१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘अफसिजन’मा पनि चलायमान छ अन्नपूर्ण आधारशिविर

अन्नपूर्ण आधारशिविर क्षेत्र। फाइल तस्बिरः नागरिक

पदयात्रा पर्यटनमा मंसिरदेखि माघसम्मको समयलाई ‘अफसिजन’ मानिन्छ। उपयुक्त सिजन नपर्ने हुँदा कोरोना भाइरस संक्रमण सुरु हुनुअघि पनि यतिबेला पदयात्रा क्षेत्रमा विदेशी पाहुना निकै नै कम हुन्थे। आएका पाहुना पनि नयाँवर्ष र क्रिसमस मनाउने निहुँमा स्वदेश फर्किसकेका हुन्थे। आन्तरिक पाहुना त झनै कम हुने गरेका थिए।  

तर, पदयात्रा क्षेत्र पछिल्लो समय आन्तरिक पाहुनाका कारण चलायमान अवस्थामा छ। अफसिजनको यो समयमा पनि आन्तरिक पाहुनाका कारण पदयात्रा क्षेत्र चलायमान रहिरहन सकेको व्यावसायीले बताएका छन्। कोरोना संक्रमणको त्रास केही घटेको मौका पारेर अहिले आन्तरिक पर्यटक पदयात्रामा जान थालेका व्यावसायीको भनाई छ। अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा अहिले आन्तरिक पाहुना पर्याप्त रहेको स्थानीय व्यवसायीले बताएका छन्।  

आन्तरिक पाहुनाका कारण आधारशिविर मार्गको पर्यटन व्यवसाय अफसिजनमा पनि चलायमान रहेको उनीहरुले बताए। कोरोना संक्रमण पछिको अप्ठेरो अवस्थामा पनि आन्तरिक पाहुनाको चहलपहल देख्दा व्यवसायी उत्साही छन्। पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङ भन्छन, ‘आधारशिविरसम्म यो बेला पनि आन्तरिक पाहुना पुगेका छन्। घान्द्रुकसम्म त धेरै नै आउने गरेका छन।’ अहिले पनि आन्तरिक पर्यटकको चहलहपहल पदमार्गमा रहेको उनले बताए। ‘विदेशी भने एकाध मात्र देखिन्छन्। तर, आन्तरिक भने पर्याप्त नै मान्नुपर्छ,’ उनले भने।  

उनका अनुसार पदयात्रा पर्यटनका लागि यतिबेला अफसिजन भएपनि आन्तरिक पाहुना आउँदा व्यावसायी उत्साही छन्। उनका अनुसार मंसिरदेखि सुरु हुने अफसिजन माघसम्म रहन्छ। तर अफसिजनमा पनि आधारशिविरको मुख्य प्रवेशद्वार मानिने घान्द्रुकमा दिनमा दुईसय हाराहारीमा आन्तरिक पाहुना उक्लिने गरेका छन्। 

‘विद्यार्थी समुहको भ्रमण पनि उत्तिकै छ। शुक्रबारको आगमन एकदमै राम्रो हुन्छ। दिनमा दुईसय हाराहारीमा पाहुना घान्द्रुक आएका छन्,’ उनले भने, ‘बिदाको दिन परेमा त घान्द्रुक करिब भरिभराउ हुन्छ।’ कम्तिमा २५ प्रतिशत अकुपेन्सी नियमित रहेको उनले बताए। घान्द्रुकमात्र नभई आधारशिविर पदमार्गमा पर्ने छोमरोङ र घोरेपानी, टाढापानी क्षेत्रमा पनि उत्तिकै आकारमा पाहुना रहेको उनले सुनाए।  

एबिसीमा पनि अहिले आन्तरिक पाहुनाको भीडभाड रहेको छ। छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङ भन्छन्, ‘मौसम खुलेको छ। अफसिजनको समय भएपनि हिमपात भएको छैन। त्यसैले आन्तरिक पाहुना आएका छन,’ सचिव गुरुङले भने, ‘अहिले दिनमा एबिसीसम्म ५० जनाजति आन्तरिक पाहुना उक्लिने गरेका छन्।’ 

उनका अनुसार यो सिजनमा नेपाली पदयात्री पनि कम हुने समय हो। ‘कोरोना अघिको भन्दा त अहिलेको आगमन थोरै हो। तर, संक्रमणपछिको आगमनको दृष्टिले भने सकारात्मक लिनुपर्छ,’ उनले भने। कोरोना संक्रमणपछिको यो अवस्थामा एबिसीले पर्यटनमा ‘पिकअप’ लिएको उनले बताए। ‘अफसिजनमा यो आकारमा आन्तरिक पाहुना आउलान भनेर हामीले अनुमान पनि गरेका थिएनौ,’ उनले भने।  

पाहुना पुगेकै कारण एबिसीका सबै होटल अहिले चल्तीकै अवस्थामा छन। एबिसी र माछापुच्छे« आधारशिविर (एमबिसी) ले २५० जनाकै हाराहारीमा पाहुना राख्ने क्षमता राख्छन्। ‘मंसिर पहिलो सातादेखि हिमपात हुने भएकोले विदेशी र नेपाली दुवै पाहुना घट्थे। तर, कोरोनापछि आन्तरिकको आगमनमा युवा युवतीको संख्या अधिक छ,’ उनले भने, ‘व्यावसायीलाई राहत मिलेको छ।’ 

अहिले एबिसी क्षेत्रमा आन्तरिक पाहुनाका लागि करिब ४० प्रतिशत छुट सहितको प्याकेज स्थानीय व्यवसायीले दिएका छन्। ‘आएका पाहुनाले पनि छुट सहितको खर्चमा बस्न पाउँदा महंगो ठानेका छैनन, हामीले पनि सकेजतिको सुविधा दिएका छौं। किनकी आन्तरिक पाहुनाको आगमन नै हाम्रो आधार हो ,’ उनले भने।  

छोमरोङ पर्यटन व्यावस्थापन समितिका उपाध्यक्ष जगनराज गुरुङका अनुुसार एबिसीका होटल एबिसी क्षेत्रमा अहिले आन्तरिक पाहुनाको चहलपहल छ। जगन आफै पनि एबिसीका होटल व्यावसायी हुने। उनले एबिसीमा अन्नपूर्ण गेष्टहाउस चलाएका छन्। ‘मौसम राम्रो छ। मान्छेको चहलपहल उत्तिकै छ, सन्तोषजनक आगमन हो,’ उनले भने, ‘पहिला विदेशी हुन्थे। कोरोनापछि आन्तरिक पाहुना आएका छन। हामी धानिन सकेका छौ।’ पदयात्रा क्षेत्र आन्तरिक पाहुनाको भरमा टिकाउ हुने अवस्था रहेको उनले बताए। ‘विदेशी पर्याप्त हुँदा ढुक्कको व्यवसाय थियो। विदेशीले महिनादिन अघि बुकिङ गर्दथे। तर, आन्तरिकले एकैपटक होटलमा बास चाहियो बस्नै आउँछन्,’ उनले भने।  

‘पर्यटन सबै मौसमका लागि उपयुक्त’ भनेर पछिल्लो समय प्रवद्र्धन गर्न थालेसँगै बाहै्रमास पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न थालेको व्यावसायी बताउँछन्। पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेल भन्छन, ‘वर्षा र हिउँदमा पर्यटन कम हुने हो। नत्र बाह्रैमास अब पर्यटन चल्नुपर्छ भनेर व्यावसायीले प्रवद्र्धन गरिरहेका छन्। कोरोनापछिको यो समयमा बाह्रैमास पर्यटकीय गतिविधि चल्न जरुरी छ।’  

पौडेलका अनुसार क्रिसमस र न्यूइयरका कारण यो बेला यूरोपियन र अमेरिकन पर्यटक स्वदेश फर्किन्थे। हिमपातका कारण यो बेला पदयात्रा सहज हुँदैनथ्यो। हिमाली क्षेत्रका मान्छे आफैमा जाडो छल्न बेसी झर्ने गर्दथे। मौसमी हिसाबले सेप्टेम्बरदेखि अक्टोम्बर र फेबु्रअरीदेखि अप्रिलसम्म पदयात्राको सबैभन्दा उत्तम समय हो। वर्षामा पानी परिरहने भएकोले केही कम हुन्छ।

‘यो बेला हिउँ पर्ने र हिमपहिरोको जोखिम हुने भएकोले हिमाल चढ्नेका लागि जोखिमपूर्ण हुनसक्छ । नत्र पदयात्रामा समस्या छैन,’ पौडेलले भने, ‘आन्तरिक पाहुनाको रुचाईको क्षेत्र पनि पदयात्रा हो। त्यसैले पछिल्लो समय पदयात्रा क्षत्रेमा पर्याप्त आन्तरिक पाहुना पुग्न थालेका छन्।’ कोरोना संक्रमणको यो बेला पाहुनाले देखाएको चाहनाले पदयात्रा क्षेत्र जागा रहन सकेको उनले बताए।  

प्रकाशित: २३ मंसिर २०७८ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App