१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानमन्त्री र मन्त्रीले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताएका छन्। सरकार गठन भएको दश महिनासम्म सम्पत्ति सार्वजनिक नभएकोमा उनले आपत्ति जनाए।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव पुनले वर्तमान सरकारले जनताको निराशा र असन्तुष्टि हटाउन नसकेको आरोप लगाए। उनले सरकारले प्रतिपक्षी दलसँग प्रतिशोध साँध्ने काम गरेको बताए।

सांसद पुनले सरकार गठनका क्रममा भनिएको संविधान संशोधनको प्रक्रिया अगाडि नबढेको टिप्पणी गरे। उनले नेपाल भूकम्पको उच्च जोखिममा रहेको उल्लेख गर्दै सम्भावित विपत्तिको पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए। साथै, रुकुमपश्चिम, जाजरकोट र बझाङमा गत वर्ष गएको भूकम्पका पीडितलाई राहत र पुनर्निर्माणको कामलाई तीव्रता दिन आग्रह गरे।

भारतको जम्मु कश्मीरमा पर्यटकलाई लक्षित हिंसात्मक आक्रमणको पुनले भर्त्सना गरे। उनले सडकमा आन्दोलनरत शिक्षकको माग पूरा गर्ने विधेयक चाँडो पारित गर्न माग गरे। सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित सङ्घीय प्रहरी विधेयक र निजामती सेवा विधेयकसहित रोकिएका विधेयक पारित गर्नुपर्नेमा उनले जोड दिए। रासस

प्रकाशित: १२ वैशाख २०८२ १६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App