१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालगञ्जको जयसपुरमा पनि पक्की सडक

फाइल तस्वीर

भारतसँग जोडिएको नेपालगञ्ज १५ पिप्रहवा र १६ को जयसपुरमा हालसम्म पक्की सडक छैनन् । उपमहानगरपालिकाले जमुनाह र जयसपुरगाउँमा पक्की सडक निर्माणको काम सुरु गरेपछि खुसी लागेको स्थानीय कैलाश यादवले बताए।

‘हाम्रो वडाको भित्री सडक अहिलेसम्म पक्की भएको छैन, अब चाहिँ बन्छ कि भन्ने आशा जागेको छ’, यादवले भने, ‘पक्की सडक नहुँदा वर्षाका बेला हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्था छ।

’नेपालगञ्ज–१५ स्थित जमुनाहा गाउँमा मुख्य सडक सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म पुग्ने दुई सय २० मिटर लामो सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए। आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी एएनडी कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ। ४७ लाख ८८ हजार रूपैयाँको लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने उपमहानगरपालिकाका इञ्जिनियर प्रदीपकुमार हरिजनले जानकारी दिए।

पक्की सडक निर्माणसँगै ४० खम्बामा सडक बत्ती जडान, माटो कटान तथा नालामा ढक्कन हाल्ने योजना सुरु भएको वडा नं. १५ का वडाध्यक्ष मदनविक्रम शाहले बताए। उनले साविकको पिप्रहवा गाविसमा रहेको वडा नं १५ भौगोलिकरूपमा ठूलो वडा भएकाले पूर्वाधार विकासमा बजेटको अभाव हुने भएको हुँदा जनताको चाहनाबमोजिम काम हुन नसकेको बताए।

यसैगरी भारतीय सीमा क्षेत्रसँग जोडिएको उपमहानगरपालिका–१६ जयसपुरमा मुख्य सडक जोड्ने फराकिलो पक्की सडक निर्माण प्रक्रिया सुरु भएको छ। जयसपुरस्थित अब्दुल रहमानको घरदेखि पचपोखरा जाने बाटोसम्म पक्की सडक बन्ने भएपछि स्थानीयमा खुसियाली छाएको छ।

यो सडक निर्माण सम्पन्न भएसँगै जयसपुरवासीलाई मुख्य सडकसम्म पुग्न सवारी आवतजावतमा सहज हुनुका साथै जयसपुरको मुहार परिवर्तन हुने वडाध्यक्ष कलीम अहमद जोलाहले बताए। वडाध्यक्ष जोलाहको विशेष पहलमा वडामा पक्की सडक बन्ने भएपछि वडावासी खुसी भएको वडासचिव तेजबहादुर सिंहले बताए।

‘जयसपुरमा अहिलेसम्म साँघुरा सडक भएका कारण वडावासीलाई मुख्य सडकसम्म पुग्न समस्या रहेको छ’, उनले भने, ‘अब यो सडक बनेपछि जयसपुर गाउँभित्रैसम्म ठूला सवारीसाधनको सहजै आवागमन हुनेछ र त्यसले यहाँको समग्र विकासमा प्रभाव पार्नेछ।’

अहिले ९० लाख रूपैयाँको लागतमा सडक निर्माणको काम सुरु भएको छ।  

प्रकाशित: २१ फाल्गुन २०८० ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App