्टीको विधानबमोजिम तेस्रो पटक सभापति हुन नपाउने भएकाले उनी चुनावको दौडमा त छैनन् तर पार्टीमा रहेको उनको पकडका कारण उनको समर्थन पाउने उम्मेदवार अरूभन्दा फाइदैमा रहने स्थिति भने छँदैछ। यद्यपि आफूले त्यस्तो समर्थन कसलाई दिने हुन्, त्यो कुराको संकेत अन्तिममा गएर मात्र दिने नीति उनको देखिन्छ।

गगन आजको समयका सर्वाधिक चर्चित र सक्रिय युवा नेता र पार्टीका निर्वाचित महामन्त्री हुन्। तेजतर्रार र गतिशील हुँदा पार्टीभित्र र बाहिर दुवैतिर उनको प्रशंसक र विरोधीको कमी छैन। सक्षम युवा नेता भनेर उनीबाट आशा भरोसा गर्नेदेखि जुनियर र भर्खरको भनेर रिस, खिसी र डाहा गर्ने नेता कार्यकर्ता कांग्रेसैभित्र पनि छन्।

केहीअघि मात्र पार्टी सभापति शेरबहादुर देउवाको नजिक र उनको (संस्थापन) पक्षकै भनेर चिनिएका ११ जना एक से एक पदाधिकारी सामूहिकरूपमा देउवालाई भेट्न गएका थिए। भेटको उद्देश्य पार्टीभित्र अप्ठ्यारो परेको बेलामा पनि शेरबहादुरलाई साथ दिएका आफूहरूलाई छाडेर गगनलाई उनले आफ्नो उत्तराधिकारी नबनाउन् भनेर दबाब दिनु थियो।

पार्टीभित्रबाटै यस्तो क्रियाकलाप हुने अवस्थामा कांग्रेस विरोधी समुदाय, खेमा र दलहरूको सधैँ निशानामा रहनु त गगनको नियति नै भईगो। कांग्रेसको नेतृत्व मण्डलीमा वृद्ध, अशक्त, कमजोर र अकर्मण्य मानिस आउन् र त्यो पार्टी अरू ओरालो लागोस् भन्ने चाहना कांग्रेस विरोधीको हुनु स्वाभाविक पनि हो।

यसकारण गगन

कांग्रेसको युगानुकूल परिवर्तन गर्ने हो भने अनि समयले ल्याएको ज्ञान, चेत, प्रविधिको प्रयोग गर्दै गराउँदै र समयले ल्याएको चुनौतीसँग जुध्दै पार्टीलाई बलियो बनाउने हो भने गगन नै सर्वाधिक उपयुक्त पात्र देखिन्छन्। किनकि अहिले कांग्रेसको अवस्था कस्तो छ भने एकातिर संगठन, विचार, नीति, कार्यक्रम, सदस्यता वितरण, कार्यकर्ता परिचालन जस्ता अनेकानेक पक्षमा ‘र्‍याडिकल’ सुधार र परिवर्तन गर्दै पार्टीलाई नयाँ जीवन दिन ढिला भइसकेको छ।

अर्कोतिर उमेरलगायतका विभिन्न कारणले ती कुनै पनि कुरामा, संस्थापन होस् कि इतर कुनै पनि पक्षको बूढो नेतृत्वले अब कुनै ठूलो सुधार गर्न सक्दै सक्दैन। प्रतिस्पर्धीसँग भिड्न सक्ने गरी पार्टीलाई चुस्तदुरुस्त बनाउन र नेता कार्यकर्ताका लागि युगानुकूलका प्रशिक्षण दिन पनि गगन र विश्वप्रकाश जस्ता बौद्धिक र ऊर्जावान युवा नेता नै चाहिन्छ। र, गगनको विकल्प हुन सक्ने विश्वप्रकाशले आफू सभापतिमा यो पाला नउठ्ने भनी गगनलाई समर्थन गर्ने संकेत दिइसकेका छन्।

ऊर्जा, मेहनत, जाँगर, भिजन, बौद्धिकता, गतिशीलता, संगठन कुशलता जस्ता गुणका अलावा गगनको प्रविधिमैत्री बेहोरा पनि छ। आफ्नो छुट्टै साइबर टिम कुशलतापूर्वक सञ्चालन गरेका उनले नौमहिना मात्र स्वास्थ्य मन्त्री हुँदा पनि पर्याप्त प्रशाकिीय सुझबुझ र व्यावसायिक क्षमता देखाएका थिए।

काठमाडाँैको शहरी क्षेत्र जस्तो ठाँउबाट तीनतीन पटक लगातार प्रतिनिधि सभा सदस्यमा चुनाव जितेका उनको संसद्भित्रको प्रस्तुति पनि अब्बल हुन्छ, चाहे त्यो विधेयक निर्माणको क्रममा होस्, चाहे जनसरोकारका अरू कुरामा। पार्टीका स्थानीय कमिटीहरूले कुनै कार्यक्रम गरे भने सभापतिपछि सबभन्दा बढी त्यसमा बोलाइने नेता उनी नै हुन्छन्। पार्टी पंक्तिभन्दा पनि अझ बाहिर आमसर्वसाधारण माझ उनी कांग्रेसका सबभन्दा लोकप्रिय नेता मानिन्छन्।

नवयुवाहरूमा त उनको क्रेज नै छ। कांग्रेस पार्टीको इतिहासमा पार्टीको शुभचिन्तकदेखि आममानिससम्मले बिपी कोइरालापछि सबभन्दा आशा गरेका नेता उनी नै हुन। यसरी उनी पार्टीको पुँजी हुन्। अरू कतिपय नेता जस्तो दायित्व होइनन्। संसद्देखि सडकसम्म सबतिरको पार्टीको ब्रान्ड र चेहरा हुनाले नै चुनावमा पार्टीको स्टार प्रचारक पनि उनैलाई बनाउने गरेको छ पार्टीले पनि।

मेरिटका नेता

‘क्यारिस्म्याटिक’, ‘आर्टिकुलेट’ र प्रखर वक्ता गगन कुनै नेता घरानाको कथित बिरासतबाट होइन कि आफ्नो योग्यताक आधारमा यहाँसम्म आइपुगेका अर्थात् निर्वाचित महामन्त्री बनेका नेता हुन्। त्यस कारण पनि अबको उनको गन्तव्य भनेको त्योभन्दा एक तहमाथि अर्थात् निर्वाचित सभापति नै हो। उनीमाथि पहिले सदाकालको प्रतिस्पर्धी नेकपा एमालेले र पछिल्लो समय आफूलाई नयाँ प्रतिस्पर्धी ठान्ने राष्ट्रिय स्वतन्त्र पार्टीले सडक, सदन, सञ्चार माध्यम र सामाजिक सञ्जाल सबैतिर उनलाई बदनाम गर्न चलाएको ‘प्रोपगान्डा वार’ र ‘स्मियर क्याम्पेन’ वास्तवमा कांग्रेसभित्र उनलाई सबभन्दा तगडा प्रतिपक्षी देखेर नै हो। किनकि प्रतिस्पर्धीको नेतृत्वमा आउने मान्छेलाई जति बदनाम गर्न सक्यो त्यति ऊ विवादित हुन्छ, जसको फाइदा आफूहरूलाई मिल्छ। बिपी बाँचुन्जेल पनि प्रतिस्पर्धी दल र काँग्रेस विरोधी समुदायले सबभन्दा बढी बवरोध बिपीकै गर्थे, अरू नेताको भन्दा  धेरै बढी।

हालसम्म गगन राजनीतिक, आर्थिक, सामाजिकदेखि व्यक्तिगतसम्म कुनै पनि विवादमा मुछिएका छैनन्। मुछिएका भए प्रतिस्पर्धी पार्टीका मानिस, नेता कार्यकर्ताले असत्य र अप्रमाणित कुराहरू निकालेर उनका विरुद्ध प्रोपगान्डा वार र स्मियर क्याम्पेन मात्र चलाएर अथवा कृत्रिम बौद्धिकता (एआइ) को प्रयोग गर्दै साइबर आक्रमण वा ट्रोल मात्र गरेर चित्र् बुझाउने थिएनन्। उनलाई उहिल्यै सकेसम्म जेलै हालिसक्थे। त्यो नसके पनि अदालत, त्यति पनि नसके अख्तियारमा बयान दिनसम्म भए पनि पुर्याइसकेका हुन्थे।

काम गर्ने नेतृत्व

सभापतिको आकांक्षीमा कोही सिनियर होला, उसलाई त्यसको अहं होला। जुन स्वाभाविक छ। तर कांग्रेसजनले कसैको अहं तुष्टि गर्न, व्यवस्थापन गर्न सभापति छान्ने होइन। जेल परेको र दुःख पाएको जतिलाई पुरस्कार र परिपूरण दिन सभापति छान्ने पनि होइन। तीन दशकअघिसम्म कांग्रेसमा त्यो ‘क्राइटेरिया’ थियो। अब देशको राजनीतिमै त्यो ‘क्राइटेरिया’ को म्याद समाप्त भईसक्यो।

आज जेल गएर ‘राजनीतिक करियर बनाएका’ नेता होइन, देश सम्हाल्न र हाँक्न सक्ने अनि पार्टीलाई पुरानै उचाइमा उकाल्न सक्ने सक्षम नेतृत्व कांग्रेसलाई चाहिएको छ। बाबु आमा, काकाको बिरासत धान्न ल्याइने नेताको अब कुनै उपयोगिता न देशलाई छ, न दललाई।

हालका सभापति को ठीक बेठिकभन्दा पनि जे काममा पनि लामो समयदेखि साथ दिएकालाई पुरस्कृत गर्न, अथवा सभापति को ठीक बेठीक जे कुराको पनि विरोध गरेबापत कसैलाई मौका दिन ल्याइने नेताले अबको कांग्रेस हाँक्न सक्दैन। देशको सबभन्दा ठूलो र पुरानो पार्टी, प्रजातन्त्र ल्याउन अकथनीय दुःख झेलेको, बलिदान दिएको पार्टी र राष्ट्र निर्माणमा योगदान दिएको पार्टी भएर पनि दिनानुदिन झन्–झन् कमजोर, अकर्मण्य, दिशाहीन र अल्छी हुँदै गएको पार्टी हो कांग्रेस। यसका सभापति छान्दा यसलाई २०४८ सालको चुनावपछिको स्थितिमा मात्र होइन कि सकेसम्म २०१५ सालको चुनावपछिको स्थितिमा पुर्‍याउने उद्देश्यले छान्ने हो भने कांग्रेसका महाअधिवेशन प्रतिनिधिले सक्षम र केवल सक्षमलाई नै छान्नुपर्छ।

हो, गगन पनि भोलि बिग्रन सक्छन्। असफल हुन सक्छन्। अक्षम सावित हुन सक्छन्। पहिले इमानदार रहेका तेजतर्रार नेताहरू नै तेजीका साथ भ्रष्ट, सत्तालोलुप, पदलोलुप र आदर्शच्युत भएका उदाहरण इतिहासमा अनगिन्ती छन्। उनी पनि हुन सक्छन्। अथवा उनले परिवारवाद चलाउन सक्छन्। जस्तो– अहिलेसम्मका केही सभापतिले चलाए। तर ती त शंका मात्र भए। भविष्यको गर्भका कुरा भए। उनले त्यसो गरेमा उनको विकल्प खोजिनुपर्छ, विरोध गरिनुपर्छ। कांग्रेसका नेता कार्यकर्ताले नेता छान्ने आजसम्मको कार्यसम्पादन र भोलिको संभावनाका आधारमा हो। त्यो मानकमा यदि गगनभन्दा उपयुक्त र उत्कृष्ट कोही छ भने उसैलाई सभापति छान्नुपर्छ। त्यस अवस्थामा स्वयं गगनले पनि पार्टी हितमा त्यस्तो उम्मेदवारलाई सघाउनुपर्छ, उनको नेतृत्वलाई स्वीकार्नुपर्छ। आफूलाई राजनीतिकरूपले जन्माउने र यहाँसम्म ल्याइपुर्‍याउने आफ्नो मातृपार्टीलाई एक ढिक्का बनाइ बचाउन र शक्तिशाली बनाउन गगनले पनि त्याग गर्नुपर्छ। उनले व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षाभन्दा माथि उठ्नुपर्छ। त्यसरी त्याग र सहयोग गरेनन् भने उनी पदलोलुप ठहरिनेछन्, देशका जनता र दलका पंक्ति दुवैका सामु।

तर अहिले उनीसँग सभापतिमा भिड्छु भन्नेहरू जो जति छन् तिनका लागि उनले मैदान छाड्नुचाहिँ कायरता हुनेछ। कुनै सम्झौता गरेर मैदान छाडेमा उनलाई कांग्रेसको सभापति बनेको देख्न चाहने कांग्रेसजन र सर्वसाधारणको ठूलो तप्काले आफूलाई गगनले धोका दिएको ठान्नेछ। जसबाट उनको राजनीतिक भविष्य अन्धकारमय हुनेछ। होइन र चुनाब लडे तर हारे भने पनि अर्कोचोटि उनी पक्कापक्की सभापति हुनेछन्। त्यतिबेला पनि उनको उमेर ढल्किसकेको हुने छैन।

अब गगनको विपक्षमा रहेका कांग्रेसजनका लागि म अकिञ्चनको एउटा सानो सुझाव– कांग्रेसलाई अर्को प्रजापरिषद् बन्नबाट जोगाइ पुनः २०१५–१६, त्यो नभए पनि २०४८ सालकै कांग्रेस बनाउने लक्ष्य राख्ने हो भने पनि सबै कांग्रेसीले अबचाहिँ कम से कम सिनियर, जुनियरको झगडा, ‘मेरा बाबुबाजेले घ्यु भात खाएका थिए’ मेरो हात सुँघ सुँघ भन्नेखालका ‘विरासतीय’ ग्रन्थी, आआफ्ना कुण्ठा, अहं, डाहा र व्यक्तिगत एवं गुटगत स्वार्थबाट माथि उठेर मात्र सभापति छान्नुपर्छ। कांग्रेसलाई विसर्जित र विघटित हुँदै जानबाट बचाउने हो भने उनीहरूका लागि अब अर्को विकल्प छैन।

प्रकाशित: २४ चैत्र २०८१ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App