२० पुस २०८२ आइतबार
image/svg+xml
अपराध

स्रोत नखुलेको ६ लाखसहित विराटनगरका पेट्रोल पम्प सञ्चालक पक्राउ

विराटनगरमा स्रोत नखुलेको नेपाली ६ लाख रुपैयाँसहित एक जना पेट्रोल पम्प सञ्चालक पक्राउ परेका छन् ।  

विराटनगर महानगरपालिका–१५ स्थित रानी–विराटनगर सडक खण्डबाट आइतबार स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित विराटनगर– ६ का ४९ वर्षीय अरविन्द अग्रवाललाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार भारतबाट नेपाल आउँदै गरेको नेपाली नम्बरको कारमा स्रोत नखुलेको रुपैयाँ रहेको छ भन्ने विशेष सूचनाका आधारमा रोकी चेक गर्दा लुकाइछिपाइ रहेको अवस्थामा रुपैयाँ फेला परेको थियो ।  

भारत जोगबनीबाट नेपालतर्फ रानी हुँदै आउँदै गरेको प्रदेश नम्बर १–०४–००१ च ०१६४ नम्बरको सेतो रङको कार अग्रवाल आफैंले चलाएर ल्याएका थिए । प्रहरीले उनलाई रानीबाट पछ्याउँदै आउने क्रममा विराटनगर–१५ स्थित उनकै पेट्रोल पम्प सुनसरी ट्रेडिङ सेन्टर रोकिएको र ओर्लिएर हातमा कालो रङको प्लाष्टिकको पोका लिएर पम्पको अफिसभित्र भाग्न खोज्दा नियन्त्रणमा लिएको थियो । अग्रवालको साथबाट बरामद भएको रुपैयाँको स्रोतबारे सोधखोज गर्दा बताउन नसकेपछि रुपैयाँ, कारसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

स्रोत नखुलेको १ हजार दरका ४ सय थान (४ लाख), ५ सय दरका ३ सय ६० थान (१ लाख ८० हजार) र १ सय दरका २ सय थान (२० हजार) गरी जम्मा ६ लाख रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका अग्रवाल, उनले प्रयोग गरेको कार र बरामद रकम इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पक्राउ परेका अग्रवालको विराटनगर–९ को महेन्द्र चोकमा राधाकृष्ण ट्रेडिङ सेन्टर र विराटनगर–१५ मा सुनसरी ट्रेडिङ सेन्टर दुवै पेट्रोल पम्प उनले सञ्चालन गर्दै आएका छन् । 

प्रकाशित: १३ पुस २०८२ १८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App