नेपाली कांग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराईलाई राजनीतिमा एक इमानदार र नेपाली माटोलाई अत्यन्त श्रद्धा गर्ने नेताका रूपमा सबैले सम्मान गर्ने गर्छन्। आजीवन अविवाहित तर आफू कुमार होइन भनी विनोदप्रिय भाषा प्रयोग गर्ने उनलाई नेपाली जनताले आदरका साथ किसुनजी भनेर सम्बोधन गर्थे। उनै किसुनजीको १५ औं पुण्यतिथि परेको छ यो साता।
२०६७ फागुन २० गते राति थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा राजनेता किसुनजीको निधन भएको थियो। निधनभन्दा दुई दिनअघि सुशील कोइराला, योगप्रसाद उपाध्याय, विमलेन्द्र निधि, ओमकार श्रेष्ठ, केशरकुमार बुढाथोकी, अर्जुन खड्का, चित्रलेखा यादव, मीना पाण्डेलगायतका काङ्ग्रेस नेतागणले अस्पताल हाताभित्र रहेको देवमन्दिरमा उहाँको दीर्घ जीवनको कामना गर्दै प्रार्थनासभा गरेका थिए।
वातावरण अत्यन्तै कारुणिक थियो। कोही कसैसँग बोल्ने पक्षमा थिएनन्। किसुनजीप्रतिको त्यस्तो आदरभाव मृत्युको मुखैमा रहँदा पनि गरिनुको अर्थ उहाँ राजनीतिमा स्वच्छ छवि, कपटरहित र राष्ट्रभक्त नेताका रूपमा जन–जनमा स्वीकार्य भएर नै हो।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनको ठिक एक वर्षपछि उहाँको निधन हुनुले कांग्रेसमा अभिभावकको अभाव खड्किएको थियो। राष्ट्रिय राजनीतिमा पनि रिक्तताको आभास थियो। काल आएपछि देवमन्दिरमा कर जोडेर केही हुँदो रहेनछ। अस्पताल बाहिरपट्टि सयौं राजनीतिकर्मी, स्वतन्त्र बुद्धिजीवी, पत्रकार, लेखक, राष्ट्रसेवक कर्मचारी, कलाकार, स्वयम् चिकित्सक र नेपालस्थित कूटनीतिक नियोग प्रमुखहरू पनि उहाँको स्वास्थ्यलाभको कामना गरिरहेका थिए। तर कसैको केही सिप लागेन, ती हजारौँ शुभेच्छुक मनहरूको किसुनजीप्रतिको हार्दिकता। आखिर राति ११ः०० बजे ८६ वर्षको उमेरमा राजनेताको दुःखद निधन भयो।
यो निधनको खबर तीव्रगतिमा स्वदेश तथा विदेशमा फैलियो। उहाँको पार्थिव शरीर उहाँकै नाममा निर्मित ललितपुरस्थित बाँडेगाउँ आश्रममा लगियो। स्वदेश तथा विदेशका हजारौं शुभेच्छुकले दुई दिनसम्म पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरे।
फागुन २२ गते उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा वैदिक विधिसाथ राजकीय सम्मानसहित दाहसंस्कार गरियो। देशका सबै जिल्ला सदरमुकाममा किसुनजीको अस्तु पु¥याइयो। जिल्लाका पवित्र नदी तथा जलाशयमा पनि अन्तिम संस्कार गरियो। कांग्रेस पार्टीले डोटी जिल्लाका लागि पंक्तिकारलाई पठायो।
श्रद्घाञ्जली सभा दीपायलमा पार्टी कार्यालयमा गरेर अस्तु हिमनदी सेतीमा बगाउँदा किसुनजीका सच्चा अनुयायी पूर्वमन्त्री सिद्धराज ओझा र डोटी कांग्रेस नेता भरत खड्का भक्कानिएर रुनुभयो। सेती नदीकिनारमा उपस्थित लोकतन्त्रप्रेमी हजारौँका आखाँमा आँसु छचल्किरहेका देखिन्थे। केवल सुदूरपश्चिम क्षेत्रमात्र नभएर पूरै देश शोकमा डुबेको थियो त्यतिखेर। जसरी प्रथम जननिर्वाचित प्रम बिपी कोइराला २०३९ सालमा, २०४६ सालका सर्वोच्च कमान्डर गणेशमान सिंह २०५४ सालमा र दासढुंगा दुर्घटनामा निधन हुनुभएका एमालेका महासचिव मदन भण्डारीको २०५० सालमा पूरै देश शोकमग्न भएको थियो।
किसुनजीको पूरा जिन्दगी राजनीतिक र आध्यात्मिक चिन्तनमा बितेको पाइन्छ। १९८१ पुस ८ गते वनारसमा जन्मेका उहाँ युवा अवस्थामा सन् १९४२ मा भारतीय स्वतन्त्रता संग्राममा भागलिएर कारागारमा थुनिनुभयो। वनारसस्थित भारतीय हिन्दु विश्वविद्यालयमा राजनीतिशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गर्नुभयो तर स्नाकोत्तर तह उत्तीर्ण गर्न राजनीतिका कारण भ्याउनुभएन। सन् १९४५ मा हिन्दु विश्वविद्यालयमा नेपाल छात्रसंघ नामक संगठनको उहाँ उपाध्यक्ष बनेर नेपाली विद्यार्थीलाई नेपालमा राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाउनका लागि नेतृत्व गर्नुभएको थियो।
२००३ सालमा भारतको कोलकत्तामा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेस पार्टीको गठनपश्चात् संगठनमन्त्रीको पद सम्हाल्नुभयो। किसुनजी, देशमा प्रजातन्त्र आगमनपश्चात् बिपी कोइराला र सुवर्णशमशेरको सल्लाह मुताविक २००८ सालमा सल्लाहकारसभा अध्यक्ष बन्नुभएको थियो।
२०१५ सालको प्रथम संसदीय प्रणालीअन्तर्गतको चुनावमा गोरखाबाट काङ्ग्रेसको उम्मेदवार भएर उहाँ पराजित हुनुभयो। २०१६ सालमा प्रथम जननिर्वाचित प्रम बिपी कोेइरालाको मन्त्रिमण्डल बन्यो। उहाँ भने प्रथम सभामुखको भूमिकामा रहनुभयो। तत्कालीन राजा महेन्द्रले प्रम बिपी कोइरालाको सरकारलाई अपदस्थ गरी एकदलीय पञ्चायत लागु गरेपछि शीर्षस्थ सबैनेता कारागारमा थुनिनुभयो।
प्रजातन्त्र पुनर्बहालीका लागि २०१६ देखि २०४६ सालसम्म पटक–पटक गरी ललितपुरस्थित नक्खुलगायत विभिन्न कारागारमा १४ वर्षसम्म थुनिनुभयो। काठमाडौंको चाक्सीबारीस्थित लौहपुरुष गणेशमान सिंहको निवासमा पञ्चायतविरुद्ध अन्तिम लडाइँ लड्दा २०४५ फागुनमा राजाबारे किसुनजीले ‘राजा ! नेपाली युवाहरूलाई कमजोर नठान, पञ्चहरूले सरकारको रक्षा गर्ने छैनन्। यी तरुण युवा जमातले राजसंस्थालाई चीरकालसम्म बचाइराख्नेछन् तर राजा स्वयम्ले आफ्नो भुल स्वीकार्नुपर्यो’ भनी सम्बोधन गरेको दस्ताबेज ऐतिहासिक थियो। हुन पनि किसुनजीकै हातबाट त्रिपुरेश्वरमा नेपाल तरुणदल गठन भएको थियो भने २०२७ वैशाख ६ गते कांग्रेसको भगिनी संस्था नेपाल विद्यार्थी संघ स्थापना भयो।
बिपी कोइरालालाई राजनीतिका आदर्श गुरु मान्ने किसुनजी २०४६ सालका सर्वोच्च कमान्डर गणेशमानको सिफारिसमा तत्कालीन राजा वीरेन्द्रबाट अन्तरिम कालको प्रधानमन्त्री बन्नुभयो। भट्टराईले २०४७ सालमा संविधान जारी गरी २०४८ सालमा आमनिर्वाचन शान्तिपूर्णतवरले सम्पन्न गराउनुभयो।
यसबारे पत्रकारको एउटा प्रश्नको जवाफमा संविधानविद् दमननाथ ढुंगानाले भन्नुभएको थियो– यदि किसुनजीबाहेक दोस्रो व्यक्ति प्रधानमन्त्री भएको भए २०४७ को संविधान र २०४८ को निर्वाचन दुवै अपूरो नै हुने थियो।
हुन पनि किसुनजीमा कूटनीतिक चातुर्य, विनोदप्रिय बोली, अत्यन्तै जटिल विषयवस्तुलाई पनि सरल तरिकाले सम्पन्न गर्ने शैली, उच्चतम मानवीय गुण र भगवानप्रतिको अटुट आस्था थियो। दया, करुणा र लोकतन्त्रप्रतिको अगाध आस्थाका कारण किसुनजी राजनेताका रूपमा स्थापित हुनुभयो।
आफू प्रम रहँदा काठमाडौँको संसदीय चुनाव २०४८ मा उहाँ मदन भण्डारीसँग झिनो मतले पराजित हुनुभयो। मतपरिणाम स्विकार्दै प्रधानमन्त्री निवास बालुवाटारबाट छाता र सानो बाकस आफैँले बोकेर बाहिरिनुभयो। ललितपुरको कुपण्डोलस्थित भान्जाको घरमा भेट्न पुगेका सयौँ शुभेच्छुकलाई हाँसीहाँसी चुनावमा हार/जित भइरहन्छ, दुःख कसैले मान्नु हुँदैन भन्नुभयो। त्यसपटक ११४ सिटमा विजयी काङ्ग्रेसमा सन्तनेता नअटाउनु अरूको दोष नभएर स्वयम् कांग्रेसीजनको गम्भीर भुल थियो।
यसैगरी उपनिर्वाचन २०५१ मा पुनः काठमाडौँ एकबाट प्रत्यासी बन्दा विद्यादेवी भण्डारीसँग पनि थोरै मतान्तरले पराजित बन्नुभयो। अरू जनताले मत खसाले पनि केही कांग्रेसी मतदाताले ‘माथिको आदेश’ मान्दै जानीजानी किसुनजीका पक्षमा मत नदिनु देशमा दुर्गति निम्त्याउनुबाहेक अरू विषय थिएन।
काठमाडौँको उत्तरपूर्वी क्षेत्र नाङ्ग्लेभारे, गागलफेदीलगायतका बस्तीमा कांग्रेसभित्रकै केही नेता र समूहको ‘भट्टराई हराऔं’ भन्ने ताण्डव नृत्य प्रस्टै देखिएको थियो। दुई पटक काठमाडौंको संसदीय निर्वाचनमा पराजित भएपछि सन्तनेता भट्टराईले हाँस्दै भन्नुभएको थियो– कांग्रेसले कांग्रेसलाई नै हराउँछ, यो नौलो कुरा होइन तर मेरो भाग्यले एकपटक जिताउनेछ। हुन पनि २०५६ सालको आमनिर्वाचनमा भट्टराईले पर्सा जिल्लाबाट उम्मेदवारी दिनुभयो र भारी मतले विजयी हुनुभयो। त्यसबेला तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले चुनावी दौडाहामा भावी प्रम कृष्णप्रसाद भट्टराई भन्दै कांग्रेसका पक्षमा मत माग्दै देशव्यापी भ्रमण गर्नुभयो। त्यो कुरालाई मनन गर्दै किसुनजी बेलाबेलामा हाँस्ने गर्नुहुन्थ्यो।
हो, गिरिजाबाबुले भने जस्तै सन्तनेता भट्टराई २०५६ सालको चुनावपछि प्रधानमन्त्री बन्नुभयो। काठमाडौँवासीलाई काकाकुल बन्न नदिन मेलम्ची खानेपानीको अवधारणा ल्याउनुभयो। देशभरका जिल्ला सदरमुकाममा सडक सञ्जाल र अस्पताल निर्माणको योजना ल्याउनुभयो। युवाहरूलाई देशमा नै काम दिलाउन र गरिब किसानलाई राहत दिन युवा र गरिब किसानसँग विश्वेश्वर नामक कार्यक्रम ल्याउनुभयो।
अन्तर्राष्ट्रिय स्तरमा नेपालको कूटनीतिक सफलतातिर उन्मुख गराउँदै हुनुहुन्थ्यो, त्यही बेला कांग्रेसमा शीतयुद्ध सुरु भयो। सभापति कोइरालाले देशमा कांग्रेस सरकारको अनुभूति नभएको र मूर्दा शान्ति मात्र छाएको भन्नुभयो। जुन भनाइहरू प्रजातन्त्रका लागि अपाच्य र इमानदार नेताविरुद्ध कटु शब्द मात्र थिए। सन्त नेता कृष्णप्रसाद भट्टराईलाई यी बोलीले पोल्यो होला सायद।
वर्ष दिन नपुग्दै उहाँले जनताका नाममा भीम मल्ल, भीमसेन थापाकी पत्नीको उदाहरण दिँदै निकै भावुकतापूर्वक संसद्को दुवै सदन सिंहदरबार ग्यालरी बैठकमा १८ मिनेट लामो सात पृष्ठको लिखित सम्बोधन गर्नुभयो र प्रम पदबाट राजीनामा दिनुभयो। एकातिर विद्रोही नेकपा माओवादीको सशस्त्र युद्ध चलिरहेको थियो। अर्कोतिर छिमेकी भारत भट्टराईको प्रधानमन्त्रित्वलाई शंकित ढंगले हेरिरहेको थियो। बडो अनौठो थियो र छ नेपालको राजनीति।
संयुक्त राष्ट्र संघको महासभामा भागलिन पुग्नुभएका प्रम भट्टराईको सम्बोधन आफैंमा गरिमामय रहेको धेरै देशका प्रतिनिधिले बताएका थिए। बिबिसीले यसबारे संक्षिप्त अन्तर्वार्ता लिएको थियो। अन्तर्वार्ताका क्रममा भट्टराईले देश सानो र ठुलो हुनुमा अर्थ राख्दैन, स्वतन्त्र राष्ट्र हुन र लोकतन्त्रमा विश्वास लिनुमा अर्थ राख्छ भन्नुभएको थियो। त्यहाँबाट आफूसँग बचेको २५० अमेरिकी डलर उहाँले राज्यकोषमा जम्मा गर्नुभएको थियो।
यसैगरी भारत भ्रमणमा जाँदा त्यहाँका पत्रकारले भारतबाट हतियार खरिद नगरेर किन अन्तबाट गरेको भनेर प्रश्न सोधेका थिए। जवाफमा प्रम भट्टराईले नेपालले जहाँ सस्तो र राम्रो पाउँछ, त्यहींको सामान खरिद गर्छ, बेल्जियममा निर्मित हतियार नेपाल सरकारले त्यही कारण खरीद गरेको हो भनी हाँसीहाँसी चोटिलो जवाफ दिनुभएको थियो। किसुनजी बौद्धिक, चनाखो, निर्भिक र निडर नेता भएका कारण विदेशका र स्वदेशका बौद्धिक स्तरका पत्रकारहरू उहाँसँग प्रश्न गर्न रुचाउँये।
२०३४ देखि पार्टीको कार्यबाहक सभापति हुँदै २०४८ सालमा कांग्रेसको आठौं महाधिवेशनमा पनि सर्वसम्मत सभापति चुनिएपछि २०५३ सालसम्म सो पदमा रही पार्टीलाई गतिशील बनाउनुभएको थियो। उहाँसँगका केही रोचक पक्ष जोसुकैलाई पनि घत लाग्न सक्छ। २०४७ सालमा दशरथ रंगशालामा कांग्रेस पार्टीको भेला आयोजना गरिएको थियो। जिल्लाका सभापतिहरूले आफूले पनि बोल्न पाउनुपर्ने आवाज उठाएपछि सबैले बोल्न पाउनुहुन्छ, धैर्य गर्नुहोला भन्नुभयो। कांग्रेसले सम्बोधन गर्ने शब्द ‘जय नेपाल’ भन्दै अलि ठुलो स्वरमा सुनाउनुभयो र सबैलाई सोही वाक्य भन्न लगाउनुभयो। उपस्थित सबैले ‘जय नेपाल’ भने। यसरी ‘तपाईंहरू सबैले बोल्न पाउनुभयो धन्यवाद’ भन्दै गर्दा हजारौं उपस्थित वर्गमा हाँसोको फोहोरा छुट्यो।
त्यति मात्र होइन, ‘८४ वर्ष पुग्नुभयो, अब ८४ पूजा गर्नुपर्छ किसुनजी’ भनी केही कार्यकर्ताले जिज्ञासा राख्दा ‘हेर बाबु हो, म एक सय ६८ महिना अर्थात् १४ वर्षसम्म जेल बसेकाले मेरो ८४ पूजा भएको छ’ भन्नुभएको पनि स्मरणीय छ। श्रीमद्भागवत्गीताका १८ अध्याय संस्कृतका सबै श्लोक कण्ठस्त पारेका किसुनजी गीताले बताएको ज्ञान लागु गर्न सकेमा मानिस सुखी हुन्छ भन्नुहुन्थ्यो।
कर्मयोग, ज्ञानयोग र संन्यासी हुन सके जीवनमा पाप, लोभ र मोहले प्रवेश पाउँदैन भन्ने तर्क गर्नुहुन्थ्यो। राजनीति, आध्यात्मिकता र सामाजिक परिवेशका ज्ञाता भट्टराई युवा अवस्थामा सफल पत्रकार पनि हुनुहुन्थ्यो। सोभियत संघको कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव निकिता ख्रुस्चेभको अन्तर्वार्ता लिने प्रथम विदेशी पत्रकार पनि हुनुहुन्थ्यो किसुनजी।
उहाँ परमधाम भएको १५ वर्ष पुग्यो। उहाँले सिंचेको पार्टी नेपाली कांग्रेसमा भागबन्डाको अराजकताले चरम सीमा नाघेको छ। गुट/उपगुटका कारण नेता/कार्यकर्तामा द्वापर युगको यदुवंशी परिणति भित्रन लागेको छ। नैतिकता, इमानदारी र पार्टीको सिद्धान्तलाई धेरैले खोलामा बगाएको प्रतीत भइरहेको छ। आफूलाई लोकतान्त्रिक पार्टीको कार्यकर्ता सम्झने कांग्रेसीजनले थोरै भएपनि किसुनजीको आचरण अवलम्बन गर्नुपर्ने बेला भइसकेको छ।
प्रकाशित: २२ फाल्गुन २०८१ ०८:२९ बिहीबार