८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

लकडाउनले छेकेन नेपाल प्रवेश, कोरोना संक्रमणको जोखिम बढ्दो

राजु अधिकारी/विराटनगर
दिलबहादुर छत्याल/धनगढी
बिरा गडाल/बैतडी 
अर्जुन ओली/नेपालगन्ज

जसरी पनि घर आइपुग्ने हुटहुटीले ‘लकडाउन’ छिचोलेर भारतबाट  नेपाल प्रवेश गर्ने क्रम अझै रोकिएको छैन। लुकेर नेपाल भित्रिने अनि क्वारेन्टाइन छल्नेहरुका कारण कोरोना भाइरस संक्रमणको जोखिम झनै बढेको छ।

सातायता नेपाल र भारत दुवैतिर लकडाउनछ। तर लकडाउन मुख्यनाकामा मात्रै केन्द्रित बनेको छ। लामो र खुला सीमा भएका कारण जुनसुकै क्षेत्रबाट पनि सहजै नेपाल भित्रिनेका कारण संक्रमणको जोखिम उच्च भएको हो। लकडाउन छिचोलेर नेपाल आएपछि पारिवारिक सहमतिमा झुट बोल्दै धेरै अघि आएको बयान दिनेहरुले जोखिम बढाइरहेका छन्। ‘रानी नाकाबाट नेपाल प्रवेश रोकिएको छ’, विराटनगर–१५ का मोहम्मद फैयाजले भने, ‘तर, अरुतिरबाट आउने क्रम रोकिएको छैन।’ उनका अनुसार भारततिर जान भनेकसैले आँट गरेका छैनन्।

‘खेतैखेत, खोलानाला अनि दशगजा क्षेत्र पार गरेर नेपाल भित्रिनेको लर्को अझै जारी छ’, विराटनगर महानगरका प्रमुख भीम पराजुलीले नागरिकसँग भने ‘यो सबैभन्दा ठूलो टाउको दुखाइको विषय भएको छ।’ उनका अनुसार भारतबाट नेपालतिर हिँडेकालाई भारतीय सुरक्षाकर्मीले कुनै रोकतोक गर्दैनन्।

‘दुई दिनभित्र विराटनगरका विभिन्न स्थानबाट धेरै नेपाली यता छिरेको थाहा पाएपछि हामीले गाडीको व्यवस्था गरेर उनीहरुलाई घरतर्फ पठाएका छौं’, पराजुलीले भने, ‘जनकपुर, सिरहातिरका सर्वसाधारण, विद्यार्थी यताको नाकाबाट नेपाल प्रवेश गरेको पाइएको छ।उनीहरुले नेपाल हिँडेको भनेपछि भारतीय सुरक्षाकर्मीले सजिलै आउन दिएको बताएका छन्।’ भारतबाट महानगरका विभिन्न नाका हुँदै नेपाल आएका ४१ जनालाई मोरङ टाँडीको क्वारेन्टाइनमा पठाइएको उनले बताए। मोरङको धनपालथान गाउँपालिका, जहदा, सुनवर्षी क्षेत्रबाट पनि आउने क्रम जारी रहेको स्थानीय बताउँछन्।

प्रदेश १ कै सबैभन्दा लामो सीमा क्षेत्र रहेको झापामा समस्या झन् उच्च छ।सर्वसाधारणका अनुसार मेची खोला र दशगजा क्षेत्रबाट नेपाल भित्रिने क्रम जारी छ। ‘यहाँ नेपाल भारत दुवैतिर मकैबारी छ, त्यही मकैबारीको आलीआली नेपाल भित्रिने धेरै छन्’, झापा गौरीगन्जका आत्माराम राजवंशीले भने, ‘कोही साँझमा, कोही बिहानै आउँछन्। उनीहरु क्वारेन्टाइनमा पनि बसेका छैनन्।’ उनका अनुसार खोला क्षेत्रबाट पनि प्रवेश गर्ने क्रम जारी छ।

सशस्त्र प्रहरी बल चन्द्रगढीका प्रमुृख एसपी रमेशकुमार लिम्बु लकडाउनको प्रारम्भमा यस्तो समस्या धेरै देखिए पनि अहिले रोकिएको बताउँछन्। तर सवारीसाधन अभावमा सशस्त्रले पनि सीमा क्षेत्रमा कसिलो गस्ती गर्न गाह्रो परेको उनको भनाइ छ। भारत बिहारसँग जोडिएको सुनसरीको सीमा क्षेत्रबाट पनि आउने क्रम जारी रहेको सीमा क्षेत्रका जनप्रतिनिधि बताउँछन्। ‘मुख्य नाका छलेर फाटफुृट आउने क्रम देखिन्छ’, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले भने, ‘आउनेहरु लुकेर पस्ने हुँदा क्वारेन्टाइनमा लैजान पनि सकिएको छैन। यो अज्ञानताका कारणले भएको हो।’

इलामको रोङ गाउँपालिका क्षेत्रका सर्वसाधारणले भने सीमाको मेची खोलामा गस्ती नै गरिरहेका छन्। त्यसैले लकडाउनपछि आउने क्रम बन्द भएको गाउँपालिका अध्यक्ष शमशेर राईले बताए। सोमबार अपराह्नसम्ममा प्रदेश १ मा ३१ जनाको स्वाब संकलन भएको छ। प्रदेश सरकारका अनुसार तीमध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने पाँचजनाको रिपोर्ट आउन बाँकी छ।

यस्तै सुदूरपश्चिम प्रदेशको भारततर्फको सीमाबाट नेपाल भित्रिने क्रम पनि रोकिन सकेको छैन। सुदूरपश्चिमका मुख्य दुई नाका महेन्द्रनगरको गड्डाचौकी र धनगढीको त्रिनगर बन्द छन् तर भारतबाट फर्कनेहरु नदी तरेर, जंगलबाट छिरेर नेपाल भित्रिरहेका छन।

‘गड्डाचौकीमा कडाइ गरेर हामीले प्रवेश निषेध गरेका छौं, त्यहाँबाट मंगलबारपछि कोही प्रवेश गरेको छैन’, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने, ‘चोरबाटोवाट केही मान्छे छिरेर घर आएको सुनिएको छ।’ दोधारा चाँदनीलगायत जंगलको केही ठाउँबाट छिरेर नेपाल आएको सुनिएको र उनीहरुलाई पक्राउ गरिने उनले बताए। 
यसैगरि धनगढीको पनि बगराकटना, जुगेडालगायतका ठाउँमा मोहना नदी तरेर नेपाली घर फर्कने गरेका छन्। ‘मुख्यनाका त्रिनगरबाट भित्र पस्ने सम्भावना छैन’, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले भने, ‘अन्य ठाउँबाट छिरेका हुन सक्छन्।’

जोखिम मोलेर भिँत्रिदै नेपाली
सरकारले सीमानाका बन्द गरे पनि ट्युबका भरमा महाकाली नदी तरेर दैनिक नेपाली नेपाल पस्ने गरेका छन्। झुलाघाट, बराकोट, सेरा, लाली र लेकमबाट ट्युबको सहयोगमा महाकाली पार गरी नेपाल पस्ने क्रम जारी छ। ‘तीनदिनदेखि खानासमेत पाइएन’, ट्युबको सहयोगमा महाकाली तरेर आइतबार गोठालापानी पुगेका बभाङ  चिरबित्थड गाउँपालिका–१ का गजेन्द्र बोहराले भने, ‘भारतीय सुरक्षाकर्मीले लखेट्न थाले, पुल बन्द हुँदा ट्युबमा आउन बाध्य भएँ।’ उनीसँगै १५ जना आएका थिए।  जिल्ला प्रशासनले वारिपट्टि अवैध रुपमा सञ्चालन भएका ट्युब बन्द गरे पनि सीमापारिका स्थानीयले राति प्रतिव्यक्ति एक हजार लिएर तारिदिने गरेका छन्।

भारत सरकारले पनि तीन साता लकडाउन गरेकाले त्यहाँ यातायातका साधन बन्द छन्। लकडाउन सुरु भएपछि होटेल, कम्पनी, कारखाना, उद्योग बन्द भएकाले त्यहाँ काम गर्ने मजदुर निकालिएका छन्। ती मजदुर भारतमा अलपत्र परेका छन्। तीमध्ये कतिपय हिँडेरै नेपाल आउने गरेका छन्।‘हिँडेर नै उनीहरु आइरहेका छन्’, कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले भने,‘पलियामा कयौं नेपाली जम्मा भएका छन्।

उताका उच्च सुरक्षा अधिकारीसँग समन्वय गरेर लकडाउनसम्म खान बस्न व्यवस्था मिलाउन आग्रह गरेका छौं।’सुदूरपश्चिममा रहेका भारतीय नागरिकलाई लकडाउनसम्म यतै बस्न र खान व्यवस्था गरिदिने र नेपालीलाई उनीहरुले व्यवस्था गर्नेगरी समन्वय भइरहेको उनले बताए।
बैतडीमा पर्ने सीमा क्षेत्रबाट पनि नेपाल पस्ने काम जारी छ। सीमा क्षेत्रका सबै ठाउँमा सुरक्षाकर्मी नहुँदा लुकीछिपी नेपाल आउने क्रम बढेको छ।
दैनिक २०÷३० जना ट्युबमा काली तरेर आउने गरेको दशरथचन्द नगररपालिका–१० बाराकोटका दिनेश चन्दले बताए। ट्युबमा जोखिम मोलेर बैतडी पुगेका नेपालीलाई बैतडी प्रशासनले उनीहरुकै स्थानीय तहमा क्वारेन्टाइनमा बस्ने सर्तमा पु-याउने गरेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

कतिपय नेपाली सीमामा अलपत्र परेका छन्। बैतडीको दक्षिणी तल्लोस्वराड क्षेत्रमा केही नेपाली सीमामा पुगेर अलपत्र परेका छन्।दार्चुलाको सीमा बजार धार्चुलामा पनि धेरै नेपाली अलपत्र परेका छन्। गत शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले करिब दुई सय जनालाई  पुल खोलेर उद्धार गरेको थियो। अझै उद्धार गर्ने आसमा करिब ५ सय ५० जना सीमामा प्रतीक्षारत छन्। सोमबार धार्चुलामा अलपत्र परेका नेपालीले आफ्नो देश प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए।

दार्चुलास्थित सीमा पुल बन्द भएपछि तीनजना नेपाली मंगलबार पौडेर नेपाल पसेका छन्। अलपत्र आफ्ना नागरिकको उद्धार गर्नुपर्ने माग प्रमुख जिल्ला अधिकारीसम्मपु-याउन बैतडीको डिलासैनी गाउँपालिका–१, कोटपेटराका इन्द्रराज खत्री, सोही स्थानका धनबहादुर धामी र दार्चुलाको मार्मा गाउँपालिका–३ का रमेश बिष्ट महाकालीमा पौडेर नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

सीमामा अलपत्र अवस्थामा रहेका नेपालीलाई नेपाल प्रवेश दिनेबारे केन्द्र सरकारबाट कुनै आदेश नआएको दाुर्चलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले  बताए।

यस्तै बाँकेको सीमा क्षेत्रमा पर्ने अवैध नाका भएर पनि नेपाली भित्रिने क्रम रोकिन सकेको छैन।  भारतको मुम्बई, दिल्लीलगायत स्थानबाट आएका व्यक्ति जिल्लाको राप्तीपारि नरैनापुर गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न नाकाबाट नेपाल प्रवेश गरेका छन्। अवैध नाकाबाट प्रवेश गरेका ७४ जनालाई क्वारेन्टाइनमा राखिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए।

साईगाउँ, राधापुर क्षेत्रबाट पनि मानिसहरु सहजै प्रवेश हुन सक्ने जोखिम रहेको स्थानीय बताउँछन्। भारतसँग सीमा जोडिएका जिल्लाका नाकामा नेपाली सुरक्षाकर्मीको उपस्थिति कम छ। जसले गर्दा भारतबाट नेपाल फर्किने व्यक्ति सहजै प्रवेश गर्न सक्ने स्थानीयको भनाइ छ।

होलियाको नाका भएर जबरजस्ती नेपाल प्रवेश हुन खोजेपछि प्रहरीले केही व्यक्तिलाई भारततिर भगाएको र केहीलाई नियन्त्रणमा लिएर नेपालगन्जतर्फ पठाएको उनले सुनाए। उक्त क्षेत्रमा डुडुवा गाउँपालिकाले स्थानीय स्तरमै क्वारेन्टाइन निर्माण गरेको छ। भारत लगायत अन्य देशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी बताउँछन्।

‘भारतबाट काम गरेर फर्केका नेपाली अहिले विभिन्न नाकानाकामा आएर बसेका छन्, उनीहरुलाई सीमा प्रवेश गराएर क्वारेन्टाइनमा बसाउने बारेमा नेपाल सरकारले कुनै चासो दिन सकेको छैन,’ होलियाका स्थानीय राजकुमार शुक्लाले भने, ‘भारतमा कोरोनाको महामारी फैलिएको हुँदा त्यताबाट आउने मान्छेलाई रोक्नुभन्दा बरु प्रवेश गराएर व्यवस्थित रुपले क्वारेन्टाइनमा बसाउने व्यवस्था मिलाउनुपर्छ।’ 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता शिवबहादुर सिंह नेपालगन्ज प्रवेश हुन भनी भारतको विभिन्न स्थानबाट आएका करिब डेढ सय व्यक्ति दशगजापारि बसिरहेको बताए। ‘सीमापारि डेढ सयजति छन्, यताबाट भारततर्फ जान खोज्ने व्यक्ति पनि ५० जनाजति छन्,’ उनले भने, ‘उनीहरुलाई के गर्ने भनेर हामी प्रक्रिया मिलाउँदैछौं।’

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगन्जस्थित नेपाल–भारत सिमानाका पूर्णरुपमा बन्द रहेको बताए। नेपाल–भारत सिमानाका कहाँ, कति संख्यामा भारतबाट फर्केका व्यक्ति आएर बसेका छन्, यकिन तथ्यांक नभएको उनले बताए।

प्रकाशित: १८ चैत्र २०७६ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App