coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

७८ प्रतिशत नमुनामा डेल्टा भेरिएन्टः सुरक्षित रहन चिकित्सकको सुझाव

पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको छ। यी सबैमा ओमिक्रोन भेटिएको थियो। बाँकी नमुनामा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले बताइन्। ‘जिन सिक्वेन्सिङमा नेगेटिभ देखिएका २२ प्रतिशतबाहेक सबैमा डेल्टा भेरिएन्ट भेटियो’, उनले भनिन्। थप जिन सिक्वेन्सिङको काम भइरहेको डा. झाले बताइन्।

छिमेकी राष्ट्र भारत तथा विश्वका अन्य राष्ट्रमा ओमिक्रोन फैलिएसँगै नेपालमा पनि यो भेरिएन्ट फैलिएको आशंका गरिएको छ। तर यसबारे स्पष्ट हुन थप जिन सिक्वेन्सिङ गरेर हेर्न आवश्यक भएको कोभिड १९ उपचारमा संलग्न चिकित्सक बताउँछन्। ‘थप जानकारीका लागि नमुनाहरूको जिन सिक्वेन्सिङ गरेर हेर्नुपर्छ’, टिचिङ अस्पतालका वरिष्ठ फिजिसियन तथा कोभिड १९ संयोजक डा. निरज बमले भने।

उनका अनुसार पुसको १५–१६ गते कोभिडको बिरामी भर्नादर शून्य रहेकोमा अहिले गत २४ घण्टामा करिब एक दर्जन बिरामी भर्ना भएका छन्। डेल्टा र ओमिक्रोन दुवैले खोप नलिएका र विशेष गरी वृद्धवृद्धामा निमोनिया बनाउन सक्ने डा. बमले बताए। वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरेले कोभिड संक्रमण भई आउने बिरामीमा सामान्य रुघाखोकी र ज्वरो देखिएको बताए। धेरैजसो बिरामी एक डोजमात्र भए पनि खोप लगाइसकेका भएकाले उनीहरूमा समस्या जटिल नबनेको उनको विश्लेषण छ।

नेपालमा ओमिक्रोनसँगै डेल्टा भेरिएन्ट फैलिरहेको भए पनि धेरैजसोले खोप लिएको र कतिपयमा पहिल्यै संक्रमित भएर शरीरमा एन्टिबडी बनेकाले गम्भीर लक्षण नदेखिएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए। ‘अस्पतालमा संक्रमित भएर आउनेहरूमा सामान्य रुघाखोखी र जिउ दुख्ने समस्या देखिन्छ। डेल्टा भएर पनि शरीरमा एन्टिबडीका कारण गम्भीर लक्षण नभएको हुन सक्छ’, उनले भने। थप जिन सिक्वेन्सिङको अध्ययनबाट मात्र तथ्य पत्ता लगाउन सकिने पुनले बताए।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार एक साता पहिलासम्म १० प्रतिशत संक्रमणदर रहेकोमा अहिले ४० प्रतिशत बढीमा संक्रमण पुष्टि भएको छ। ३५ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये ५ जनाको आइसियुमा उपचार भइरहेको छ।

विश्वस्तरमा ओमिक्रोनको अस्पताल भर्नादर कम हुने र सिकिस्त नबनाउने भनिएका कारण अस्पतालमा देखिएका जटिल बिरामीलाई नियाल्दा उनीहरूमा डेल्टाको संक्रमण भएको हुन सक्ने डा. शाक्यले बताए।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले प्रदेश २ को जनस्वास्थ्य प्रयोगशाला, टिचिङ, वीर, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायतलाई कोेरोना भाइरसको जिन सिक्वेन्सिङ गर्न निर्देशन दिइसकेको छ।

खोप नलिएका र शरीरमा एन्टिबडी कमजोर हुँदै गएका व्यक्ति संक्रमणको जोखिममा हुने भएकाले सकेसम्म सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न चिकित्सकको सुझाव छ। खोप लिन बाँकी जनसंख्यालाई सकेसम्म छिटो खोप दिन पनि उनीहरूले सुझाएका छन्। ‘अहिलेको अवस्थामा मिश्रित भेरिएन्ट फैलिएको हुनाले सबैले मास्क लगाउने, भीडमा नजाने र दुई मिटरको दूरी कायम गर्ने, हातको सफाइ गर्नु नै उचित हुन्छ’, डा. पुनले भने। दोस्रो लहरको संक्रमण घटेपछि व्यापक रुपमा जमघट र भीडभाडयुक्त कार्यक्रम सञ्चालन भएकाले अहिले संक्रमण तीव्र रुपमा फैलिएको चिकित्सकहरूले औंल्याएका छन्।

कोरोना संक्रमणदर १६.३ प्रतिशत

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर बढेर १६.३ प्रतिशत पुगेको छ। अघिल्लो दिनको तुलनामा यो ४ प्रतिशतले बढी हो। एक साताअघिको तुलनामा १४ प्रतिशतले बढी हो। गत २४ घण्टामा परीक्षण भएका १५ हजार ३३ नमुनामध्ये २४ सय ४४ जनामा कोरोना पुष्टि भएको छ। नयाँ संक्रमितमध्ये सबै न्दा बढी काठमाडौं उपत्यकामा छन्। गत २४ घण्टमा काठमाडौंमा ९ सय ८० जना, ललितपुरमा २ सय २१ जना र भक्तपुरमा ८५ जना संक्रमित भेटिएका छन्।

थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ८ लाख ३३ हजार ९४ पुगेको छ। गत २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ६ सय ७ पुगेको छ।

हाल देशभरिमा ९ हजार ५ सय २२ सक्रिय संक्रमित छन्। तीमध्ये ८ हजार ८ सय ८७ जना होम आइसोलेसनमा छन् भने ६ सय ५५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन्। ९३ जनाको आइसियुमा र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: २८ पुस २०७८ ००:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App