९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

गाईघाट-दिक्तेल सडक निर्माण ३ दशक बित्दा पनि अलपत्र

उदयपुर र खोटाङलाई जोड्ने गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको निर्माण ३ दशकअघि सुरु भए पनि कहिले पूरा हुन्छ, यकिन छैन। २०५१ मा सर्भेक्षण र २०५३ मा शिलान्यास भएको १०३ किलोमिटरको यो सडक २९ वर्ष बित्दा पनि अधुरै छ।  

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र यातायातमन्त्री अशोक राईको पालामा सुरु भएको यो लोकमार्ग कच्ची ट्र्याकमा यातायात चले पनि स्तरोन्नति र कालोपत्रे हुन सकेको छैन। 

३ वर्षमा कालोपत्रे गर्ने गरी ४ खण्डमा ठेक्का लागे पनि काम नभएपछि सम्झौता तोडिएको थियो। गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरले ३ ठेक्का तोडेकोमा २ खण्डमा नयाँ ठेक्का लागेर काम सुरु भएको छ। 

इन्जिनियर सुवास तिवारीका अनुसार खोटाङतर्फ फोक्सिन्टार–सीमपानी २६ किलोमिटर खण्डको ठेक्का दिपज्योति कन्स्ट्रक्सनले ४४ करोड २३ लाख ७० हजार ६८२ मा लिएको छ। यो काम ३ वर्षमा सक्नुपर्ने छ। यस्तै, सीमपानी–महुरे २२ किलोमिटर खण्डको ठेक्का रायमाझी कन्स्ट्रक्सनले ४२ करोड १३ लाख ७५ हजार ८१३ मा पाएको छ। यो पनि ३ वर्षमा सक्ने सम्झौता छ।  

उदयपुरतर्फ त्रियुगा बसपार्कदेखि गाईघाट मुख्यचोकसम्म ९४४ मिटर अस्फाल्ट कालोपत्रे गर्ने ठेक्का लागेको छ। मुख्यचोकदेखि बरुवा पुलसम्म गत वर्ष कालोपत्रे भइसकेकाले चालु वर्ष गाईघाट–साउने १६ किलोमिटरसम्म मर्मत र योजना कार्यालय भवन निर्माणको ठेक्का सतासी निर्माण सेवाले ८ करोड २३ लाख ३३ हजार १११ मा पाएको छ। यो काम असार २५ भित्र सक्नुपर्ने छ।  

तर, दियाले–फोक्सिन्टार ३२ किलोमिटर खण्डको ठेक्का समयमा काम नगरेपछि २०८० माघ २ मा तोडिएको छ। ३१ करोडको यो ठेक्का २०७३ भदौमा लिए पनि काम नभएपछि सम्झौता रद्द गरिएको हो। निर्माण कम्पनी कन्चनजङ्घा/गोल्डेन गुड जेभीले उच्च अदालतमा मुद्दा हालेपछि अन्तरिम आदेशले काम रोकिएको छ।  

खोटाङतर्फ २०७३ मा लागेको ४९ करोडको ठेक्का पनि काम नभएर २०७९ मा तोडिएको थियो। उच्च अदालतको अन्तिम फैसलाले योजना कार्यालयको निर्णयलाई मान्यता दिएपछि नयाँ ठेक्का लागेको योजना प्रमुख पशुपति ज्ञवालीले बताए।  

ज्ञवालीका अनुसार पुराना ठेकेदारले काम नगर्दा यो सडक ‘क्रोनिक’ बनेको छ। खोटाङतर्फ नयाँ ठेक्काबाट काम सुरु भए पनि उदयपुरतर्फको तोडिएको ठेक्काको अदालती फैसला नआउँदा काम सुचारु हुनेमा अन्योल छ।

प्रकाशित: १२ वैशाख २०८२ १६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App