सुदूरपश्चिमका नौ वटै जिल्लामा रेबिज विरुद्धको खोप अभाव भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समयमा उपलब्ध गराउन नसकेका कारण खोप अभाव भएको हो ।
धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले माग अनुसार खोप उपलब्ध हुन नसकेको जानकारी दिएको छ ।
केन्द्रका कोल्डचेन अफिसर ट्विङ्कल कुँवरले सुदूरपश्चिममा डेढ हप्तादेखि खोप अभाव रहेको बताइन् । उनले माग अनुसार उपलब्ध हुन नसकेका कारण समस्या भएको बताइन । ‘हामीले मन्त्रालयलाई माग फाराम भरेर पठाएका छौँ, मन्त्रालयले डेढ हप्ता अझै लाग्ने भनेको छ’ उनले भनिन् ‘यो समस्या अझै केही दिन लम्बिने देखिन्छ ।’
उनका अनुसार कैलाली र कञ्चनपुरका प्रादेशिक अस्पताल र विभिन्न स्वास्थ्य चौकीमा मासिक ४० हजार बढी डोज (भाइल) खोपको माग हुँदै आएको छ । उनले केही खोप खरिद गरेर काम चलाइएको बताइन ।
केन्द्रले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल र ९ वटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा खोप उपलब्ध गराउँदै आएको छ ।
खोपको अभाव हुँदा सर्वसाधारण बिरामीहरू निजी क्लिनिक तथा अस्पतालमा खोप लगाउन बाध्य भएका छन ।
टीकापुर अस्पतालका खोप प्रमुख मोहन सिंह साउदले एक हप्तादेखि खोप अभाव भएको बताए । उनले २०८२ को बैशाख ११ गतेसम्म मात्रै १३४ जना बिरामीले खोप लगाएका छन् ।
उनका अनुसार टीकापुर अस्पतालमा मात्रै दैनिक ३५ बढी रेबिजको खोप लगाउन बिरामीहरू आउने गरेका छन । ‘हामीले मासिक तीन शय भाइल माग्ने गरेका छौँ, यो आर्थिक वर्षको शुरुदेखि नै मासिक १३० भाइलसम्म मात्रै आपूर्तिले दिने गरेको छ’ उनले भने, ‘आपूर्ति नै नहुँदा बिरामीलाई समस्या परेको हो ।’
कुकुरले मानिसलाई टोकेका खण्डमा अनिवार्य रुपमा लगाउनु पर्ने रेबिज विरुद्धको खोप चरम अभाव भएपछि सर्वसाधारण बिरामीहरू उपचार नै नपाउने अवस्थामा पुगेका छन् ।
प्रकाशित: १२ वैशाख २०८२ १६:०३ शुक्रबार





