१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण तीव्र

जुम्लाको बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। जुम्लाकै सबैभन्दा ठूलो आठ हजार ६ सय ९५ घरधुरी खानेपानी आयोजनाको दुईवटा प्याकेजमा काम भइरहेको छ।

आयोजनाको भौतिक प्रगति लक्ष्यअनुसार काम भइरहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका निमित्त कार्यालय प्रमुख दीपेन्द्र भट्टले बताए।

उनका अनुसार आयोजनाको भौतिक प्रगति ४३ प्रतिशत भएको छ। भट्टले वित्तीय प्रगति ३४ प्रतिशत भएको बताए। बृहत् धौलीगाड खानेपानी अयोजनाको दुईवटा प्याकेजमा काम हुँदै छ। पहिलो इन्टेकदेखि आरभिटीसम्मको काम भएको छ, जसमा इन्टेक निर्माण, डिसी, आईसी, पाइपलाइन निर्माण ट्यांकी निर्माण भइरहेको छ।

यस क्षेत्रमा एक सयदेखि ६ सय घन मिटरका ट्यांकी निर्माण हुँदैछन्। चन्दननाथ, तातोपानी र गुठीचौर गाउँपालिकामा क्षेत्रमा ६ सय घनमिटरका एक ट्यांकी, तीन सय घनमिटरको एक, दुई सय घनमिटर दुईवटा, डेढ सय मिटर तीनवटा र चार सय मिटरका ट्यांकी निर्माण धमाधम हुँदैछ।

कार्यालयका अनुसार प्याकेज १ अनुसार यस कामका लागि ट्रान्समिसन पाइपलाइन ७१.९३ किलोमिटरको काम भएको छ। कार्यालयका अनुसार प्याकेज २ मा ट्यांकीदेखि धारासम्मको दुईसय किमी वितरण पाइपलाइनको कार्य पनि धमाधम भइरहेको छ, जसअन्तर्गत करिब एक सय ३० देखि एक सय ४० किमि वितरण पाइपलाइनको काम सम्पन्न भइसकेको छ।

कार्यालय प्रमुख भट्टका अनुसार प्याकेज १ मा निर्माण कम्पनी कन्काई जेभी ललितपुर र सिएमसि कन्सट्रसन प्राइभेट लिमिटेडले काम गरिरहेका  प्याकेज १ को कामका लागि ५४ करोड ४१ लाख ४ सय ५३ रूपैयाँ ४७ पैसा र प्याकेज २ का लागि ३७ करोड ७ लाख ५ हजार ३ सय ७१ रूपैयाँ रकम छ।

प्याकेज १ को निर्माण कम्पनी सँग २०७८ चैत ४ गते ३६ महिनाको लागि र प्याकेज २ का लागि २०७९ असार १९ गते ३० महिनाको लागि कामको सम्झौता भएको छ।

४३ हजार ७ सय १८ जनसंख्या लाभान्वित  

जुम्ला सदरमुकाममा खानेपानीको अभाव भइरहेको समयमा हिमालको शुद्ध खानेपानी खाने उद्देश्यले समुद्र सतहदेखि तीन हजार नौ सय १८ मिटर उचाइमा रहेको रहेको शुद्ध मुहानबाट धौलीगाडको खानेपानी जुम्लाको चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाका ४३ हजार ७ सय १८ जनसंख्या लाभान्वित हुनेछन्।

जुम्ला विमानस्थल दुई हजार तीन सय ५० मिटर उचाइमा छ। जुम्ला सदरमुकाममा बढ्दो जनसङ्ख्या र खानेपानीको अभाव भइरहेको समयमा बृहत् धौलीगाड खानेपानी आयोजना यस क्षेत्रको मुहार फेर्ने आयोजनाको रूपमा नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए।

उनका अनुसार धौलीगाड खानेपानी गौरवको आयोजनाको रूपमा रहेकाले सबै मिलेर यसलाई अगाडि बढाउन आवश्यक रहेको छ। चन्दननाथ नगरपालिका ४ निवासी सृजना रावत खानेपानीले हैरान भएको समयमा यस आयोजनाले ठूलो राहत पुग्ने बताउँछिन्।

अहिलेसम्म लक्ष्यअनुसार काम भइरहेका छन्, तर कार्ययोजनाअनुसार बजेट अभाव भइरहेको छ। यस वर्ष धौलीगाड खानेपानी आयोजनाको नियमित बजेट १२ करोडमा धमाधम काम भइरहेको र बाँकी करिब १२ करोड यस वर्षमै आवश्यक देखिन्छ।

सो रकमको माग सम्वन्धित निकायमा पठाएको कार्यालयले जनाएको छ। कम्पनीसँग सम्झौता भएको रकमभित्रकै यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा  करिब ४० करोड बजेट सरकारले सुनिश्चित गरे निर्धारित समयमा योजना अनुसारको आठ हजार ६ सय ९५ खानेपानीको धारा घर घरमा पुग्ने बताइएको छ।

यो पानीलाई खानेपानी विभागले यार्सा मिनरल वाटरको रूपमा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिने आधार पनि तयार गर्ने बताउँदै आएको छ।

प्रकाशित: ८ माघ २०८० ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App