१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

प्राईम सहकारीमा बचतकर्ताको डेढ अर्ब हिनामिना

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ।

विगत तीन वर्षदेखि नै वित्तीय संकटमा परेको पोखरा महानगरपालिका–४ गैह्रापाटनमा रहेको प्राइम सहकारीका बचतकर्ताको १ अर्ब ५४ करोड १५ लाख ८ हजार १ सय ४२ रुपैयाँ हिनामिना भएको पुष्टि भएको हो।

सहकारीका सञ्चालकले बचतकर्ताको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन गर्नुका साथै ठगी गरेको छानबिनका क्रममा पुष्टि भएपछि उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष पोखरा–१४ चाउथेका ४३ वर्षिय शंकर कार्की, पोखरा–२७ अर्चलेका सचिव ३७ वर्षिय सुरेन्द्रमणि पौडेल, पोखरा–३० शिसुवाका ५२ वर्षिय सहकारीका पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई र पोखरा–११ की सहकारीकी व्यवस्थापक ३६ वर्षिया निरु थापा केसी रहेका छन्।

यसैगरी प्रहरीले सहकारीका निवर्तमान अध्यक्ष पोखरा–४ गैह्रापाटनका ६६ वर्षिय निदेशप्रसाद कोइराला, सहकारीका कानुनी सल्लाहकार पोखरा–१३ आर्बा स्थायी घर भई पोखरा–१२ ढिकालेथर निवासी ५३ वर्षिय ईन्द्रप्रसाद बराल, कर्जा अधिकृत पोखरा–३० का ३० वर्षिय सुनिल थापा र सेयर सदस्य एवम् सल्लाहकार पोखरा–८ नयाँ बजारका मानबहादुर गुरुङलाई पनि पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए।

सहकारी रजिष्टारको कार्यालय, गण्डकीले रकम हिनामिना, अपचलन र ठगी सम्बन्धी अनुसन्धान गरिदिन पत्र पठाएकाले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी वसन्तकुमार शर्माले बताए। उनका अनुसार उनीहरुविरुद्ध अनुसन्धान सुरु भइसकेको छ।

यसैबीच, कास्की प्रहरीले सहकारी सञ्चालकहरुविरुद्ध उजुरी दिन बचतकर्ताहरुलाई आह्वान गरेको छ। कास्की प्रहरीले प्राइम सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना तथा अपचलन गरेको तथा ठगी गरेको देखिएकाले बचत रकम फिर्ता नपाएका बचतकर्ताहरुलाई यही जेठ २० गते भित्र कास्की प्रहरी कार्यालयमा उजुरी दिन आह्वान गरेको हो।

जसका लागि बचत तथा शेयर रकम फिर्ता नपाएको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजातसहित कानून बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त दिन भनिएको छ।

प्रकाशित: २ जेष्ठ २०८१ १६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App