coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘ग्रेट वाल’ जस्तै पदमार्ग पर्खालले घेरिँदै हेलम्बु

अतिथि

नेपाली ग्रेटवालको संज्ञा दिएर हेलम्बुमा बनाउन थालेको पदमार्ग (ग्रेट वाल) पर्खाल । तस्बिर : ध्रुब/नागरिक

सुन्दा अचम्म लाग्ला, चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ। हेलम्बु हिमालयन सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले तीन वर्षदेखि गाउँपालिका घेर्ने गरी महत्वाकांक्षी पर्खाल (ग्रेट टेल) बनाइरहेको हो। चीनको ग्रेटवाल जस्तै आकर्षणको केन्द्र बनाएर वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नेपाली ग्रेटवालको संज्ञा दिएर पदमार्ग पर्खाल बनाउन थालिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्।  

‘यो महत्वाकांक्षी आयोजना हो। तर सम्पन्न गरेरै छाड्ने संकल्प गाउँपालिकाले लिएको छ,’ उनले नागरिकसँग भने। हालसम्म पाँच सय मिटर पदयात्रा पर्खाल निर्माण कार्य सकिएको शेर्पाले जानकारी दिए। उनका अनुसार साविक इचोक गाविसको बुद्धपार्क र नागिडाँडाबाट निर्माण अघि बढेको पदमार्ग पर्खाल पाकेडाँडा, ठाडेपाटी, घ्योछाडी, सेमिसिदाङ, पेम्थाङ, ढुम्चु, आमायांग्री, ज्योमोथाङ, सेर्माथाङ, नागिडाँडा पुगेर टुंगिनेछ।  

लाङटाङ, गोसाइकुण्ड, ग्वोन्जलापास र सुन्दरीजल पदमार्ग जोड्ने पदमार्ग पर्खालले नुवाकोट, रसुवासहित सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका छुन्छ। २ हजार ४ सय मिटर उचाइबाट सुरु भई पाँच हजारभन्दा बढी उचाइमा पुग्ने पर्खालले गाउँपालिकाको महांकालबाहेक साविक हेलम्बु, इचोक, किउल र पाल्चोक गाविस घेर्छ। चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको अपार लहर देखेपछि पदमार्ग पर्खालको सोचाइ आएको अध्यक्ष शेर्पा बताउँछन्। ‘हेलम्बु आफैंमा पर्यटकीय गाउँ हो। त्यसैले वार्षिक लाखौं पर्यटक पदमार्ग पर्खाल हेर्न आउँछन् भन्ने विश्वास गाउँपालिकाले लिएको छ,’ उनले भने।  

पदमार्ग पर्खाल स्थानीय स्लेट ढुंगा प्रयोग गरेर बनाइँदै छ। आकर्षक ढंगले काटिएका ढुंगा बिछ्याइएका पर्खालको भुइँमा हरेक खण्ड १० वटा दरका सिँढी (खुड्किलो) बनाएर जोडिने छ। साढे दुई मिटर चौडा हुने पदमार्गको दायाँ–बायाँ साढे एकदेखि साढे दुईमिटर अग्लो पर्खाल लगाइनेछ। ‘ठाउँ–ठाउँमा पर्यटक बिसौनी हुने पर्खालमा बिछ्याइएका ढुंगामा स्थानीय संस्कृति झल्काउने शिलालेख खोप्छौं,’ अध्यक्ष शेर्पाले भने।  

नेपालमा ह्योल्मो समुदायको लोपोन्मुख संस्कृति हेलम्बुमा मात्रै देख्न पाइन्छ। हेलम्बु ‘गुम्बाको गाउँ’ नामले समेत चर्चित छ। यहाँ ६० हाराहारीमा साना–ठूला गुम्बा छन्। शेर्मा, ह्योल्मो समुदायको बाहुल्य रहेको यो गाउँपालिका बौद्धधर्म गुरु पद्यमसम्भवको साधनास्थलको रूपमा समेत प्रसिद्ध छ। त्यसैले यहाँ घुम्नुका साथै ध्यान, साधना गर्न वार्षिक हजारौंको संख्यामा देश/विदेशबाट पर्यटक तथा बौद्धमार्गी आइपुग्छन्। हेलम्बु धार्मिक, सांस्कृतिक पर्यटनको गन्तव्यसमेत रहेकाले पदमार्ग पर्खालको महत्व अझ बढ्ने उनको विश्वास छ।  

प्रारम्भिक १० किलोमिटर दूरीको डिपिआर (विस्तृत परियोजना अध्ययन प्रतिवेदन) तयार पारेर गाउँपालिकाले पदमार्ग पर्खाल निर्माण थालेको थियो। अहिले ६० किमिकै डिपिआर भइसकेको छ। पहिलो वर्ष गाउँपालिकाले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसैबाट १ सय १० मिटर पर्खालको काम सकिएको थियो। दोस्रो वर्ष गाउँपालिकाले ३० लाख रूपैयाँ विनियोजन गर्‍यो। त्यस्तै, वाग्मती प्रदेश सरकारले ५० लाख रूपैयाँ छुट्याएकामा २५ लाख रूपैयाँको मात्र काम हुन सक्यो। यस वर्षका लागि प्रदेश सरकारले नै पर्खाल निर्माणका लागि २० लाख रूपैयाँ विनियोजन गरेको छ।  

पर्खाललाई गाउँपालिकाको गौरवको आयोजनामा समेट्दै पालिकाले यो वर्ष ७५ लाख रूपैयाँका दुईवटा ठेक्कामार्फत काम गरिरहेको छ। त्यस्तै पर्यटन विभागले पर्खाल निर्माणमा ४ करोड रूपैयाँ अनुदान दिएको छ। ठेक्कामार्फत विभागले समेत काम सुरु गरिसकेको अध्यक्ष शेर्पाले जानकारी दिए।

सुरुआतमा उपभोक्ता समितिमार्फत पर्खालको काम थालिएको थियो। पछिल्ला वर्ष ठुलो बजेट विनियोजन हुन थालेकाले टेन्डर प्रक्रियाद्वारा पदयात्रा पर्खालको काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ। ‘तीव्र गतिमा काम हुन थालेकाले चालु वर्षको असारसम्म कम्तीमा पाँच किलोमिटर पर्खाल निर्माण पूरा हुन्छ,’ शेर्पाले भने।  

६० किमि पदमार्ग पर्खाल बनाउन चार अर्ब रूपैयाँ लाग्ने अनुमान गर्दै गाउँपालिकाले व्यक्तिगत र संस्थागत सहयोग जुटाउने नीति अघि सारेको छ। ‘व्यक्ति, परिवार वा संस्थाले मापदण्डभित्र रहेर जति दूरीको पर्खाल बनाउँछन्, त्यतिमा उनीहरूको नाम लेखिदिने नीति अघि सारेका छौं,’ महत्वकांक्षी योजना सम्पन्न गर्न गाउँपालिकाले अघि सारेको नीति सुनाउँदै अध्यक्ष शेर्पाले भने।  

उनका अनुसार ६० किमि पदमार्ग पर्खाल घुम्न एक साता समय लाग्नेछ। पदमार्ग पर्खालका ठाउँ–ठाउँमा सोलार बत्ती, पार्क, भ्युटावर आकर्षणका रूपमा रहनेछन्। पदमार्ग पर्खालमा पर्ने भेन्थाङमा रहेको बिहाल चौरलाई हिमाल आरोहणको तालिम केन्द्र बनाउने नीति पालिकाले गाउँसभाबाट पारित गरेको छ। ‘भेन्थाङ आधा दर्जन हिमालको आधार शिविर पनि हो। तर, आरोहण सुरु हुनसकेको छैन,’ शेर्पा बताउँछन्।

हिउँदमा हिउँले ढाकिने पदमार्ग पर्खाल यात्राका क्रममा पाँचपोखरी, गोसाइँकुण्डका साथै जुगल, गणेश, यांग्री, लाङटाङ माउन्टेन फ्लाइटबाट हेर्न सकिने ८० प्रतिशत हिमाल देखिने उनले जानकारी दिए। ‘पर्खालमा पर्ने पाकेडाँडाबाट सर्वोच्च शिखर सगरमाथाको चुचरोसमेत देख्न सकिन्छ,’ उनले भने। उनका अनुसार सम्पदा, प्रकृति तथा पर्यावरणीय दृश्य, जंगली जनावर र स्थानीय धर्म, संस्कृति अवलोकन पदयात्रा गर्दाका प्रमुख विशेषता हुनेछन्। रसुवा र नुवाकोटका बस्तीसमेत नियाल्न सकिने पदयात्रामा हेलम्बु क्षेत्रमा रहेका पूरै धार्मिक तीर्थस्थलको परिक्रमा हुने भएकाले गाउँपालिकाले निर्माणाधीन ‘ग्रेट टेल’लाई ‘धर्मचक्र पर्खाल’को रूपमा समेत जोडेको छ।  

६० किमि पर्खाल पूरा हुँदा चीनपछिको दास्रो लामो ग्रेटवाल बन्ने अध्यक्ष शेर्पा बताउँछन्। ‘नेपाललाई ग्रेटवालको देश भनेर विश्वमा चिनाउन चाहन्छौं,’ उनले भने। उनका अनुसार ग्रेटवाल क्षेत्रमा प्याराग्लाइडिङ, क्यानोनिङ, माउन्टेन फ्लाइटलगायत साहसिक खेल सञ्चालनमा ल्याउने गाउँपालिकाको योजना छ। काठमाडौं उपत्यकामा बस्ने ५० लाख जनसंख्या र विदेशी पर्यटकलाई हेलम्बु ग्रेटवालले आकर्षित गर्ने गाउँपालिकाको विश्वास छ। ‘राजधानीनजिक घुम्ने भरपर्दो ठाउँ छैन। अब त्यो हेलम्बु ग्रेटवाल बन्ने छ,’ शेर्पा सुनाउँछन्।

‘नेपाललाई ग्रेटवालको देश भनेर विश्वमा चिनाउँछौं’
निमाग्याल्जेन शेर्पा, अध्यक्ष, हेलम्बु गाउँपालिका

हेलम्बु सुन्दर चर्चित पर्यटकीय गाउँ हो। लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने हेलम्बु पदमार्ग पनि हो। यहाँ थुप्रै पदमार्ग थिए। मोटरबाटो पुग्न थालेसँगै पदमार्गहरू हराउँदै गए। घुम्न आउने विदेशीको संख्यामा कमी आउन थाल्यो। कसरी पर्यटन प्रवद्र्धन गर्ने भन्ने चिन्ता थपिएकै बेला मैले गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाएँ। पर्यटन प्रवद्र्धनमा ठूलै योजना ल्याउनुपर्छ भन्ने ठानेर ग्रेटटेलको महत्वकांक्षी परियोजना अघि सारियो।  

नजिकको काठमाडाैं उपत्यकामा ५० लाख मान्छेको बसोबास छ। विदेशी पनि काठमाडौंमै आउँछन्। तर नजिक घुम्ने गन्तव्य छैन। उनीहरूलाई घुम्ने भरपर्दो विकल्प अब हेलम्बु ग्रेट टेलले दिनेछ। विदेशी र उपत्यकामा बस्ने आधा जनसंख्या मात्रै वार्षिक हेलम्बु उतार्न सकिए यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ। यहाँको अर्थतन्त्र कायापलट हुन सक्छ। हेलम्बुको जनसंख्या २० हजार मात्र छ। विभिन्न धार्मिक ग्रन्थमा हेलम्बुमा धर्मचक्र पर्खाल बनाउनु भनेर लेखेको पनि भेटियो। त्यसैले यो पर्खाल उतिबेलैको सोच रहेछ। गाउँपालिका अहिले त्यसलाई पूरा गर्न कम्मर कसेर लागेको छ। यहाँ ५०/६० वटा गुम्बा छन्। चर्चित धार्मिक स्थल पनि छन्। ती घुम्न एउटा चक्र पूरा गर्नुपर्छ। यही चक्रमा ग्रेट टेल बनिरहेको छ।

हेलम्बु मेलम्ची खानेपानी आयोजनाको मुहान पनि हो। त्यसैले हेलम्बु अहिले देशविदेशसम्मै परिचित छ। नेपालमा पर्यटन बढाउने कुरा मात्र भयो। तर कसरी बढाउने भन्ने योजना भएन। हामीले योजना बनाएरै ग्रेट टेल बनाउन थालेका हौं। ६० किमि पर्खाल पूरा हुँदा यो चीनको ग्रेटवालपछिको विश्वकै दोस्रो लामो टेल बन्नेछ। हामी नेपाललाई ग्रेट टेलको देशको रूपमा विश्वमाझ चिनाउन चाहन्छौं। बल्ल ५ सय मिटर पर्खाल बन्दा थामिनसक्नु गरी आन्तरिक पर्यटकको भीड लाग्न थालिसकेको छ। हेलम्बु ग्रेट टेललाई प्रदेशको गौरवको आयोजनामा समेट्न गाउँपालिकाले पहल गरिरहेको छ।

प्रकाशित: २६ फाल्गुन २०७७ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App