निर्यात गर्ने वस्तुको परीक्षण गर्न भारत जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। भारत सरकारले नेपालको प्रयोगशालामा गरिएको परीक्षणलाई मान्यता दिने निर्णय गरेको भारतीय दूतावासले जनाएको छ।
नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशालामा परीक्षणपछि जारी प्रमाणपत्रलाई भारतले मान्यता दिएको हो। भारतले उक्त मान्यता दिएपछि निर्यात गर्नुपर्ने खाद्य वस्तुको परीक्षण गर्न भारत जानुपर्ने बाध्यताको अन्त्य भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए।
भारतीय अधिकारीहरू आएर खाद्य प्रविधिको प्रयोगशालाको मूल्यांकन गर्दा अन्तर्राष्ट्रिय मापदण्डअनुसार भएको पाइएपछि नेपाललाई त्यस्तो स्वीकृति मिलेको हो। ‘खाद्य स्वच्छताको क्षेत्रमा नेपालका लागि यो ठुलो उपलब्धि हो,’ कर्णले भने, ‘निर्यात गर्ने व्यवसायीले यसबाट धेरै फाइदा लिन सक्छन्।’
खाद्य प्रविधिको प्रयोगशालाले खाद्य वस्तु दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्ने मानक रहेकोमा अहिले त्यसलाई बढाएर ६ सय ३० पुर्याइएको छ। विभागले भारतीय निकायमा आवेदन दिएपछि भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणको टोलीले नेपाल आएर मूल्यांकन गरेको थियो। भारतको स्वीकृतिले निर्यातकर्ता खुसी भएका छन्।
नेपालबाट निर्यात हुने वस्तुको नमुना भारतका लखनउ, कोलकाता, नयाँ दिल्ली पठाइन्थ्यो। त्यहाँका प्रयोगशालाबाट रिपोर्ट आएपछि मात्र वस्तु निर्यात हुने गथ्र्यो। लागत र समयका हिसाबले उक्त प्रक्रिया निकै झन्झटिलो र खर्चिलो हुन्थ्यो। यो स्वीकृतिपछि अब सबैभन्दा बढी फाइदा निर्यात व्यवसायीले लिन सक्नेछन्।
नेपालमा उत्पादन हुने जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायतले परीक्षणको मान्यता पाएकाले अब यी वस्तुको निर्यातमा व्यवसायीलाई सहज हुनेछ।
निर्यात गर्नुपर्ने खाद्य वस्तुको परीक्षण गर्न भारत जानुपर्ने बाध्यताको अन्त्य भएको छ। खाद्य स्वच्छताको क्षेत्रमा नेपालका लागि ठुलो उपलब्धि हो।
सञ्जीवकुमार कर्ण,
महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
निर्यातकर्ताहरूले भारतीय कस्टममा लैजानुअघि खाद्य प्रविधिको प्रयोगशालाबाट जारी गरेको प्रमाणपत्र हुने भएकाले अब कुनै अवरोध हुँदैन। विभिन्न समयमा भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा नेपाली वस्तुको निर्यातमा अवरोध गर्दै आएको छ।
गत पुसको अन्तिम साता काठमाडौंमा दुई देशका वाणिज्य सचिवस्तरीय बैठकमा नेपालको गुणस्तरलाई भारतले मान्यता दिनुपर्ने प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रूपमा लिएको थियो।
नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतीय खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणबिच गुणस्तर परीक्षण, सर्टिफिकेसन, पारस्परिक मान्यताजस्ता विषयमा पारस्परिक कार्य अघि बढाउन र क्षमता विकासमा सहयोग आदानप्रदान गर्ने विषयमा सहमति भएको थियो। नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग छ।
नेपालबाट चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा एक खर्ब २५ अर्ब रूपैयाँको वस्तु निर्यात भएको छ भने ६ खर्ब ८८ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। यस स्वीकृतिले निर्यात व्यापार बढाउन र व्यापार घाटा बढाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।
खाद्य प्रविधि तथा गुणस्तर विभागले प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाएसँगै स्वदेशी वस्तुको परीक्षणलाई पनि तीव्रता दिएको जनाएको छ। आन्तरिक बजारमा बिक्री हुने खाद्य वस्तुको परीक्षणलाई कडाइ गरेको छ।
बजारमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तुको बिक्री रोक्न विभागले घुम्ती प्रयोगशाला (ल्याब) सहित सञ्चालनमा ल्याएको छ। गुणस्तरहीन खाद्य वस्तु बिक्री गर्नेलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न विभागले अनुगमन गर्दै आएको छ। खाद्य वस्तुको नमुना संकलन गरी विभागको प्रयोगशालामा ल्याएर परीक्षण गरी कारबाही गर्ने प्रक्रिया लामो भएपछि ठाउँको ठाउँ कारबाही गर्न सुरु गरेको छ।
प्रकाशित: २३ चैत्र २०८१ ०६:०२ शनिबार