१८ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

‘हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा परे’

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्ने गरेको बताएका छन् । निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच र बुझाइ छ भन्ने प्रश्न पनि उनले उठाए ।

भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै ढकालले कुनै व्यवसाय सञ्चालन गर्नु व्यवसायी वा व्यक्तिको मात्र फाइदाका लागि नभई आमनागरिकका लागि समेत हुने स्पष्ट पारे । व्यवसाय फाइदाजनक नभए टिकाउ हुन नसक्ने उनको भनाइ थियो ।

उनले उद्योग–व्यवसाय सञ्चालनको अर्थ रोजगारी सिर्जना, राज्यलाई राजस्व योगदान, पूर्वाधार निर्माण र आमनागरिकलाई सेवा उपलब्ध गराउनु हो भन्ने सन्देश दिनुपर्ने बताए । यसबारे आमनागरिकलाई बुझाउन आवश्यक रहेको उनले उल्लेख गरे ।

ढकालका अनुसार महासङ्घले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेझैँ निजी क्षेत्र, औद्योगिक प्रतिष्ठान र कलकारखानालाई हडताल, आगजनी र तोडफोड गर्न नपाइने क्षेत्रका रूपमा प्राथमिकतामा राखी योजनाबद्ध खाका तयार गरी सरकारलाई बुझाएको छ । वर्तमान मन्त्रिपरिषद्ले यस विषयमा छिट्टै निर्णय गर्ने विश्वास उनले व्यक्त गरे ।

राजनीति गर्नेले राजनीति र जागिर गर्नेले जागिर छोड्न सक्ने भए पनि व्यवसायीले जस्तोसुकै अवस्थामा पनि व्यवसाय छोड्न नसक्ने ढकालको दाबी थियो । उनले आफ्ना कम्पनीअन्तर्गत २० हजार जनाले काम गरिरहेको र करिब एक लाख मानिस आश्रित रहेको उल्लेख गर्दै व्यवसाय छाड्दा रोजगारीमा गम्भीर असर पर्ने बताए ।

निजी क्षेत्र नभएको भए मुलुकको अवस्था कस्तो हुन्थ्यो भन्दै प्रश्न उठाउँदै ढकालले सरकारी निकायले वार्षिक तीन हजार ५०० देखि चार हजार जनालाई मात्र रोजगारी दिने गरेको र निजी क्षेत्रले ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गरिरहेको बताए । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि आफूले पहल गरिरहने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा पनि ढकालले जोड दिए । छोटो समयमा महासङ्घको उचाइ बढेकाले त्यसलाई निरन्तरता दिन सहमतिमै नेतृत्व चयन आवश्यक रहेको उनले बताए ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले स्थानीय सरकार निजी क्षेत्रको साथमा रहेको बताइन् । खुला सीमासँग चुनौतीसँगै अवसर पनि रहेको उनको धारणा थियो ।

महासङ्घका उपाध्यक्ष हेमराज ढकालले युवापुस्तालाई बेवास्ता गर्दा मुलुकमा समस्या बढेको बताए । मुलुकमा सम्भावना धेरै रहेकाले कम लगानीमा पनि राम्रो प्रतिफल लिन सकिने उनले उल्लेख गरे ।

महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रले मुलुकमा स्थायित्व खोजिरहेको बताए । उनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्नेमा जोड दिए । महासङ्घ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले निर्माण भइसकेको विमानस्थल नियमित सञ्चालन नहुँदा निजी क्षेत्र निराश बनेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रको प्रतिनिधिका रूपमा सङ्घले राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासमुखी नीतिलाई सरकार तथा राजनीतिक दलहरूको मुख्य एजेन्डा बनाउन माग गर्दै आएको बताए ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दु, महासचिव कृष्णप्रसाद घिमिरेलगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको सङ्घका सचिव मङ्गल भण्डारीले जानकारी दिए ।

 

 

 

प्रकाशित: २६ पुस २०८२ २२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App