९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

साना टापु राष्ट्रको एकता र जलवायु सुझबुझ

आगामी दशकका जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन गर्ने विषय शीर्ष अन्तर्राष्ट्रिय प्राथमिकतामा रहने भए तापनि विश्वव्यापी तापमान वृद्धिले निम्त्याएका तत्कालका जोखिम निरूपण गर्न जलवायु कार्य र नवीनतम अवधारणा आवश्यक छ। संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले गत महिना प्रशान्त महासागरमा रहेका टापु राष्ट्रको फोरमलाई टोंगामा सम्बोधन गर्ने क्रममा भनेका थिए– हामीले प्रशान्तलाई बचायौँ भने विश्व बचाउनेछाैं।

आठ वर्षअघि पेरिस जलवायु सम्झौतामा हस्ताक्षर भएदेखि, अर्थतन्त्रलाई थप दिगो पार्ने दिशामा धेरै प्रगति भएको छ। नवीनतम तथा प्रविधिगत समाधानले विश्वका राष्ट्रलाई सुदृढ आर्थिक वृद्धि हासिल गर्ने अवसर सिर्जना गरेको छ भने सँगसँगै कार्बनडाइअक्साइड उत्सर्जनलाई पनि घटाएको छ।

अहिले विश्वका सरकार, व्यवसाय र घरपरिवार जलवायु लगानीलाई समर्थन गर्न थप दृढ देखिन्छन्। बिजुली उत्पादनका लागि नवीकरणीय ऊर्जा पहिलो रोजाइ बन्दै गएको छ। नवप्रवर्तनले हरित विकल्पहरूको प्रतिस्पर्धात्मकता बढाउँदैछ। वित्तीय संस्थाहरूले हरित परियोजनाका लागि प्रत्येक वर्ष एक खर्ब डलरभन्दा बढी लगानी छुट्याइरहेका छन्।

यस सन्दर्भमा, विश्वव्यापी स्तरमा गरिने दिगो र ठोस कार्य सफलताको कुञ्जी हुनेछन्। यद्यपि विश्वको सबैभन्दा जोखिममा रहेका क्षेत्रहरूका लागि सम्बोधन गर्ने दिशामा प्रगति धेरै सुस्त छ। साना टापु राष्ट्रमा बसोबास गर्ने समुदाय समुन्द्र सतहको बढ्दो स्तर, विषम मौसम र बढ्दो सामुन्द्रिक तापक्रमसँग जुध्दै गर्दा उनीहरूका लागि जलवायु परिवर्तन अस्तित्वको खतरा बनिसकेको छ। कार्बन उत्सर्जन अत्यन्त न्यून हुँदाहँुदै पनि जलवायु संकट बेहोर्नेमा यी राष्ट्र अग्रसूचीमा छन्। अहिले उनीहरूले भोगेको यो समस्या भोलिको विश्वव्यापी संकट बन्नेछ।

साना टापुहरूका लागि, जलवायु अनुकूलन अत्यन्त महत्त्वपूर्ण छ। क्यारेबियन र प्रशान्त टापुका राष्ट्रहरू, ल्याटिन अमेरिका, अफ्रिका र एसियाका केही भागसहित, विश्वका कैयन् अन्य क्षेत्र जलवायुसम्बन्धी गम्भीर समस्या सामना गरिरहेकाछन्। उनीहरू आर्थिकरूपमा पनि बढी कमजोर छन्।

यी राष्ट्र प्राकृतिक प्रकोपको विनाशपछि पूर्ववत् अवस्थामा फर्कन अथवा जलवायु परिवर्तनसँग जुध्न सक्ने क्षमता सशक्त पार्न आवश्यक पर्ने रकम चर्काे ब्याजदरमा ऋण लिन बाध्य छन्। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा हुनुपर्ने लगानी त्यसतर्फ सोझिएको छ।

मानवीय र विकास सहायतामा विश्वको अग्रणी नेतृत्व गरिरहेको युरोपेली युनियनले जोखिममा रहेका तटीय राष्ट्रहरू र अन्य क्षेत्रलाई जलवायु परिवर्तनको संकटसँग जुध्न सहयोग गर्दैै आएको छ।

इयुको ग्लोबल गेटवे लगानी रणनीतिअन्तर्गत आवश्यक पर्ने क्षेत्रमा लगानी गर्ने रकम विनियोजित गरिएको छ र इयुको यो रणनीति सही छ। यो रणनीतिले इयुको समस्या समाधानप्रतिको वास्तविक ऐक्यबद्धता र यो विषयप्रतिको सामान्य ज्ञान दुवै प्रतिबिम्बित हुन्छ।

हामीलाई थाहा छ, जलवायु अनुकूलन र न्यूनीकरणमा गरिएको हालको लगानीको तुलनामा अव्यवस्थित हरित संक्रमणको लागत झन् बढी हुनेछ। इयुले सुरु गरेका क्रमिक, विश्वसनीय परिवर्तनहरूले विश्वलाई अनियन्त्रित जलवायु परिवर्तनबाट हुने ठूलो आर्थिक, सामाजिक र वातावरणीय क्षतिबाट जोगाउन योगदान गर्नेछ। भर्खरै सार्वजनिक भएका केही प्रतिबद्धताले यसलाई प्रमाणित गर्छन्।

मध्य प्रशान्त महासागरको एउटा सानो टापु राष्ट्र किरिबाटीका कैयन् टापु बढ्दो समुद्री सतहका कारण केही दशकमै बस्न नसक्ने स्थितितर्फ उन्मुख छन्। यही सन्दर्भमा इयु र यसको वित्तीय शाखा, युरोपेली लगानी बैंक, विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग साझेदारमा किरिबाटीमा नयाँ बन्दरगाह निर्माण गर्ने दिशामा अध्ययन सुरु भएको छ। यसले साना टापुबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न मद्दत पुग्नेछ। विश्वका अन्य भागमा जोखिममा रहेका र कमजोर अवस्थामा रहेका जनसंख्याका लागि यस्ता परियोजना आशाको किरण हुन सक्छन्।

हिंस्रक आँधीबेहरी र बढ्दो तापक्रमले  क्यारेबियन राष्ट्रमा पानीको पूर्वाधारमा चर्काे दबाब सिर्जना भैसकेको छ। यसले त्यहाँको समुद्र तथा सामुन्द्रिक पारिस्थितिकीय प्रणालीसमेत बिथोलिएको छ। यसै समस्यालाई सम्बोधन गर्न इयुले यो क्षेत्रमा पानी व्यवस्थापन तथा सफा महासागर कार्यक्रम अगाडि बढाएको छ।

यो कार्यक्रमअन्तर्गत १५ वटा क्यारिबियन देशहरूमा पानीसम्बन्धी परियोजनाहरू सुरु गर्न विशेषज्ञ सहयोग उपलब्ध गराउने तयारी छ। यसैगरी पानी सुरक्षा, सरसफाइ, ठोस फोहोर व्यवस्थापन र बाढी संरक्षणमा सुधार गर्न यो कार्यक्रमले सहयोग गर्नेछ भने समग्र महासागर संरक्षण गर्न मद्दत गर्नेछ।

इयु र युरोपियन इन्भेस्टमेन्ट बोर्डले पश्चिमी अफ्रिकाको तटमा रहेको टापु राष्ट्र काबो भर्डेमा ऊर्जाको प्रयोग र उत्पादन गर्ने तरिकामा रूपान्तरणकारी परिवर्तन गर्न संसाधनको जोहो गर्न सुरु गरेकाछन्। यो महत्त्वाकांक्षी परियोजनाअन्तर्गत सन् २०४० सम्ममा जीवाश्म इन्धनलाई चरणबद्धरूपमा प्रतिस्थापन गर्ने सरकारी योजनालाई सहयोग उपलब्ध गराइनेछ।

नवीकरणीय ऊर्जा र यसको भण्डारणमा प्राथमिकता दिँदा यसले प्रदूषण उल्लेख्य घटाउनेछ। काबो भर्डेमा रहेका जल क्षेत्रको संरक्षणमा उल्लेखनीय रूपमा योगदान हुनेछ। यो क्षेत्रमा अत्यधिक ऊर्जा प्रयोग हुने प्रक्रियामार्फत चर्काे मूल्यमा पानीलाई नुनविहीन पार्ने कार्य हुँदै आएको छ। यसरी दूरगामी वातावरणीय र आर्थिक लाभहरूको सुनिश्चतासहित काबो भर्डेमा गरिने लगानीले त्यताको समग्र क्षेत्रका लागि दिगो विकासको नमुना बन्ने अपेक्षा गरिएको छ।

यसरी बार्बाडोसमा, इयुले बाढी र आँधीबेहरी सामना गर्ने लगानीलाई समर्थन र सहयोग गरेको छ। यसैगरी अन्तर–अमेरिकी विकास बैंकसँगको साझेदारीमा कार्यान्वयन गरिने अर्काे परियोजनाअन्तर्गत ढल प्रशोधन र जमिनभित्रको पानीको व्यवस्थापनमा सुधारका कार्य गरिनेछन्।

कृषि प्रयोजनमा फोहोर पानी पुनः प्रयोग गर्ने प्रणालीलाई पनि सहयोग गरिँदैछ। यी लगानीहरू अझ सशक्त पार्न आवश्यक पर्ने वित्तको जोहो गर्न ‘जलवायु रूपान्तरणका लागि ऋण’ नामक कार्यक्रम पनि सुरु हुँदैछ।

यी परियोजनाहरूले साना टापु राष्ट्रका लागि कसरी अर्थपूर्ण सहयोग गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नेछन्। ग्लोबल गेटवे कार्यक्रमले अनुकूलन र पानी सुरक्षामा मात्र नभई नवीकरणीय ऊर्जा, डिजिटल आविष्कार, शिक्षा, स्वास्थ्य सेवा र हरित यातायातमा पनि मद्दत गरिरहेको छ।

यो विषयमा हामीले फरक हिसाबले सोच्न आवश्यक छ किनभने हामीले यसप्रकारका चुनौती पहिलोपटक भोग्दैछौँ। वर्तमान समयको सबैभन्दा ठूलो चुनौती जलवायु परिवर्तनसँग जुध्नु हो। यसका लागि नवीनता तथा नयाँ सोच आवश्यक छ। मिलेर काम गरेर, हामी विश्वका अत्यन्त जोखिममा रहेका समुदायलाई राम्रो विश्व दिन सक्नेछाैं।

-नादिया युरोपियन इन्भेस्टमेन्ट बैंककी अध्यक्ष हुन् भने जुट्टा युरोपियन युनियनको इन्टरनेसनल पार्टनरसिपकी आयुक्त हुन्।-प्रोजेक्ट सिन्डिकेटबाट।

प्रकाशित: २१ भाद्र २०८१ ०६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App