१० पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

नौं महिनामा उदयपुरको राजश्व सवा ३८ करोड नाघ्यो

चालु आर्थिक वर्ष ०८१–८२ पहिलो ९ महिनामा उदयपुरमा सवा ३८ करोडभन्दा बढी राजश्व सङ्कलन भएको छ । करदाता सेवा कार्यालय गाईघाटले साउनदेखि चैत मसान्तसम्म ३८ करोड २७ लाख ८४ हजार रुपैँया राजश्व सङ्कलन गरेको हो ।

यो कर सङ्कलन अङ्क लक्ष्यको ७२ प्रतिशत रहेको कार्यालयले जनाएको छ । आर्थिकवर्ष सुरुको साउनदेखि चैत मसान्तसम्ममा आकारको हिसावले सबभन्दा बढी आय करवापत  उठेको छ भने प्रतिशतका हिसावले बढी व्याज कर जम्मा भएको कार्यालय प्रमुख कर अधिकृत अशोकप्रसाद कुशवाहाले बताए ।

उनका अनुसार कार्यालयले आय करवापत ९ महिना अवधिमा २० करोड १८ लाख २४ हजार रुपैँया सङ्कलन गरेको छ । ९ महिनाको अवधिमा २९ करोड ८३ लाख ३५ हजार राजश्व उठाउने लक्ष्य लिएको कार्यालयले सङ्कलन गरेको रकम लक्ष्यको ६७.६५ प्रतिशत पुगेको हो । 

त्यसैगरी दोस्रो ठूलो रकम मूल्य अभिबृद्धि कर (भ्याट)वापत १६ करोड १ लाख ९६ हजार सङ्कलन भएको हाकिम कुशवाहाले बताएका छन् । उनका अनुसार यो अवधिमा भ्याटवापत २१ करोड १ लाख ६३ हजार उठाउने लक्ष्य कार्यालयको थियो । तर, भ्याटवापत सङ्कलित रकम लक्ष्यको ७६.२२ प्रतिशत पुगेको छ ।

तेस्रो ठूलो आकारमा सङ्कलित कर अन्तशूल्कवापत उठेको छ । अन्तशूल्कवापत कार्यालयले १ करोड २२ लाख २९ हजार रुपैँया उठाएको छ । कार्यालयले यो अवधिमा अन्तशूल्क १ करोड ३२ लाख ३४ हजार उठाउने लक्ष्य लिएको थियो । लक्ष्यनजिक अर्थात ९२.४ प्रतिशत अन्तशूल्क सङ्कलन गर्न सफल भएको कार्यालयले जनाएको छ ।

व्याज करवापत भने लक्ष्यभन्दा बढी ४९ लाख ७५ हजार रुपैँया राजश्व उठेको छ, जवकि यो अवधिमा व्याज कर ४५ लाख ४१ ह्जार उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यो अङ्क लक्ष्यको १०९.५६ प्रतिशत भएको कार्यालयले जनाएको छ । सबभन्दा कम राजश्व वहाल करवापत उठेको छ । अहिलेसम्म ३५ लाख ६० हजार वहाल कर सङ्कलन गरेको कार्यालयले यो अवधिमा ८९ लाख १५ हजार उठाउने लक्ष्य लिएको थियो । वहाल कर अहिलेसम्म ३९.९३ प्रतिशत मात्र उठेको छ ।  

सूचना अधिकारी कम्प्युटर अप्रेटर रेक मगरका अनुसार कार्यालयले विभिन्न ५ शीर्षकमा राजश्व सङ्कलन गर्ने गरेको छ । आय कर, भ्याट, अन्तशूल्क, व्याज कर र वहाल कर शीर्षकमा राजश्व उठाउने गरेको मगरले बताए । विगत केही महिनायता राजश्व सङ्कलन दर बढ्दै गएको पनि उनले बताए ।

आर्थिक वर्ष सुरुका ३÷४ महिनासम्म न्यून अङ्क दरले राजश्व उठ्ने गरेकोमा असोजयता बृद्धि हुँदै गएको छ । साल तमामी (असार मसान्त) नजिकिदै जाँदा राजश्व उठ्ने क्रम  बढ्दै गएको उनले बताए । चालुवर्षको ९ महिने अवधिमा ७१.५२ प्रतिशत राजश्व उठ्नुले लक्ष्य चुम्न सक्ने आँकलन कार्यालयको छ । चालुवर्ष कार्यालयले ५३ करोड ५१ लख ८८ हजार राजश्व उठाउने लक्ष्य तय गरेको अप्रेटर मगरले बताएका छन् । 

प्रकाशित: ११ वैशाख २०८२ १९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App