पोखरामा केहीदिन अघि मात्र ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आयो। पर्यटकीय क्षेत्र लेकसाइडमा संचालनमा आएको टेम्पल बेलमा जग्गा सहित करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी छ। आगामि बैशाखदेखि पूर्ण रुपमा संचालनमा ल्याईने होटलमा पर्यटन क्षेत्रका लागि आवश्यक पर्ने सबैखालका सुविधा उपलब्ध रहेको संचालकले बताएका छन्।
टेम्पल बेल एउटा उदाहरण मात्र हो, पोखराको पर्यटन क्षेत्रमा पछिल्लो ६ महिना अवधिमा कम्तिमा आठवटा नयाँ होटल थपिएको व्यावसायीले बताएका छन्। केही होटल अझै थपिने क्रममा रहेको उनीहरुको भनाई छ। पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना रहेको भन्दै धमाधम लगानी बढाईरहेको व्यावसायीले बताएका छन्। होटल क्षेत्रमा मात्र भईरहेको लगानी ठूलो रहेको उनीहरु बताउँछन्।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार राजमार्गको पहूँच बिस्तार अन्तिम चरणमा पुगेको, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा बनेको र पर्यटन क्षेत्रमै सम्भावना रहेको भन्दै पुराना र केही नयाँ व्यावसायीले समेत पर्यटन क्षेत्रमा धमाधम लगानी गरिरहेका छन्।
‘गत अक्टोवर यतामात्र आठवटा नयाँ होटल संचालनमा आएका छन्। पृथ्वी राजमार्ग बिस्तार र विमानस्थल निर्माण सुरु भएपछि यी होटल बन्न थालेका थिए। अहिले पूर्णता पाएका छन्। अझै केही होटल थपिने क्रममा छन,’ होटल संघ पोखराका पूर्व अध्यक्ष समेत रहेका पराजुलीले भने, ‘पर्यटक आगमन सन्तोषजनक नभएपनि पर्यटन क्षेत्र अझै पनि आशावादी छ। व्यावसायीले लगानी बढाईरहेका छन।’ पराजुलीका अनुसार पर्यटन क्षेत्रमा आशाको त्यान्द्रो अझै पनि बाँकी छ। जसले गर्दा लगानी थपिने क्रम चलिरहेको छ।
‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भईरहँदा व्यावसायीले होटल बनाउन थालेका थिए। विमानस्थल पनि तयार भयो, राजमार्ग बिस्तार पनि अन्तिम चरणमा पुगेको छ। यति नै बेला पोखराबाट अन्तर्राष्ट्रिय उडानको सुरुवात पनि भएको छ,’ उनले भने, ‘पर्यटन क्षेत्र सुखद् दिनको पर्खाइमा छ। कोभिड संक्रमणपछिको समय पर्यटन क्षेत्रका लागि सकसपूर्ण रहेपनि अब भने सहज हुने देखिएको छ।’
‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पामा पर्यटन व्यावसायीद्वय विश्वराज पौडेल र भीष्मराज पौडेलसहितको चिल्ली ग्रुपले लगानी गरेको छ। हालैमात्र सञ्चालनमा आएको होटल नेपाली मौलिकतामा आधारित र अन्तर्राष्ट्रियस्तरको भएको होटलका अध्यक्ष विश्वराज पौडेलले बताए। बुटिक अवधारणा अनुसार निर्माण गरिएको होटलमा नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको छ। होटललाई पर्यावरणमैत्री बनाइएको सञ्चालकको भनाई छ। जसको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई मौलिकतासँगै आत्मीयता प्रदान गर्ने उनको भनाई छ।
करिब साढे २ रोपनी क्षेत्रफलमा होटल तयार पारिएको प्रबन्ध निर्देशक भिष्मराज पौडेलले जानकारी दिए। होटलमा कुल ५५ कोठामध्ये ४७ डिलक्स बुटिक, ५ सुपर डिलक्स, २ जुनियर सुइट र एउटा प्रेसिडेन्सियल सुइट रहेको उनले बताए। कोठबाहेक स्वीमिङ पुल, सभासम्मेलन हल लगायतका सुविधा पनि रहेका छन।
अध्यक्ष पौडेलका अनुसार होटलमा स्वदेशी पाहुनाका लागि सिंगल रुमको ७ हजार ५ सय र डबल रुम ८ हजार ५ सय रुपैयाँ रहेको छ। विदेशी पाहुनाका लागि भने सिंगल रुमको १२ हजार र डबल रुमको १४ हजार रुपैयाँ कायम गरिएको उनले जानकारी दिए। त्यस्तै, सुइट रुम स्वदेशी पाहुनाका लागि ३५ हजार रुपैयाँ र विदेशीका लागि ४८ हजार रुपैयाँ प्रतिरात मुल्य कायम गरिएको उनले बताए।

‘पर्यटनमा अझै पनि अवसर छ। राजमार्ग बिस्तार, विमानस्थल संचालन लगायतले आशावादी बनाएको छ,’ उनले भने, ‘पहिल्यैदेखि पर्यटन क्षेत्रमै सक्रिय रहेकोले पनि लगानी गर्न यो बेला हौसला मिलेको हो।’ अहिलेका लागि पहुँचमा समस्या हुँदा सोचेको आकारमा पाहुना नभित्रिएपनि आगामि दिनमा पाहुना आगमनको आकार बढ्न सक्ने अवस्था देखिएको उनले बताए।
‘होटल थपिएका छन, प्रतिश्पर्धा हुनु राम्रो पनि हो। गुणस्तरीय सेवा पस्किन सक्ने हो भने समस्या पर्दैन,’ उनले भने। चिल्ली समूहले पोखरामा २००८ देखि पर्यटन क्षेत्रमा लगानी गरिरहेको छ। यसअघि रेस्टुरेन्ट लगायतका व्यावसायमा यो समूह सक्रिय छ।
लेकसाइडमै अर्काे होटल पेनिन्सुला पनि थपिने क्रममा छ। यसअघि ३० कोठाको होटल पेनिन्सुला बिस्तार गरेर ७७ कोठाको बन्दै गरेको संचालन खिम ढकालले बताए। उनका अनुसार आगामि जुलाईदेखि पेनिन्सुला नयाँ स्वरुपमा संचालनमा ल्याउने तयारी छ। संचालक ढकाल भन्छन, ‘होटल थपिने क्रम अहिले पनि चलिरहेको छ। पर्यटन क्षेत्रले माग गरेको विषय भएकोले लगानी थपिनु स्वभाविक हो। पोखरा आफैमा पर्यटकीय सहर भएकोले पनि लगानी बढ्नु राम्रो हो।’ पोखरामा पर्यटनको विकल्प नभएकोले पनि लगानी बढ्नु स्वभाविक रहेको उनले बताए।
‘पर्यटन नभए पोखरा चल्दैन। यहाँ लगानीको हिसाबले पनि पर्यटनको विकल्प छैन,’ उनले भने, ‘पछिल्लो समय त पोखराको पहुँचमा पनि सहज भईसकेको छ। विमानस्थल पनि संचालनमा आएको छ। अब अन्तर्राष्ट्रिय उडानले गति लिने देखिएको छ। सर्वत्र आशावादी बनाएको अवस्थामा पर्यटक भित्रिने सम्भावना छ। त्यही देखेर लगानी गरिएको हो।’
संघका केन्द्रीय सदस्य पराजुलीका अनुसार पछिल्लो ६ महिना होटल थपिँँदा कम्तिमा पनि चारसयवटा कोठा थपिएका छन्। अझै केही निर्माणाधिन अवस्थामा रहेकोले अबको एकवर्षभित्र अरु आधादर्जन होटल थपिने अवस्था रहेको उनले बताए। पराजुलीका अनुसार अहिले टेम्पल बेल, होटल दसैं, होटल पेनिन्सुला लगायतका संचालनमा आएका छन्। अहिले थपिएका होटलमा जग्गाको मुल्य सहित कम्तिमा चारअर्ब रुपैयाँ लगानी पर्यटन क्षेत्रमा थपिएको उनको अनुमान छ।
‘कम्तिम चारअर्ब रुपैयाँमध्ये कम्तिमा दुईअर्ब रुपैयाँ त पूर्वाधारको लागि खर्च भएको छ। बाँकी त्यत्ति नै रकम जग्गाको मूल्य पनि छ,’ उनले भने, ‘अहिलेको समयमा पर्यटन क्षेत्रमा अर्बौ रुपैयाँ लगानी थपिनु सानोतिनो चूनौती होईन। व्यवासायी अझै पनि पर्यटन क्षेत्रमा आशावादी छन्,’ उनले भने।
पोखराको लेकसाइड पर्यटकीय क्षेत्र भएकोले पर्यटन भन्दा अन्यत्र लगानीको अवसर नदेख्दा व्यावसायी हौसिएको पराजुली बताउँछन्। ‘पहिलेदेखि नै पर्यटन क्षेत्रमै लगानी गरेकोले यसलाई बिस्तार गरेका हु्न। पर्यटनमा सुधार हुन्छ भन्नेमा व्यावसायी आशावादी छन,’ पराजुली भन्छन्, ‘व्यावसायीलाई आशावादी बनाउनुमा पर्यटन क्षेत्रका लागि सहजताको ढोका खुल्दैछ। राजमार्ग बिस्तार सकिन थालेको छ भने अन्तर्राष्ट्रिय विमानस्थल पनि तयार भएर उडान सुरु भएको छ। ‘लामो समयदेखि पर्यटन क्षेत्रमै आवद्ध भएकोले पनि व्यावसायीले पर्यटन क्षेत्रमै सम्भावना देख्नु स्वभाविक हो,’ उनले भने। पर्यटन क्षेत्रमा पर्याप्त अप्ठेरा रहेको भएपनि व्यावसायीले आशावादी भएर लगानी बर्ढारहेको उनी बताउँछन्।
प्रकाशित: २७ चैत्र २०८१ १४:४८ बुधबार