५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १:३८ पूर्वाह्न
अपराध

नेपाली कांग्रेसका स्थानीय नेताकाे हत्या

नेपाली कांग्रेसका स्थानीय नेता दुर्गाबहादुर पुन मगरको हत्या भएको छ। गएराति (बिहीबार) पार्टीको काम सकेर घर फर्किंदै गर्दा कोहलपुर-७ का पूर्व वडासदस्य तथा बहालवाला वडा उपसभापति ३९ वर्षीय पुनको हत्या भएको हो।

सोही वडाका केही युवाको समूहले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनामा संलग्न कोहलपुर-४ का २३ वर्षीय राजु सुनारलाई प्रहरीले पक्राउ गरेको छ। तर, प्रहरीका अनुसार पीडित परिवारले अहिलेसम्म जाहेरी दिएको छैन। मृतक पुनको घर बनखेत नजिकै रहेको रजगडवा नजिकको झोलुंगे पुलमा हत्या भएको थियो। 

जाहेरी नपरे पनि पक्राउ परेका राजुले कुटपिट गरेको र कुटपिटबाटै हत्या भएको स्वीकार गरेका छन्। प्रमाण र उनको बयानका आधारमा कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

मृतकका आफन्तका अनुसार, पुनले हत्यामा संलग्न व्यक्तिलाई लागुऔषध प्रयोग र चुरोट सेवन गर्न नहुने भन्दै सम्झाउँदै आएका थिए। सोही कारण हत्या भएको परिवारको भनाइ छ। तर, पक्राउ परेका राजुले प्रहरीमा दिएको बयानमा पुनले अनावश्यक गाली गरेकोले कुटपिट गरेको बताएका छन्। यो कुरा प्रहरी स्रोतले जनाएको छ।

नेपाली कांग्रेस बाँकेले घटनाको भर्त्सना गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। पार्टीको कामबाट घर फर्किंदै गर्दा राजनीतिक प्रतिशोध र रनजिशका कारण हत्या भएको जिल्ला सभापति नारायण गौडेलले विज्ञप्तिमा उल्लेख गरे। कोहलपुर प्रहरीले अहिलेसम्म एक जना मात्र संलग्न देखिएको बताए पनि कांग्रेसले सामूहिक हत्या भएको दाबी गरेको छ।

घटनामा राजुसँगै अन्य दुई व्यक्ति पनि संलग्न भएको आशंका छ। कांग्रेसको विज्ञप्तिले पनि यही कुरालाई संकेत गरेको छ। यसबारे नागरिकले टेलिफोनमा अन्य व्यक्ति फरार भएको हो भन्ने प्रश्न गर्दा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने, ‘अहिलेसम्म अन्य व्यक्तिको जानकारी आएको छैन। त्यो होइन।’

प्रकाशित: २२ चैत्र २०८१ १६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App