३ वैशाख २०८२ बुधबार
image/svg+xml २:४४ पूर्वाह्न
अन्तर्राष्ट्रिय

ट्रम्पको नयाँ रणनीति: इरानसँग सिधा वार्ताको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तेहरानसँग आणविक सम्झौताबारे सिधा वार्ता गर्न चाहेको बताएका छन्। यसअघि उनले इरानले आणविक हतियार बनाए बम खसाल्ने धम्की दिएका थिए।  

दशकौँदेखि पश्चिमी देशहरूसँग तनावमा रहेको इरानको आणविक कार्यक्रममा सहमति जुटाउन ट्रम्पले इरानी नेताहरूलाई दुई महिनाको समयसीमा दिएका छन्।  

संयुक्त राज्य अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानमाथि आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्। तर, तेहरानले यो आरोप अस्वीकार गर्दै आफ्नो समृद्धिकरण गतिविधि शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गरेको छ।  
‘मलाई लाग्छ सिधा वार्ता गर्नु राम्रो हुन्छ,’ ट्रम्पले राष्ट्रपतीय विमान एयर फोर्स वानमा पत्रकारहरूसँग भने, ‘यो छिटो हुन्छ र मध्यस्थकर्तामार्फत जानुभन्दा अर्को पक्षलाई राम्ररी बुझ्न सकिन्छ।’ 

इरानका विदेशमन्त्री अब्बास अराघचीले गत हप्ता तेहरानले ‘इरानप्रति अर्को पक्षको दृष्टिकोण नबदलिएसम्म’ वासिङ्टनसँग सिधा वार्ता नगर्ने बताएका थिए।  

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पूर्वराष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा गरेको आणविक सम्झौता रद्द गरेका थिए र इरानमाथि कडा प्रतिबन्ध लगाएका थिए।  

तेहरान र विश्व शक्तिहरूबीच भएको त्यो सम्झौताले इरानलाई प्रतिबन्धबाट राहत दिने बदलामा उसको आणविक महत्त्वाकांक्षालाई सीमित गर्न बाध्य बनाएको थियो।  

‘उनीहरूले मध्यस्थकर्ता प्रयोग गर्न चाहन्थे, तर अब त्यो जरुरी छ जस्तो मलाई लाग्दैन,’ ट्रम्पले भने, ‘मलाई लाग्छ उनीहरू चिन्तित छन्, उनीहरू कमजोर महसुस गर्छन्। मैले उनीहरूलाई त्यस्तो महसुस गराउन चाहन्न, मलाई लाग्छ उनीहरू भेट्न चाहन्छन्।’  
गत महिना ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई आणविक वार्ताका लागि पत्र लेखेको र तेहरानले अस्वीकार गरेमा सैन्य कारबाहीको चेतावनी दिएको बताएका थिए।  

खामेनीले अमेरिकी धम्कीले ‘उनीहरूलाई कतै पुर्‍याउँदैन’ भन्दै इरानविरुद्ध ‘केही हानिकारक गरेमा’ जवाफी कदम चाल्ने चेतावनी दिएका थिए।  
गत हप्ता ट्रम्पले इरानले आणविक हतियार बनाउने प्रयास नछोडे ‘बमबारी हुन्छ’ भनेका थिए।  

इजरायलले इरानका दुई सहयोगी हमास (सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने प्यालेस्टिनी लडाकूहरू) र लेबनानको हिजबुल्लाहलाई ध्वस्त पारेपछि ट्रम्पको पहुँच इरानका लागि कमजोर अवस्थामा आएको छ। एएफपी

प्रकाशित: २२ चैत्र २०८१ १८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App