१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

वीर अस्पतालको बेहाल

वीर अस्पताल (राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान) चरम आर्थिक संकटमा छ। चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि नै यो अस्पताल आर्थिक संकटमा फसेको हो। आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।

शय्या संख्या र सेवा विस्तार भए पनि सोही अनुपातमा बजेट विनियोजन हुनु त कता हो कता पहिलाको तुलनामा बजेट घट्दै गएपछि वीर अस्पताल आर्थिक संकटमा परेको लेखा शाखा प्रमुख थमनारायण शर्माले बताए। उनका अनुसार बजेट कम भएपछि बिरामीको खाद्यान्न, उपकरण मर्मत, सफाइ कर्मचारी र अक्सिजनको खर्च धान्न अस्पताललाई मुस्किल परेको छ। अस्पतालमा रिएजेन्ट, अपे्रसन थिएटर, प्रयोगशाला, एक्सरेलगायत विभागका लागि आवश्यक उपकरण तथा उपचार सामग्री किन्न नसक्ने अवस्था निम्तिएको उनले बताए।

लेखा प्रमुख शर्माका अनुसार वीरले दोब्बर क्षमता विस्तार गरिसकेको अवस्थामा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साबिकको भन्दा अझै कम बजेट दिएकाले जटिल परिस्थिति सिर्जना भएको हो। ४६० शड्ढया हुँदा जति बजेट आउँथ्यो ९६० शड्ढया पुगिसक्दा पनि पहिलाको भन्दा झनै कम बजेट विनियोजन गरिएको उनको भनाइ छ। त्यसमाथि भिआइपी र भिभिआइपी उपचार कक्ष विस्तार भएपछि स्वाभाविक रूपमा खर्च बढेको शर्माले बताए। ७०० शड्ढया निःशुल्क गरेपछि त झनै आर्थिक भार बढेको उनले जानकारी दिए। वीरमा दैनिक २५ सयदेखि ३ हजार बिरामी सेवा लिन पुग्छन्। आर्थिक वर्ष २०७८/७९ मा वीर अस्पतालका लागि २ अर्ब बजेट निकासा भएको थियो।

२०७९/८० मा १ अर्ब ४३ करोेड रूपैयाँ मात्र विनियोजन भयो। चालु आर्थिक वर्षमा ७३ करोड विनियोेजन गरिएको छ, जुन अस्पतालमा विस्तार भएको सेवा, सुविधा र कर्मचारीको खर्च धान्न पनि अपुग हुने बताइएको छ। गत वर्ष उपचार सामग्री खरिदमा मात्र ६० करोड ६० लाख रूपैयाँभन्दा बढी खर्च भएको थियो। ‘यो वर्ष कुल बजेट ७३ करोडले कसरी सबै खर्च धान्न सम्भव छ,’ लेखा प्रमुख शर्माले भने।

यसैबीच बिरामीलाई खाना खुवाउन हम्मे परेको खबर सञ्चारमाध्यममा आएपछि अर्थ मन्त्रालयले बिहीबार ४ करोड ५० लाख रूपैयाँ निकासा गरेको अनौपचारिक जानकारी प्राप्त भएको शर्माले बताए। अहिलेको संकटमा त्यति रकमले एक छेउ पनि टार्न नसक्ने भन्दै त्यसलाई वीरले स्विकार्न नसक्ने उनले बताए। ‘मन्त्रालयले दिन लागेको रकम आवश्यकताभन्दा निकै कम भएकाले लिन सकिन्नँ,’ उनले भने। विनियोजित बजेटमा पनि खाद्यान्न, अक्सिजन र मर्मतका लागि शून्य सिलिङ भएकाले थप संकट देखिएको अस्पतालको भनाइ छ। लेखा शाखा प्रमुख शर्माका अनुसार उधारोेमा कारोबार गरेका ‘पार्टी’हरूले भुक्तानीका लागि दैनिक गर्न थालेका छन्। कतिलाई छिट्टै तिर्ने भनेर, कतिलाई आन्तरिक बजेटबाट दुई/चार लाख तिरेर बाँकी पछि दिने भन्दै थामथुम पारिएको छ।  त्यसैगरी सफाइ कर्मचारी, सुरक्षाकर्मी, अस्थायी कर्मचारीको तलब भुक्तानी गर्न नसकिएको पनि उनले बताए। रात्रिकालीन सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई खाना भत्ता तथा थप भत्ता र कतिपयलाई कात्तिकदेखि तलब खुवाउन नसकिएको उनले जानकारी दिए।

खाद्यान्नको ४ करोड ५० लाख रूपैयाँ, अक्सिजनको १ करोड ८२ लाखभन्दा बढी उधारो रहेको र अन्य सामग्री खरिदको पनि करोडौं तिर्नुपर्ने स्थिति रहेको शर्माले जानकारी दिए। अस्पतालका अनुसार स्थायी कर्मचारीको तलब खर्च मासिक १६ करोड छ भने अस्थायी कर्मचारीलाई तलबबापत ७ करोड ७६ लाख छुट्याउनुपर्छ। अस्पताल स्रोतबाट भएको आम्दानीको ८० प्रतिशत मासिक तलबमै खर्च हुन्छ।

बजेट विनियोजन गर्ने क्रममै अस्पतालले १ अर्ब ५६ करोडको माग लिएर राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा सिलिङ पठाएको थियो तर ७३ करोड मात्र आयो। बजेट कम विनियोजन भएपछि अस्पतालले सुरुमा १ अर्ब २ करोड माग गरेको थियो तर त्यो पनि पूरा भएन। अस्पतालले पुनः ९२ करोड बजेट माग गरेको थियो। ती कुनै पनि माग सुनुवाइ नभएको गुनासो शर्माले गरे। ‘साउनयता आठ पटक बजेट माग गर्‍यौैं, प्रधानमन्त्रीको हातमा समेत पत्र थमायौं तर कसैबाट सुुनुवाइ भएन,’ उनले भने।

स्वास्थ्य मन्त्रालयले दिएको सिलिङअनुसार अर्थ मन्त्रालयबाट बजेट आउनुपर्नेमा स्वास्थ्यबाटै कटौती भएको अस्पतालको गुनासो छ। वीरको खर्चबारे अर्थ र स्वास्थ्य मन्त्रालयबीचमा पनि विवाद रहेको शर्माको भनाइ छ। ‘अर्थले स्वास्थ्यलाई वीरका लागि बजेट दिनू भनेको छ, स्वास्थ्यले अर्थले नै दिनुपर्छ भनेको छ,’ उनले भने। समयमै बजेट निकासा नभएपछि तलबभत्ता खान नपाउँदा अस्तालका कर्मचारीहरू आन्दोलनमा उत्रिने तयारीमा रहेको शर्माले बताए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यस्तो बेलामा खर्च कटौती गरेर अस्पताल सञ्चालन गर्नु उचित हुने सुझाए।

प्रकाशित: १३ पुस २०८० ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App