आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको मुख्य आकर्षक ५५ हात लामो ल्योसिंद्य (लिंगो) आइतबार उठाइँदै छ। भक्तपुर नगरपालिका–५ ल्योसिंखेलमा साँझ यो लिंगो उठाउने कार्यक्रम तय गरिएको हो। डोरीको सहायताले सयौं युवाले तानेर लिंगोलाई उठाउने परम्परा रहेको छ। यो नै भक्तपुरको बिस्का जात्राको मुख्य आकर्षण हो।
लामो अनि ठुलो भएकाले घन्टौंको प्रयासपछि मात्रै युवाहरू लिंगोलाई उभ्याउन सफल हुन्छन्। साँझदेखि लिंगो उठाउन सुरु गरे पनि राति अबेरसम्ममा उठाइसक्नुपर्ने परम्परा रहेको छ। कुनै वर्ष उठाउनै नसकेर भोलिपल्ट मात्रै उठाएको इतिहास पनि छ।
प्रत्येक वर्षको अन्तिम दिन (यो वर्ष चैत ३१ गते) यही ठाउँमा ल्योसिंद्य उठाइन्छ। प्रत्येक वर्ष ल्योसिंद्य उठाउने गरेकै कारण यहाँको नाम ल्योसिंखेल भनेर परिचित छ। ल्योसिंद्य उठाउनुअघि ल्योसिंद्यको टुप्पोमा हात अर्थात् काठ राखेर मानिसको हात राखे जस्तै टाउको बनाइन्छ।
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरले त्यसका लागि दिउँसोदेखि हात राख्ने काम सुरु गर्ने जनाएको छ। साथै ल्योसिंद्य तान्नकै लागि त्यही बेला डोरी पनि बाधिन्छ। यही डोरीको सहायताले लिंगो तान्ने गरिन्छ। लिंगो तान्नुअघि साँझ गहिटीमा राखिएको भैरवनाथको रथलाई ल्योसिंखेल तानेर ल्याइपुर्याउने गरिन्छ। भैरवनाथको रथ ल्योसिंखेल पुर्याएपछि लिंगो तान्ने क्रम सुरु हुन्छ। लिंगो तान्न सफल भएपछि त्यही ठाउँमा भैरवनाथ र भद्रकालीको रथ जुधाउने परम्परा छ।
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरकी प्रमुख खीमा ओलीले जात्राका लागि आवश्यक लिंगो यसअघि नै ठिक्क पारिसकेको जनाइन्। लिंगोलाई भक्तपुरको लिंगो वनबाट ल्याएर जात्रास्थल ल्योसिंखेलमा महिना दिनअगाडि नै पुर्याइसकेको जानकारी उनले गराइन्।
जात्रा हेर्नका लागि हजारौंको भीड लाग्ने गर्दछ। विशेष गरेर काठमाडौं, ललितपुर, भक्तपुरसहित बनेपा, पनौती, धुलिखेललगायत नजिकका जिल्लाहरूबाट हजारौं जात्राप्रेमीहरू भक्तपुर आउने गर्दछन्। भीड हुने कारणले नै यस दिन जात्रास्थल वरिपरि निजी सवारी पार्किङ गर्ने ठाउँहरूको पनि निर्धारण गरिएको छ। जात्रास्थल ल्योसिंखेल अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट करिब पाँच सय मिटर र आदर्शबाट दुई तीन सय मिटरको दुरीमै रहेको छ।
भक्तपुरको बिस्का जात्रा चैत २८ गतेदेखि सुरु भएको थियो। भैरवनाथको रथ तानेर सुरु भएको यो जात्राको क्रममा वर्षको अन्तिम दिन यही लिंगो उठाउने र वर्षको पहिलो दिन वैशाख १ गते साँझ यही लिंगो ढाल्ने गरिन्छ। विश्व प्रसिद्ध भक्तपुरको बिस्का जात्रा पुस्तकका लेखक मुक्तिसुन्दर जधारीका अनुसार विः स्यात अर्थात् सर्प मारियो भन्ने किंवदन्ती यस लिंगो जात्राको रहेको छ।
लिंगो उठाइसकेपछि पहिला नै लिंगो झुन्डाइएको नेपाल भाषामा हलिपत (लामो कपडा, तस्बिरमा हेर्नुहोला नबुझेमा) सर्पको रूपमा लिइन्छ र सर्प मारी विजयी प्राप्त भयो भन्ने सन्दर्भमा यो जात्रा चलाइएको किंवदन्ती छ। तथापि यसका अन्य विविध पाँचवटा किंवदन्दीहरू प्रचलनमा रहेको उनले जनाए।
प्रत्येक वर्ष नयाँ वर्ष सुरु हुनु चार दिनअगाडि र चार दिनपछाडि गरी आठ रात नौ दिन भक्तपुरको बिस्का जात्रा धुमधामले मनाउने चलन छ। जात्रा प्रत्येक वर्ष वैशाख ५ गतेसम्म चल्ने गर्दछ।
प्रकाशित: ३१ चैत्र २०८१ ०८:१२ आइतबार