नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिकलाई समुन्द्रको संज्ञा दिएका छन् । नागरिकले चलाएको ‘म नागरिक म बनाउँछु नेपाल’को पहिलो अंकमा वक्ताका रुपमा सहभागी भट्टराईले विगतमा आफू पनि विभिन्न अभियानमा सहभागी भएको भन्दै अभियान बाढी र राजनीति समुन्द्र भएको बताए ।
उनले भने, ‘अभियान बाढी हो, राजनीति समुन्द्र । अभियान राजनीतिसम्म पुग्दा संग्लिँदै शान्त हुन्छ।’
उनले राजनीतिमा पुस्तान्तरण अनिवार्य भएको बताए । उनले भने, ‘नेतृत्व आर्यघाटमा पुगेपछि हस्तान्तरण हुने अभ्यास छ। हालसम्म एमाले अपवाद थियो। केही नेता बिदा भएका छन्। एमालेमा सम्मानजनक बिदाइको व्यवस्था थियो। ७० वर्ष , दुई पटक मात्रै कार्यकारी पद। विविध कारणले त्यो हटाइयो।’
उमेर हदको विषय अब राज्यकै कानुनमा व्यवस्था गर्नुपर्ने तर्क उपमहासचिव भट्टराईको छ । उनले भने, ‘अब राज्यकै कानुनमा त्यो व्यवस्था गर्नुपर्छ। राजनीतिक दल सम्बन्धी ऐनमै यो व्यवस्था गरौँ। त्यसो हुँदा राजनीतिक दलमा अनिवार्य हुन्छ। जसले लोकतान्त्रिक हुन मद्दत गर्छ।’
प्रकाशित: १८ माघ २०८२ १८:५४ आइतबार





