गत हप्ता मात्र नेपाली अर्थतन्त्रमा केही उत्साहजनक समाचारहरू हेर्न पाउँदा म खुसी भएँ। गत वर्ष अक्टोबर १ तारिखबाट विभिन्न कारणले बन्द हेटौँडा सिमेन्ट प्लान्ट पुनः यही वर्ष अप्रिल १ तारिखबाट सञ्चालनमा आउने खबर, लिटमस इन्डस्ट्रिजले गत हप्ता नेपालमा पहिलो आल्मुनियम रड उत्पादन प्लान्ट उदघाटन कार्यक्रम सम्पन्न भएको छ।
त्यसैगरी लक्ष्मी ग्रुपले रूपन्देहीको रामग्राममा स्थापना गरेको गाडी एसेम्बली प्लान्टबाट नवीनतम क्रेटा मोडेलको गाडी उत्पादन गरेर बजारमा ल्याएको छ। ग्लोबल आइएमई ग्रुपले यही वर्ष मार्च महिनाको पहिलो हप्ता नेपालमा पहिलोपटक अत्याधुनिक कागज कारखाना स्थापना गरी उत्पादन सुरुवात गरेको खबर पनि निकै उत्साहजनक छ।
यी सबै उद्योग स्थापनाको समानता भनेको नेपालमा नै उत्पादन हुनु र नेपालको आयातलाई प्रतिस्थापन गर्न सक्ने क्षमतालाई विश्वसामु ‘मेड इन नेपाल’ प्रस्तुत गर्नु सबैभन्दा सकारात्मक पक्ष रहेको छ।
माथि उल्लिखित नेपालमा नै उत्पादन भएका वस्तुले आआफ्नो परिचय दिएका छन्। हेटौँडा सिमेन्ट उद्योगको सन्दर्भमा, नेपालमा निष्क्रिय भएको र सञ्चालन नभएका उद्योगले पुनः उत्पादन सुरु गरी आफ्नो क्षमता विस्तारका साथै उत्पादन निरन्तरताका लागि सरकारी नीति र प्रोत्साहनले सम्भव हुन्छ भन्ने उदाहरण पेस गरेको छ। लिटमस इन्डस्ट्रिजले आल्मुनियम रड उत्पादन प्लान्ट र आइएमइ ग्रुपको पेपर मिल उद्घाटनले घरेलु कच्चा पदार्थको उत्पादनमार्फत युनिट लागत कम हुने र सम्बन्धित वस्तु उत्पादन क्षमता बढाउने अपेक्षा गर्न सकिन्छ।
लक्ष्मी ग्रुपले सन् २०२४ मे महिनामा नेपालमा नै गाडी उत्पादनका लागि एसेम्बली प्लान्ट खोलेदेखि भेन्यु मोडेल मात्र उत्पादन गर्दै आएको थियो तर यही वर्ष क्रेटा मोडेल एसेम्बली लाइन थपिएसँगै यसको उत्पादन क्षमताले सार्थकता पाएको छ।
नेपालमा उत्पादन भएको गाडीप्रति जनमानसमा विश्वास बढ्दै जाँदा हुन्डाइ मोटर्स जस्ता विदेशी कम्पनीहरूसँग साझेदारीमा व्यवसाय गरिरहेका नेपाली उद्योगीलाई प्रविधि हस्तान्तरणमार्फत नेपालको उत्पादन क्षमता बढिरहेको छ र कालान्तरमा सबै किसिमका वस्तु उत्पादन नेपालमा सम्भव हुने देखाउँछ।
नेपाली अर्थतन्त्रमा उत्पादनको हिस्सा दिन÷प्रतिदिन खस्कँदै गएको देखाउँछ। विश्व बैंकको तथ्यांकअनुसार नेपालको अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् १९९० मा ५.७६ प्रतिशत, २००० मा ८.८४ प्रतिशत, २०१० मा ५.९५ प्रतिशत, २०२० मा ८.८४ प्रतिशत र २०२३ मा ४.५७ प्रतिशत छ।
संयुक्त राज्य अमेरिका, युरोपेली देश, एसियालगायत विकासशील देशलगायत समग्ररूपमा विश्वभर आफ्नै देशभित्र आफ्नै उत्पादनका लागि आवश्यक पूर्वाधार विस्तार गर्न निकै नै प्रयास गरिरहेका छन्। देशमा यथेष्ट उत्पादनका लागि पूर्वाधार स्थापना नगरिकन दिगो आर्थिक विकास सम्भव हुँदैन।
नेपाल सरकारले मेड इन नेपालमार्फत उत्पादनलाई प्रत्साहन गर्दै आर्थिक लाभहरू लिन प्रयत्न गर्नुपर्छ। सरकारले उत्पादनमूलक उद्योगहरूमा गुणस्तरीय रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापनमार्फत व्यापार सन्तुलनमा सुधार गर्ने र उत्पादन प्रविधि क्षमता अभिवृद्धि गर्नका खातिर अगाडि बढ्नु पर्छ।
माथि उल्लेख गरिएका व्यवसायीले नेपालमा नै उत्पादन गर्ने उद्योगहरूमा लगानी गरी जोखिम उठाउनुभन्दा तयारी सामान आयात गरेर बजारमा उपलव्ध हुने अवस्थाभन्दा व्यवसायीको मुनाफा सुरक्षित हुने देखिनुपर्छ। नेपालमा नै सामान उत्पादन गर्नु भनेको कम्पनीहरूले सजिलो बाटो रोज्नुको सट्टा जोखिम लिएर उद्यमशीलतामार्फत नेपालमै उत्पादनमूलक कम्पनी बन्ने यात्रा गरिरहेका छन्।
यस्तो जोखिम तथा साहसी निर्णय लिने नेपाली व्यवसाययीको खुलेर प्रशंसा गर्न चाहन्छु। नेपाल सरकारले यी जोखिम उठाएर व्यवसाय सञ्चालन थालनी गरेका उद्यमीहरूलाई सहज वातावरण निर्माण गर्नुपर्छ। उदाहरणका लागि कर, आर्थिक सुविधा, बजार व्यवस्थापन र आवश्यक दक्ष कामदारका लागि उपयुक्त सरकारी नितीले व्यवसाय सफलरूपमा अगाडि बढ्ने सम्भावना हुन्छ।
कोरियाको उदाहरण उल्लेख गर्नुपर्दा उत्पादनमूलक क्षेत्र विकासको प्रारम्भिक चरणहरू यसप्रकार छन्– सन् १९५३ मा कोरियाली युद्धपश्चात, सन् १९६० दशकको सुरुवातसम्म कोरियाको प्रतिव्यक्ति राष्ट्रिय आय लगभग १०० अमेरिकी डलर थियो। औद्योगिक विकासको सुरुवाती चरणमा कोरियाले कपडा, जुत्ता र नक्कली कपाल (विग) जस्ता ससाना उद्योग स्थापना गरी निर्माण व्यवसायको थालनी भयो।
आज विश्वव्यापीरूपमा परिचय बनाएको कम्पनी सामसङले पनि चिनी र सुती कपडा आयात गरी खुद्रा पसलका रूपमा सुरुवात गरेर सन् १९५० को दशकभित्र चिनी कारखाना र ऊनी धागो कारखाना स्थापना गर्यो। यिनै व्यवसाय र उत्पादनमूलक क्षेत्रको स्टार्टअपहरूका आधारमा कम्पनीले सन् १९६९ मा आफ्नै ब्ल्याक एन्ड ह्वाइट टेलेभिजन उत्पादन थालनी गर्ने हैसियतमा पुग्यो। कालान्तरमा हालको सामसङ इलेक्ट्रोनिक्स विश्वमाझ सफल उचाइ चुम्न सफल भयो।
हुन्डाइ मोटर कम्पनीको हकमा पनि विगतमा अमेरिकी अटोमोबाइल कम्पनी फोर्ड गाडीका विभिन्न मोडेलहरू एसेम्बल तथा उत्पादन गरी गाडी उत्पादन सुरुवात गरेको थियो। हुन्डाइ मोटर हाल फोर्डलाई उछिनेर विश्वव्यापी अटोमोबाइल कम्पनी बनेको छ। नेपालमा पनि यस्तै समान किसिमका कर्पोरेट उदाहरणहरू उल्लेख गर्न लायक छन्।
लक्ष्मी समूहले सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारमार्फत पुष्टकारी जस्ता नेपाली मिठाइ बेच्न सुरु गरेको थियो र सन् २००९ मा हुन्डाइ मोटर्ससँगको साझेदारीमा गाडी व्यवसाय गर्ने डिलरका रूपमा मिठाइ उद्योगमा आधारित आफ्नो व्यवसाय विस्तार भएको थियो। हाल लक्ष्मी ग्रुप हुन्डाइ अटोमोबाइलहरू आयात र बिक्रीमा मात्र सीमित नभै नेपालमा नै गाडी उत्पादन गर्ने सपना साकार पार्दैछ।
हुन्डाइ कम्पनीसँगको सहकार्यमा यो समूहले गत वर्ष सन् २०२४ मेमा नवलपरासी जिल्लाको रामग्राममा गाडी एसेम्बली प्लान्ट स्थापना गरी उत्पादन थालनी गरी नेपालमा नै निर्माण भएका गाडी बजारमा ल्याएको छ। मलाई विश्वास छ, विगतको हुन्डाइ मोटरले हांसिल गरेको सफलता लक्ष्मी ग्रुपले पनि आफ्नै नेपाली ब्रान्डअन्तर्गत कारहरू उत्पादन गर्नेछ र नेपाली उपभोक्ताहरूलाई राष्ट्रिय गौरवका साथ सुपथ मूल्यमा गाडी चलाउने दिन नजिकिँदैछ।
मैले गत वर्ष मेमा रामग्राममा रहेको लक्ष्मी हुन्डाइको एसेम्बली प्लान्टको भ्रमण गर्ने अवसरमा लक्ष्मी ग्रुपको व्यावसायिक क्षमता तथा उत्पादित वस्तुको गुणस्तरका लागि देखाएको दृढ विश्वासले नेपालको सम्भावनालाई प्रमाणित गरेको छ।
उत्पादनमूलक व्यवसायका लागि पुँजी कोष, दक्ष कामदार, कर, प्रविधि र बजार व्यवस्थापन लगायत सबै क्षेत्रमा पहुँच हुँदा उत्पादनमूलक व्यवसायहरू सफल हुने सम्भावना बढी रहन्छ। उत्पादनमूलक व्यवसाय सुरु गर्न पूर्वाधार खडा गर्नका लागि प्रारम्भिक चरणमा ठूलो लगानी आवश्यक पर्छ।
वित्तीय क्षेत्रमार्फत वित्तीय व्यवस्थापनका लागि सहज प्रावधान सुनिश्चित गर्न सरकारले नीतिगत सहयोग प्रदान गर्नुपर्छ। उत्पादन थालनी गर्नका लागि दक्ष कामदारहरू आवश्यक पर्छ। आधारभूत तालिम पूरा गरेका दक्ष कामदारलाई तालिम तथा आपूर्तिमा सरकारले आफ्नो भूमिका सुदृढ गर्दै लानुपर्छ।
उदाहरणका लागि, लक्ष्मी ग्रुपको हुन्डाइ मोटर एसेम्बली प्लान्टले कोरिया सरकार कोइकाको सहयोगमा स्थापित बुटवल व्यावसायिक तालिम संस्थानबाट आवश्यक दक्ष जनशक्ति प्राप्त गरिरहेको छ।
नेपालमा उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्नका लागि सामान उत्पादन प्रक्रियामा आवश्यक पर्ने कच्चा पदार्थ र पाटपुर्जाहरूमा लाग्ने भन्सार कर उल्लेख्य रूपमा घटाउनु आवश्यक देखिन्छ। आयातित तयारी सामान र घरेलु उत्पादनमा प्रयोग हुने पाटपुर्जाको भन्सार शुल्कमा जति धेरै भिन्नता हुन्छ आन्तरिक उत्पादनका लागि यसले महत्त्वपूर्ण योगदान पुग्नेछ। त्यसैले मेड इन नेपाललाई प्रोत्साहन गर्ने नीति भएमा धेरै व्यवसायीले आन्तरिक उत्पादन रोज्ने सम्भावना बढेर जान्छ। सुरुवाती चरणमा बजारमा स्वीकार्य बनाउनका लागि स्वदेशमा उत्पादित उत्पादनहरू मूल्यमा प्रतिस्पर्धी हुनुपर्छ।
कोरियाको सन्दर्भमा, उत्पादनका लागि आवश्यक कच्चा पदार्थको भन्सार शुल्क छूट गरी आयात अनुमति दिएको छ। त्यसैले स्वदेशमा उत्पादित उत्पादनहरूले बजारमा प्रतिस्पर्धात्मकता कायम राख्न सक्षम भएका छन्। प्रविधि भन्नाले बौद्धिक सम्पत्ति र ज्ञान हो जुन छोटो समयमा प्राप्त गर्न गाह्रो हुन्छ।
उन्नत गुणस्तरका सामान उत्पादन प्रविधिहरू हस्तान्तरण गर्नका लागि उत्पादनमूलक क्षेत्रमा स्टार्टअपहरूको प्रारम्भिक चरणमा एफडिआई आकर्षित गर्नाले नेपालको उत्पादन आधार विस्तार गर्न योगदान पु¥याउनेछ। नेपाल सरकार र सार्वजनिक संस्थाहरूलाई स्वदेशमा उत्पादित उत्पादनहरू प्राथमिकताका आधारमा वा निश्चित प्रतिशतमा खरिद गर्न कानुन बनाउने वा प्रोत्साहन गर्ने कुरामा पनि ध्यान दिनुपर्छ।
कोरियाका विश्वव्यापी कम्पनी र साना तथा मझौला उद्योगहरूले नेपालमा लगानी गरेर मेड इन नेपालमा योगदान गरिरहेका छन्। हाल कोरियाले नेपालमा इलेक्ट्रोनिक्स, अटोमोबाइल, निर्माण सामग्री, नक्कली कपाल (विग) आदि उत्पादन उद्योग खडा गरेर सञ्चालन गरिरहेका छन्। यसैबिच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा कामको अनुभव गरेर नेपाल फर्किएका कामदारहरूले कोरियाली उत्पादन स्थलहरूमा आफ्नो कार्य अनुभव र आर्जन गरेको सिपका आधारमा उत्पादनमूलक उद्योगमा आफ्नै व्यवसाय सुरु गरिरहेका छन्।
कोरियाबाट स्वदेश फर्किएका व्यक्तिहरूले हासिल गरेका उत्पादनमूलक क्षेत्रको अनुभव र प्राविधिक ज्ञान कोरियामा उनीहरूले आर्जन गरेको पुँजीभन्दा नेपाली अर्थतन्त्रका लागि बढी मूल्यवान सम्पत्ति हुन सक्छन्।
यी सम्पत्तिका आधारमा कोरियामा काम गरी फर्केका व्यक्तिहरूले कपडा, जुत्ता, चप्पल, पानीका बोटल जार, पाइप, प्लग, फलामका सामान, प्यानल, बिस्कुट, कापी कलम, चाउचाउ, कार्टुन बक्स, साबुन, निर्माण सामग्री जस्ता उत्पादन व्यवसाय थालनी गरेका छन्।
नेपालमा उदाहरणीयरूपमा उदाएका यिनै उत्पादनमूलक क्षेत्रका व्यवसायमार्फत कम्तीमा १५ जनादेखि बढीमा १५० जनासम्म आन्तरिक कर्मचारीलाई रोजगार दिएको अवस्था छ।
नेपाल सरकारले मेड इन नेपालका लागि विभिन्न सहज नीति कार्यान्वयन गर्दै आएको छ। नेपाली उत्पादकहरूले अझ साहसिक र ठोस प्रोत्साहनको आशा गरिरहेका छन्। मैले यही मार्च २४ तारिख सोमबारका दिन दक्षिण एसियाली मुलुकमध्ये नेपाल उत्पादनमूलक क्षेत्रको शक्ति केन्द्र बन्ने सम्भावना प्रत्यक्षरूपमा अनुभव गरेँ।
लक्ष्मी ग्रुपको नयाँ कार लन्चिङ कार्यक्रममा अतिथिका रूपमा उपस्थित भई नेपालमा उत्पादन भएको हुन्डाइ क्रेटा चलाएको थिएँ जुन नेपालमा एसेम्बल गरिएको नयाँ मोडेलको कार थियो र नेपालको उत्पादन क्षमता कोरियाको बराबर छ भनेर पुष्टि गरेँ। मलाई विश्वास छ, नेपाली व्यवसायी र नेपाल सरकार हातेमालो गर्दै अगाडि बढ्नेछन् र मेड इन नेपालमार्फत उत्पादन र आर्थिक वृद्धिलाई बढावा दिन सकिन्छ।
त्यसैगरी सुरुवाती चरणमा उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीको वातावरणमा निरन्तर सुधार हुँदै जाओस् भन्ने चाहन्छु। आगामी दिनमा मेड इन नेपाल लेखिएका धेरै सामग्रीहरू नेपालको आन्तरिक बजारमा मात्र नभई विश्वभरका धेरै उपभोक्ताले रोज्नेछन् भन्ने मेरो पूर्ण विश्वास छ।
– थेयङ नेपालका लागि गणतन्त्र कोरियाली राजदूत हुन्।
प्रकाशित: १९ चैत्र २०८१ ०९:४७ मंगलबार