सहिदलाई सम्मान गर्ने दृष्टिकोण हाम्रो मुलुकमा धेरै फरक भैसक्यो। कतिपयलाई त सहिद शब्दको अर्थ नै थाहा छैन होला। सहिदप्रतिको सम्मानका लागि शिक्षा नीति नै विशिष्ठ किसिमको हुनुपर्ने हो। जसले बालबालिकाको कलिलो दिमागमा मातापितातुल्य आदरभाव जगाउन सकोस्। पाठ्यक्रममा यसबारे सरकारले सोच्नु जरुरी हुन सक्छ।
सहिद र देश, सहिद र माटो अनि सहिद र सरकार, यी तीनै कुराले चिन्तनशील र विवेकशील वर्गलाई जमिनमा उभिएर विगत, वर्तमान र भविष्यतिर सोच्न बाध्य गराउला शायद। गरा र खेतमा छरेका बीजबाट अङ्कुरण भएर मात्र पुग्दैन, खेतबारी हराभरा गर्नलाई। उचित अर्गानिक मल (डोटेली, बझाङ्गी भाषामा पोर्सो) र पानी पनि हाल्दा बालीनाली सप्रन्छ।
देशमा राजनीतिलाई सुमार्गमा ल्याउन राजनीतिककर्मीको नैतिक धरातल बलियो हुनुपर्यो, नैतिक धरातलले व्यक्तिलाई कर्तव्य बोध गराउँछ। त्यही नैतिक आचरणको धरातल हो समष्टिमा सहिद जन्माउने माटो। जहाँ सहिदको सम्मान हुन्छ, नारीको पनि उचित सम्मान हुन्छ। त्यो समाज नैतिकता र आध्यात्मिक चिन्तनमा हराभरा हुन्छ, सप्रेको बालीनाली जस्तै।
नैतिक बल ज्यादै ठूलो अस्त्र हो, त्यही अस्त्रले राज्य सञ्चालन गर्न सघाउँछ। मनुस्मृतिमा यही कुरा उल्लेख छ। सहिदले राजनीतिक नैतिकता सिकाउन, भावी पिँढीलाई पदभ्रष्ट हुनबाट बचाउन र स्वदेशको माटोको बास्ना ग्रहण गर्न आफूलाई बलिवेदीमा होमे। माया नि लाग्यो होला आफ्नो शरीरको, मातापिताको, समाजको र समग्र राष्ट्रको। तर क्रूर शासकका अगाडि शालीनताका साथ गर्धन थापे, ज्यान सुम्पिए। ‘लौ मार मलाई मारेर राष्ट्रमा लोकतन्त्र प्रजातन्त्र नामको शासन सञ्चालन हुन्छ भने’ भनेर मनको कुश, जौ, तील र जल आफू जन्मेको जमिनमा संकल्पसहित चढाए। अनि बने वीर सहिद।
सात सालको जनक्रान्ति सफल हुँदा अधिकांश वर्तमान पिँढी जन्मेकै थिएनन्। ९७ सालको आन्दोलनमा संलग्न भएका पिँढी भेट्टाउन पनि मुस्किल छ। त्यसबेलाका अमर आत्मा गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री, दशरथ चन्दको राणाविरोधी साहस, प्रजातन्त्रप्रतिको निष्ठाबारे उहाँहरूको घरपरिवारको आर्थिक अवस्था र के बोले के सजाय पाइन्छ भन्ने चिन्तन कति माथि थियो होला र ? सुन्दर नेपालको परिकल्पना र कुशल शासनशैलीको कल्पनाका कारण राजधानीका सिफल, शोभाभगवती, चपली लगायतका भूमिमा शिशिरको जाडो, माघ जस्तो हिन्दु धर्मावलम्बीको धार्मिक महिनामा रगत बगाए, झुण्डिए, बन्दूकको गोलीको निशाना बने सहिदहरू।
शुक्रराज शास्त्रीको गीताका पवित्र श्लोकको महत्त्व राखेनन्, धर्ममा लागेका भनिएका क्रूर राणाले। सम्झील्याउँदा बडो विचित्र लाग्छ सामाजिक र राजनीतिक परम्परा अनि धार्मिक आडम्बर। गणतन्त्रको शासनकालसम्म आइपुग्दा तिनै सामन्ती प्रथाका केही अवशेषलाई काखी च्यापेर, धनुष्टंकार गरी दाम चढाएर स्वस्ती गर्दैछ हाम्रो नेपाली समाज। यस्तो प्रथालाई के भन्छन् नव पिँढीले ? सामन्ती संस्कार, लोकतन्त्रको नौलो रूप या नेपाली परम्परा? प्रश्न आफैँमा चिन्तनशील र गहन लाग्न सक्छ।
एकपटक सहिदको परिभाषा दिँदै समाजवादी चिन्तक मनमोहन भट्टराईले भनेका थिए– जब जब राजनीतिकर्मीको मनमा कुविचारले जरा गाड्छ तब तब उसले राजनीतिक धर्म बिर्सेर पाप कर्म गर्दै जान्छ, परिणाम धन कमाउँदै जान्छ, समाजमा भ्रष्ट कर्म गर्दै जान्छ, निजी स्वार्थका लागि समाज र राष्ट्रका नैतिक मूल्य र मान्यता भुल्दै जान्छ। आफू व्यभिचारी बनेको थाहा हुन्न तर अर्ती उपदेश नैतिकताको दिन्छ। भट्टराईका विचार वर्तमानमा हुबहु लाग्छ।
यहाँ सरकार सञ्चालन गर्ने ठूला दलका होस् अथवा प्रतिपक्षी ठूला साना सबै दलमा होस्। हो, सात दलको क्रान्ति सफल पार्न त्यसबेलाका महामानव बिपी, गणेशमान, सूर्यप्रसाद उपाध्याय, सुवर्णशमशेर, टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मीलगायत सबैजना लागि परे। निकै दुःख पाए, साहस गरे। कृष्णप्रसाद कोइरालाले त गरिबले लगाउने फाटेका कपडा क्रूर शाासक श्री ३ चन्द्रशमशेरलाई पार्सलस्वरूप नै पठाए। ज्यानभन्दा ठूलो प्रजातन्त्रसहितको सुन्दर नेपालको परकल्पना गरे। अहिले इतिहास बन्यो त्यो कालखण्ड।
इतिहास भविष्यको मार्गनिर्देश गर्ने माध्यम भएकाले ती कुरा हाम्रो पिँढीसम्मले अध्ययन गर्ने मौका पायौँ। भोलिका सन्ततिले २००७ साल, राणाविरोधी आन्दोलन, २०१७ सालदेखिको पञ्चायत विरोधी आन्दोलन, २०३५/३६ सालको विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको ऐतिहासिक जनआन्दोलन र २०६२/६३ सालको जनक्रान्ति अनि मधेस आन्दोलनबारे के जानकारी लिन सक्छन्? ती सन्ततिले त कक्षा १२ उत्तीर्ण गरेपछि विदेशी भूमिमा अध्ययन गर्नुपर्दोरहेछ। सहिदले लोकतन्त्र स्थापनाका लागि देह त्याग गरेका अर्ती उपदेशबाट के सिक्ने? खोइ राष्ट्रमा गौरवशाली इमानदारिता र नैतिक शिक्षा ? खोई सरकारले नवपिँढीलाई वार्षिक क्यालेन्डर तयार पारी सोअनुसार आचरण सिकाएको ?
२०४६ सालको जनक्रान्तिको स्मरण गर्दै २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनको पनि सम्झना आयो। तत्कालीन प्रहरी टोलीले जनआन्दोलन दबाउन राज्य शक्तिको चरम दुरूपयोग गरेको सर्वविदितै छ। दमन बढ्दै गयो। १९ दिने जनआन्दोलनपश्चात तत्कालिन सरकारले घुँडा टेकेपछि सहिद सगुनकी आमा जया ताम्राकारले भेटका क्रममा भक्कानिएर रुँदै भनेकी कारुणिक शब्द भुल्न सकेको छैन। जयाले भनेकी थिइन्– ‘एउटै छोरो पनि सहिद भयो चित्त बुझाउँला तर भोलिका दिनमा हाम्रो कोख रित्तो भएको सरकारले बुझ्छ कि बुझ्दैन दाइ ?’ लोभीपापीहरूले सरकार चलाएमा सहिदको सपना पूरा होला ?
जयाको अनुमान के झुट रहेछ त ? के सरकार सञ्चालन गर्ने कांग्रेस, एमाले, माओवादीलगायतका दलले सहिदको सम्मान गर्दै सुशाासन लागु गर्न सके त? भ्रष्टचार रोक्न सके? दूधले धोएर सत्ताबाट जनताको दैलोमा पुग्न सके? प्रश्न गम्भीर छ। वर्तमानमा हरेक राजनीतिक दल र सरकारले आफू मात्र नभएर आफ्ना श्रीमती, साला, साली, ससुराली, मावली र अन्य भ्रष्टाचारीलाई पदमा जानबाट रोक्न सके ? सहिदले र उनका परिवारजनले परिकल्पना गरेको रामराज्यको स्थापना गर्न सके? यी र यस्तै प्रश्नको जवाफ प्रत्येक सहिद परिवारले मागेका छन्।
प्रत्येक नागरिकले भ्रष्ट नेताको वास्तविक सम्पत्ति विवरण देख्न चाहेका छन्। कुनै बेला दक्षिण एसियाली मुलुकमा भ्रष्टचारको पंक्तिमा पाँचौँ नम्बरमा परेको हाम्रो मुलुक अहिले एक नम्बरमा झरेको छ। यस्तो किन भैरहेको छ? सहिदका परिवारले मात्र होइन, त्रिशूली नदीको बगरमा गिट्टी कुट्दै गरेका रामबहादुर र दोलखाबाट आएर काठमाडौँको सडकपेटीमा मकै, भटमास, बदाम बिक्री गर्दै गरेकी सन्तमाया तामाङलाई पनि यसको जवाफ चाहिएको छ। जो २० वर्षपहिले काखमा बच्चा च्यापेर तत्कालीन सरकारको प्रतिगमन कदमको घोर विरोध गर्दै सडकमा उभिएका थिए।
२०४६ सालपछि सत्ताको बागडोर सबैभन्दा बढी नेपाली कांग्रेसले सम्हाल्यो। किसुनजी सबैका आदरपात्र थिए, चोखा थिए। कांग्रेसको अहं देखेर नेता जगन्नाथ आचार्य र जानकी कुइँकेलले त्यसबेला भनेका थिए– ‘कांग्रेसको पतन सुरु भयो, कांग्रेसको घमण्डीपनले भविष्यमा युवा जमातको नौलो पार्टी जन्मन सक्छ।’
हो अहिले त्यही रूप देखापरिरहेछ। कांग्रेसीजनलाई न्याउरी मारी पछुतोझैँ लाग्न सक्छ। धेरैलाई चिन्ताको विषय पनि बन्न सक्छ। अन्तर्राष्ट्रिय जगत्मा राजनीतिक विश्वास दिलाउन सफल लोकतान्त्रिक पार्टी पनि हो नेपाली कांग्रेस।
संसारका लोकतान्त्रिक शासन प्रणाली अपनाएका मुलुकमा समाजवादका प्रखर नेता बिपी कोइरालाको नाम नै काफी छ। तर बिपीका अनुयायीहरू परिवारवादमा लिप्त भए, भ्रष्ट भएर मुलुकमा देखा परे। देशको जेठो र संघर्षशील लोकतान्त्रिक पार्टीका नेताहरूको यो अनैतिक चरित्रका पछाडि केले भूमिका खेलिरहेछ ? स्वास्नी, छोराछोरी, इष्टमित्र या उनका प्रेमीप्रेमिकाले। प्रधानमन्त्री पद त्याग्ने लौह पुरुष गणेशमान सिंहको पार्टीभित्र पदका लागि हाम्रा नेताहरू किन सती जान खोज्छन् ? वामपन्थीहरूका सामु किन घुँडा टेक्छन् ? सहिद र सहिदका परिवारप्रति किन सम्मान र न्यायको भाषासम्म बोल्न जान्दैनन् ?
गाउँ/बस्ती, सहर/बजारका साथै बौद्धिक वर्गमा चर्चाको विषय बनेको छ वर्तमानमा। मानिस असल बन्ने, खराब बन्ने भनेको संगतले हो। राजनीतिक पार्टीमा पनि यही नियम लागु हुन्छ। श्रीमद्भागवत गीतामा यसबारे भगवानले व्याख्या गरेका छन्–
संगात संजायते काम कामः कोध्राद्भिजायते
क्रोधात् भवति संमोह संमोहोत् स्मृति विभ्रमः।
प्रकाशित: १५ माघ २०८१ ०८:०४ मंगलबार