१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जुम्लामा धान दिवस आज : मार्सी धानको बिउ राखिँदै

मार्सी धानको बिउ भिजाउँदै हरिकन्या चौंलागाईं । तस्बिर : नागरिक ।

जुम्लामा आज धान दिवस । चैत १२ देखि २० सम्म यहाँ धान दिवस मनाउने प्रचलन छ। सोहीअनुसार जिल्लामा आजदेखि ९ दिनसम्म धान दिवस मनाउन लागिएको हो।

कर्णाली प्रदेश सरकारले आज जुम्लामा सार्वजनिक बिदा दिएको छ। दुर्लभ जुम्ली मार्सीले संसारकै सबैभन्दा बढी उचाइ अर्थात् समुद्री सतहबाट करिब २ हजार ७ सय ९० मिटर उचाइमा उत्पादन हुने धानको चिनारी बोकेको छ। उपहारका रुपमा विदेशी पाहुनालाई प्रदान गर्न थालिएकाले यसको महत्व अझ बढेको छ।

१०९८ सालमा चन्दननाथ बाबाले तातोपानीको लाछु ज्युलोमा मार्सी धानको बीउ राखेका थिए। बीउ परीक्षण सफल भएपछि १११२ सालदेखि काली मार्सी धान खेती सुरु भएको चन्दननाथ नगरपालिका– १ आचार्यबाडाका संस्कृतिविद् रमानन्द आचार्य बताउँछन्। यस आधारमा यो धान सबैभन्दा पुरानो, जेठो र बूढो पनि मानिन्छ।

उतिबेलालदेखि नै जुम्लाका उच्च स्थान लाछु, छुमचौर र हाकुमा मार्सी धान उत्पादन हुँदै आएको छ।

कसरी गरिन्छ मार्सी धान खेती ?

जुम्लामा मात्रै उत्पादन हुने विश्वकै लोकप्रिय धान हो– मार्सी। नेपाली र तेस्रो मुलुकको ठुलो बजारमा लोकप्रिय बन्दै आएको काली मार्सी धान खेती यो वर्षको चैत १२ देखि सुरु भएको छ। किसानले आज मार्सी धानको बीउ राखेका छन्।

धानको बीउ बोरामा हालेर पानीमा भिजाइराख्ने दिनलाई यहाँ धान दिवसको सुरुआतका रूपमा लिइन्छ। स्थानीय चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मस्टो, कालिका, मालिका र आफ्ना कुल देवता सम्झेर बीउ राख्ने परम्परा छ।

जुम्लाका आठवटै स्थानीय तहमा मार्सी धान खेती हुन्छ। पातारासी गाउँपालिकास्थित छुम, चौर, ज्युलोमा सबैभन्दा बढी मार्सी धान खेती हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। हरेक वर्ष चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाउने, १६ गते बाहिर निकाल्ने र २० गते छर्ने चन्दननाथ भण्डारीबाडाकी ५८ वर्षीया गोरीकला कुमाईले बताइन्।

चैत १२ मा ‘बारुवा’ गरिन्छ। कुनै कामविशेषले बाहिर गएका जिल्लावासी मार्सी धान खेतीका लागि यस दिन आफ्नो जन्मघर पुग्नैपर्छ। ‘चैताबारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनी जान्नू’ भन्ने जनविश्वास रहेको चन्दननाथ कोटिलाकी ६० वर्षीया रुपसिला बोहोरा बताउँछिन्।

उनी भन्छिन्, ‘दुई दशकअघिसम्म चैतको १२ सम्म घर नपुग्ने जुम्लीको मृत्यु भएको सुनिश्चित गरिन्थ्यो। यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो। स्थानीयकाे भनाइअनुसार कालापहाड गएका, बिदेसिएका घरमूलीको पर्खाइमा बस्ने परिवारको मिलनको दिनका रुपमा पनि बारुवालाई लिइन्छ। 

चैत १६ मा भिजाएको धानको चिउरा कुट्ने चलन पनि छ। घरका दिदीबहिनी एकापसमा मिलेर चिउरा कुट्ने गर्छन्। मार्सीको रातो भातको खिर निकै स्वादिलो हुन्छ। मार्सी चामल औषधिका रूपमा पनि प्रयोग गरिन्छ। उच्च रक्तचाप, मधुमेह, पेट तथा रगत सफा राख्न यसले धेरै मद्दत गर्छ।

जुम्लामा २ हजार ८ सय हेक्टरमा धान खेती हुने कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ। कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार १२ चैतमा बीउ भिजाएर, १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने गरिन्छ। १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ। वैशाख १ मा बेर्नाको पानी सुकाउनुपर्छ। त्यसपछि बीउ हरियो हुन्छ। स्थानीय भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिङ्गर चालेर मलका रूपमा हालिन्छ। ४० दिनमा रोप्नका लागि बेर्ना तयार हुन्छ।

कार्यालयका प्रमुख देवकोटाका अनुसार असारदेखि मध्य साउनसम्म गोडमेल गरिसक्नुपर्छ। भदौमा झारपात उखेल्नुपर्छ। कीराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर छर्ने गरिन्छ। खेतमा पानी भने खाली गर्नु हुँदैन।

पहिले कात्तिकको पहिलो सातापछि मात्र धान काट्ने चलन थियो, तर अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काटिन्छ। रोपेको दिनदेखि सात महिनाभित्र मार्सी धान पाक्छ।

प्रकाशित: १२ चैत्र २०८० १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App