१५ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी डलरमा अब ट्रम्पको हस्ताक्षर: १६५ वर्ष पुरानो परम्परा तोडिने

अमेरिकी अर्थ मन्त्रालयले बिहीबार अमेरिकी डलरका नोटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर रहने जानकारी दिएको छ। संयुक्त राज्य अमेरिकाको स्थापनाको २५०औँ वार्षिकोत्सवका अवसरमा गर्न लागिएको यो परिवर्तनलाई मन्त्रालयले ऐतिहासिक कदम बताएको छ।

अमेरिकी मुद्रा (ग्रीनब्याक) मा हस्ताक्षर गर्ने ट्रम्प पहिलो बहालवाला राष्ट्रपति बन्नेछन्। उनको नाम ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टको नामसँगै छापिनेछ। यससँगै विगत १६५ वर्षदेखि डलरमा रहँदै आएको अमेरिकी कोषाध्यक्षको हस्ताक्षर भने अब हट्ने भएको छ। 

यस विषयमा ट्रेजरी सेक्रेटरी बेसेन्टले एक विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान देश र राष्ट्रपति डोनाल्ड जे. ट्रम्पका ऐतिहासिक उपलब्धिहरूलाई मान्यता दिन अमेरिकी डलरभन्दा शक्तिशाली माध्यम अरू हुन सक्दैन। यो ऐतिहासिक मुद्रा २५०औँ वर्षगाँठका अवसरमा जारी गर्नु उपयुक्त छ।’

डलरमा ट्रम्पको हस्ताक्षर थप्नुलाई उनले राष्ट्रिय संस्थाहरूमा आफ्नो व्यक्तिगत छाप छोड्ने प्रयासका रूपमा हेरिएको छ। यसअघि उनले आफ्नो अनुहार अंकित एक डलरको सिक्का र २४ क्यारेटको सुनको स्मारक सिक्का बनाउन जोड दिएका थिए। आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले महामारीका बेला अमेरिकीहरूलाई पठाइएका लाखौँ आर्थिक प्रोत्साहन चेकहरूमा आफ्नो हस्ताक्षर राखेका थिए।

सन् १९१४ देखि ट्रेजरी सचिव र कोषाध्यक्षले सँगै मुद्रामा हस्ताक्षर गर्ने परम्परा सुरु भएको थियो। आगामी जुन महिनादेखि ट्रम्पको हस्ताक्षर भएको पहिलो १०० डलरको नोट छापिनेछ।

ट्रम्पका कोषाध्यक्ष ब्रान्डन बीचले यस कदमको समर्थन गर्दै भनेका छन्, ‘अमेरिकाको स्वर्ण युगको आर्थिक पुनरुत्थानको वास्तुकारका रूपमा इतिहासमा राष्ट्रपतिको छाप निर्विवाद छ। अमेरिकी मुद्रामा उनको हस्ताक्षर छाप्नु उचित मात्र होइन, योग्य पनि छ।’

यद्यपि, यो कदमको विरोध पनि सुरु भएको छ। सिनेटर जीन शाहीनले यसलाई राष्ट्रपतिको ‘भ्यानिटी प्रोजेक्ट’ भन्दै आलोचना गरेकी छन्। उनले भनिन्, ‘पदमा रहँदा बिल, सिक्का र स्मारकहरूमा आफ्नो नाम टाँस्ने जिद्दीले देशको आदर्शकै अपमान गर्छ।’ एजेन्सी 

प्रकाशित: १४ चैत्र २०८२ १४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App