९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

सर्वहाराका पिता चन्द्रवीर

पाटीपौवा, चोक, सडक, सालिक समाजमा अतुलनीय योगदान पुर्‍याएर स्वर्गारोहण भएका व्यक्तिको सम्झनामा उनकै नामबाट नामाकरण गर्ने सामान्य परम्परा छ । तर, जीवितै व्यक्तिका नाममा थियो त, स्वर्गीय राजा वीरेन्द्रको, कि छ चन्द्रवीर कामीको ।

चन्द्रवीर सामान्य व्यक्ति हुन् । आर्थिक रुपले उनी सबल र सक्षम छैनन् । उनी बस्ने टहराभित्र बिहान छाक पाकिसक्यो भने साँझलाई पकाउने अन्नपानी, तेलभुटन हुँदैन । उसोत: उनको घरको चुलोमा कयौं दिन आगो बलेन । कति दिन गाउँलेकोमा गएर खाए भने कुनै दिन भोकभोकै बस्नु पर्‍यो । तर, उनी आर्थिकरुपले पो विपन्न छन् त । उनले समाजमा पुर्‍याएको योगदान करोडपतिभन्दा कयौं गुणा माथि छ । गरिब परिवारमा हुर्केबढे पनि उनले समाज सेवाका लागि अद्भूत भूमिका निर्वाह गरेका छन् । अर्थात उनै गरिब चन्द्रवीरले विपन्न परिवारका लागि बाँकेका पाँच ठाउँमा बस्ती बसाए । अहिले ती बस्ती बजारका रुपमा परिणत हुँदैछन् ।

टपरिया, गिजरी, पितमारी, सुन्दर नगरी र बी बोरिङमा उनले बस्ती बसाए । यसमध्ये पितमारीमा गाउँलेले उनको नामबाट चोकै बनाएका छन् । उनले गरेको योगदानको कदर गर्दै गाउँलेले उनकै नामबाट चन्द्रवीर चोक नामाकरण गरेका छन् । यी बस्ती उनले २०५१ देखि २०५२ को बीचमा बसाए । पहाडका अति विपन्न नागरिकलाई यी बस्तीमा सारिएको थियो । सार्नुको एउटै कारण थियो, ‘पहाडमा सीप भए पनि काम नपाइने र तराइमा आएपछि काम पनि पाइने र खेतीपाति गरेर पनि गुजारा चलाउन सकिने ।’

त्यतिबेला ११ जना जमिनदारको जग्गा कब्जा गरिएको थियो । जाजरकोट, दैलेख, सल्यानलगायतका भूमिहीन तथा सुकुम्बासीलाई यी बस्तीहरूमा सारिएको थियो । त्यतिबेला चन्द्रवीरले तल्लो तहका नागरिकलाई बासको व्यवस्था गर्न ठूलो संघर्ष गर्नुपर्‍यो । बुवा गगनबहादुर र आमा आइती कामीको कान्छो सन्तानका रुपमा चन्द्रवीर जन्मिएका थिए । उनीभन्दा अगाडिका सात भाइबहिनीको बाल्यकाल र किशोरावस्थामा मृत्यु भइसकेको थियो । चन्द्रवीर मात्र जीवित सन्तान हुन् । जाजरकोटबाट बैजनाथ–६, लालपुर बसाइँसरि आएका उनीहरु पनि सार्वजनिक जग्गामै बसेका थिए । लालपुरमा २०२६ सालमा जग्गा खुलेपछि चन्द्रवीरका मामा गंगाराम लुहारले उनीहरूलाई यहाँ सारेका हुन् । त्यतिबेला चन्द्रवीर एक वर्षका थिए । जग्गा खुलेको भनेको, ‘कुनै सार्वजनिक जग्गा हडपेर नागरिक बसाइँसराइ गराउनु हो ।’

उनी १० वर्ष हुँदा आमा आइतीको मृत्यु भयो । बुवाले दोस्रो विवाह गरे । सौतेनी आमाको व्यवहारले कयौं  दिन पेटभरि खान पाएनन् । उमेर केही बढेपछि उनी २०३७ सालतिर भारत गए । रोजगारीमा लागे । त्यहाँ उनले सर्वहारा वर्गका लागि संघर्ष गर्ने प्रेरणा लिए । रोजगारीसँगै सर्वहारा वर्गका लागि संघर्ष गर्ने प्रशिक्षणपछि २०५० सालमा उनी नेपाल फर्किए ।

अनि उनी लागे सर्वहारा वर्गका लागि काम गर्न । सोहीअनुसार उनले पाँच ठाउँमा बस्ती बसाए । घरबारविहीनले जग्गा पाए । आफ्नै बलबुतामा घरहरू निर्माण गरे । उनीहरूलाई खेतीयोग्य जमिन मिल्यो भने, रोजगारी पनि पाइन थाल्यो । रोजगारी नपाइँदा बाँके भारतसँग सीमा जोडिएको हुँदा भारतीय सहर आउजाउ गर्न पनि सहज भयो । जे होस्, पहाडभन्दा तराई झरेपछि उनीहरूलाई दैनिकी चलाउन सहज भयो ।

अर्काे रोचक प्रसंग के छ भने सर्वहाराका लागि लड्दालड्दा उनीले आफ्नो विवाह बिर्सिए । उनी अविवाहित छन् । भन्छन्, ‘सधै उत्पीडनमा परेकाहरूका लागि काम गर्दागर्दा मैले विवाह गर्न नै भुलिदिएँ । अब त यो उमेरमा त्यस्तो सोच्ने कुरै भएन ।’ 

उनको जीवनशैली वास्तविक कम्युनिस्टको जस्तो छ । सामान्य पहिरन । गाउँलेले बनाइदिएको सार्वजनिक जग्गामा बनेको टहरामा बस्छन् । जहाँ कागजात राख्ने एउटा झोला र झोलाभित्र प्लास्टिकको ब्याग छ । त्यही ब्यागमा उनले आफ्ना महत्वपूर्ण कागजात राखेका छन् । त्यसबाहेक उनको घरभित्र बिहान खाना पाकेपछि साँझलाई पकाउने अन्नपानी र तेलभुटन हुँदैन । ‘मैले जीवनमा आफूलाई प्राथमिकतामा राखेन । जहिले पनि अरुका लागि काम गरे,’ उनी भन्छन्, ‘जस्तो प्रतिफल मेरो अवस्थाले देखाउँछ ।’ उनले जीवनमा गरेका कयौं काममा कुनै स्वार्थ भेटिँदैन । भेटिन्थ्यो भने, उनीसँग अहिले धनदौलत पर्याप्त हुन्थ्यो । तर अहिले उनीसँग सिंगो शरीर र उनीभित्रको समाजप्रतिको जिम्मेवारी र कर्तव्यसहितको नैतिकता छ । जसले उनीसँग साँझ बिहानको छाक नहुँदा पनि भोकै बस्नु परेको छैन ।

उनले बस्ती बसाउँदाका नागरिकले उनलाई भगवान् जस्तै ठान्छन् । जाजरकोटमा अजय बैगारका बुवाले सारंगी बजाएर दैनिकी निर्वाह गर्थ्याे । सारंगी रेट्नुबाहेक उनीसँगै अरु विकल्प पनि थिएन । जग्गाजमिन नहुँदा पनि उनको जीवनमा कठिनाइ थियो । ‘हाम्रो जीवनमा कयौं कठिनाइ थिए,’ अजय भन्छन्, ‘उहाँ (चन्द्रवीर) ले यहाँ ल्याउनु भयो र हामीलाई सजिलो भयो ।’ चन्द्रवीरले आफ्नो स्वार्थ नहेरी सर्वहारा भूमिहीनका लागि महत्वपूर्ण योगदान गरेको उनी बताउँछन् । भूमाफियाले कब्जा गर्न थालेको जग्गामा जबरजस्ती चन्द्रवीरले बस्ती बसाएको भन्दै उनले भने, ‘जग्गा पाउँदा नेपाली नागरिक भएको महसुस भएको थियो । अहिले खुसी छौं ।’

सफलता पनि त्यतिबेला स्वादिलो हुँदोरहेछ जब त्यसमा संघर्षको नून मिसिन्छ । नभए त सफलता पनि बिलिनो । विभिन्न चुनौती र संघर्ष गर्दै बस्ती बसाउन सफल भएपछि चन्द्रवीरलाई अहिले त्यही नुनसहित स्वादिलो महसुस भएको छ । इतिहास कसैले सजिलै प्राप्त गर्न कहाँ सक्छ र ? इतिहास लेख्न त चन्द्रवीरको जस्तो सहास र सक्रियता चाहिन्छ । जसले गर्विलो सफलतापछि इतिहास प्राप्त गर्न सक्छ ।

प्रकाशित: १२ वैशाख २०८२ १५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App