९ भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको करको जवाफमा क्यानडाले लगायो २० अर्ब डलरका अमेरिकी सामानमा कर

अमेरिका र क्यानडाबिचको व्यापार युद्ध थप चर्किएको छ। क्यानडाले मंगलबार करिब २० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा प्रतिशोधात्मक कर लगाउने घोषणा गरेको छ।

स्टील, आल्मुनियम, फर्निचर, कपडा, दुग्धजन्य पदार्थ, उपकरण, समुद्री खाना र कृषि उपकरणसहित ७०० भन्दा बढी अमेरिकी उत्पादनमा नयाँ कर लगाइने भएको हो। क्यानडाले लगाएको नयाँ कर सेप्टेम्बर ८ देखि लागू हुनेछ। विभिन्न सामानमा १५ प्रतिशत, २५ प्रतिशत र ५० प्रतिशतसम्म कर लाग्नेछ। केही स्टील र आल्मुनियमका सामान, फर्निचर तथा कपडामा ५० प्रतिशत कर लाग्नेछ भने चीज, उपकरण, माछा तथा समुद्री खानालगायतका केही सामानमा २५ प्रतिशत कर लाग्नेछ। इलेक्ट्रोनिक्स र केही उपकरणमा १५ प्रतिशत कर लगाइनेछ।

क्यानडाका अर्थमन्त्री फ्रान्स्वा-फिलिप स्याम्पेनले क्यानडाले यो व्यापार युद्ध नचाहेको बताएका छन्। तर आर्थिक सम्बन्धलाई साझेदारीको आधार बनाउनुको सट्टा हतियारका रूपमा प्रयोग गरिएपछि क्यानडा आफ्नो पक्षमा उभिन बाध्य भएको बताए। क्यानडाको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सप्ताहन्तमा क्यानडाबाट आयात हुने करिब २० अर्ब डलरका सामानमा ५० प्रतिशत कर लगाएपछि आएको हो। दुई देशबिचको व्यापार वार्ता असफल भएपछि अमेरिकाले नयाँ कर लागू गरेको थियो। त्यसको जवाफमा क्यानडाले अमेरिकी सामानमा पनि कर बढाएको हो।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानडालाई आफ्नो अधीनमा राख्न खोजेको आरोप लगाएका छन्। असफल व्यापार वार्ताका क्रममा अमेरिकी पक्षबाट आएका मागले अटो, स्टील र आल्मुनियमजस्ता क्यानडाका प्रमुख उद्योगलाई कमजोर पार्ने उद्देश्य देखिएको कार्नीको दाबी छ। ‘वार्ताको टेबलमा क्यानडा संयुक्त राज्य अमेरिकाको सहायक कम्पनी हो भन्ने दृष्टिकोण हामी स्वीकार गर्दैनौं,’ कार्नीले भनेका छन्। कार्नीले अमेरिकी मागप्रति अझ कडा प्रतिक्रिया दिँदै अटो, स्टील र आल्मुनियमलगायत क्यानडाका प्रमुख उद्योगलाई नष्ट गर्ने उद्देश्य देखिएको बताएका छन्। ‘हामीले होइन भन्नुको मुख्य कारण यही थियो। त्यो खराब सम्झौता थियो,’ उनले भनेका छन्।

यसअघि ट्रम्पले क्यानडाली नेताहरूलाई ‘लाइनमा आउन’ चेतावनी दिँदै त्यसो नगरे विद्यमान करभन्दा पनि खराब परिणाम भोग्नुपर्ने बताएका थिए। उनले क्यानडाबाट आउने सवारीसाधन, अटो पार्टपुर्जा र स्टीलमा थप ५० प्रतिशत कर लगाउने धम्की पनि दिएका छन्। ट्रम्पले मंगलबार अर्को विवादास्पद अभिव्यक्ति दिँदै क्यानडाको ओन्टारियो प्रान्तसँगको विवादका बिच लेक ओन्टारियोलाई ‘लेक अमेरिका’ नाम दिने विषयमा अमेरिकाले गम्भीर रूपमा विचार गरिरहेको बताए। लेक ओन्टारियोको केही भाग अमेरिका र क्यानडाको सीमासँग जोडिएको छ।

नयाँ करका कारण प्रभावित हुने व्यवसाय र कामदारका लागि क्यानडाले ७.५ अर्ब क्यानेडियन डलर अर्थात् करिब ५.४ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज पनि घोषणा गरेको छ। यसमा साना तथा मझौला व्यवसायलाई सहयोग, कम्पनीको नगद प्रवाह व्यवस्थापन र नयाँ करका कारण जोखिममा पर्न सक्ने कामदारलाई सहयोग गर्ने कार्यक्रम समावेश छन्।

क्यानडाली अधिकारीहरूले नयाँ करको मुख्य उद्देश्य राजस्व बढाउनु नभई घरेलु कम्पनीलाई संरक्षण गर्नु र अमेरिकी सामानको आयात घटाउनु रहेको बताएका छन्। क्यानडाले यसअघि अमेरिकी स्टीलमा २५ प्रतिशत कर लगाएपछि त्यहाँबाट हुने स्टील आयात करिब ३० प्रतिशत घटेको अधिकारीहरूले बताएका छन्। अब कर ५० प्रतिशत पुर्‍याएपछि आयात अझ घट्ने उनीहरूको अपेक्षा छ।

क्यानडाले नयाँ करका कारण केही व्यवसाय र उपभोक्ताको लागत बढ्न सक्ने स्वीकार गरेको छ। तर समग्र अर्थतन्त्रमा पर्ने असर भने सीमित रहने अपेक्षा गरेको छ। अमेरिका र क्यानडाको अर्थतन्त्र एकअर्कासँग निकै जोडिएको छ। अटोमोबाइल, ऊर्जा, कृषि र उत्पादन क्षेत्रमा दुवै देशका आपूर्ति शृंखला गहिरोसँग जोडिएका छन्। त्यसैले लामो समयसम्म व्यापार युद्ध जारी रहे दुवै देशका व्यवसाय र कामदार प्रभावित हुन सक्ने देखिएको छ।

अमेरिकाको मिशिगन राज्यमा फर्निचर व्यवसाय चलाउँदै आएका माइकल हावर्ड द्वितीयले नयाँ करले आफ्नो व्यवसायमा असर पर्ने बताए। उनले आफू र श्रीमतीले एक दशकअघि सुरु गरेको व्यवसायमा भोजन टेबलदेखि बुककेसम्मका सामान उत्पादन तथा बिक्री गर्दै आएको बताएका छन्। ‘क्यानडा चाहिँदैन भन्नु बेइमानी हो। यो सत्य होइन। हामीलाई हाम्रो छिमेकी चाहिन्छ र उनीहरूलाई पनि हाम्रो आवश्यकता छ,’ हावर्डले भने।

यसैबिच, क्यानडाले अमेरिकी करको जवाफमा डलर बराबर डलरको आधारमा कर लगाउने नीतिबाट पछि हटेर भविष्यमा अझ लक्षित प्रतिशोधात्मक कदम चाल्न सक्ने संकेत पनि दिएको छ। कार्नीले यस्तो कदमको उद्देश्य क्यानडाली कामदार र व्यवसायलाई जोगाउनु हुने बताएका छन्। अमेरिका-क्यानडा व्यापार वार्ताका क्रममा फ्रान्सेली भाषासँग सम्बन्धित विषय पनि विवादमा आएको क्यानडाको दाबी छ। कार्नीका अनुसार अमेरिकी वार्ताकारहरूले स्ट्रिमिङ प्लेटफर्ममा फ्रान्सेली भाषाको सामग्री खोज्न सकिने व्यवस्था र फ्रान्सेली भाषाका लेबलसम्बन्धी नियमलाई व्यापारमा अवरोधका रूपमा उठाएका थिए।

कार्नीले यी व्यवस्था क्यानडाको अधिकार र संस्कृतिसँग जोडिएको भन्दै सम्झौताको विषय बनाउन अस्वीकार गरेका छन्। ‘फ्रान्सेली भाषा, क्युबेक संस्कृति, फ्रान्कोफोन संस्कृति र क्यानडाली संस्कृतिसम्बन्धी विषय यहाँ अधिकार हुन्,’ उनले भनेका छन्। ट्रम्पले भने सामाजिक सञ्जालमार्फत क्यानडाली नागरिकले फ्रान्सेली भाषा बोल्ने विषयमा आफूले कहिल्यै हस्तक्षेप गर्न नचाहेको बताएका छन्।

उनले कार्नीको दाबीलाई अस्वीकार गर्दै आफूलाई फ्रान्सेली क्यानडाली नागरिक मन पर्ने बताए। अमेरिका र क्यानडाबिचको पछिल्लो टकरावले दशकौंदेखि नजिक रहेको दुई देशको व्यापारिक सम्बन्धमा ठूलो तनाव सिर्जना गरेको छ। नयाँ करले दुवै देशका व्यवसाय र उपभोक्ताको लागत बढाउने जोखिम बढाएको छ भने आगामी दिनमा वार्ता पुनः सुरु हुन्छ वा व्यापार युद्ध थप चर्किन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ। एजेन्सी

प्रकाशित: ९ भाद्र २०८३ २२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App