२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कटारी-घुर्मी सडक मर्मतको माग गर्दै ‘सडक बैठक

कटारी–घुर्मी सडक मर्मत गर्दै सडक मजदुर। तस्बिर: महेश्वर/नागरिक

वर्षौंदेखि जीर्ण सिद्धिचरण लोकमार्ग मर्मत नगरेको भन्दै स्थानीयले नयाँ शैलीले विरोध गर्न थालेका छन्। लोकमार्ग अन्तर्गत कटारी–घुर्मी खण्डको मर्मत नगरेको भन्दै बीच सडकमै स्थानीयले बैठक राखेर विरोध जनाउन थालेका हुन्।  

पटक पटक सडक मर्मत गर्न माग गर्दा राज्यले बेवास्ता गरेको भन्दै स्थानीयबासी जम्मा भएर बीच सडकमै भेला र बैठक राख्दै विरोध कार्यक्रम आयोजना गर्न थालेका हुन्। सडक मर्मत गर्न सरकारलाई दबाब दिने यो नयाँ शैली अपनाउन बाध्य हुनु परेको उनीहरूको भनाइ छ।

यसै क्रममा शनिबार कटारी नगरपालिका आठ देखि १४ नम्बरसम्मका वडाध्यक्षसहितको भेला सम्पन्न भएको छ। भेलाले लोकमार्ग तत्काल मर्मत गर्न गराउन आगामी दिनमा सशक्त आन्दोलन गर्ने, भावी आन्दोलनको नयाँ रणनीति तय गर्ने तथा यस्तो सडक भेला कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने निर्णय भएको छ।

कटारी ११ को बेतिनीमा सम्पन्न भेलामा वर्तमान जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, बुद्धिजीवि, शिक्षक, कर्मचारी, विद्यार्थी र नागरिक समाजको सर्वपक्षीय सहभागिता थियो।

भेलाले सडक मर्मत गर्न सम्बन्धित निकायहरू नगरपालिकादेखि मन्त्रालय र प्रधानमन्त्रीसम्म भेट्न प्रतिनिधिमण्डल जाने, स्थानीय स्रोत साधनको उपयोग गरी सडक मर्मत र स्तरोन्नति गर्ने तथा कालोपत्रे गर्न माग गर्ने प्रस्तावहरू पारित गरेको छ। सडक स्तरोन्नति गरी बाहै्र मास सहज रूपमा यातायात आउजाउ गर्न सक्ने वातावरण बनाउने निर्णय पनि भेलाले गरेको छ।  

कटारी ८ का पूर्व वडाध्यक्ष कमल श्रेष्ठका अनुसार सडक मर्मत नगरेका कारण वर्षायाममा हिलाम्य र हिउँद लागेपछि धुलाम्य हुनुपर्ने अवस्थाले सवारी साधन र यात्रुको बेहाल हुनुका साथै स्थानीयबासीलाई धुलोले सताउने समस्या छ। भत्के बिग्रेर खाल्डाखुल्डी भएको सडक भएकाले धुलो र हिलोले यात्रु र सवारी साधनलाई आउजाउ गर्नै नसक्ने अवस्थामा पु¥याउने गरेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन यस्तो भेलाहरू आयोजना गरिएको पूर्व वडाध्यक्ष श्रेष्ठले बताए।

स्थानीयले पहिलो पटक गत मंगलबार यस्तो भेला आयोजना गरेका थिए। मंगलबार कटारी नगरपालिका ८ को बड्मीमा स्थानीयले भेला आयोजना गरेका थिए। बुधबार कटारी ११ को बेतेनीमै अर्को भेला आयोजना गरिएको थियो भने त्यसैलाई परिस्कृत गर्न बेतिनीमै वडाध्यक्षसहितको भेला आयोजना गरिएको हो। माघ लागेपछि अन्य ठाउँमा यस्तै भेलाहरू सडकबीचमै गर्दै लाने योजना बनाइएको पनि उनीहरूले बताएका छन्।  

कटारी–घुर्मी खण्डमा दैनिक दुईदेखि पाँच सय हाराहारी साना ठूला सवारी साधन आउजाउ गर्छन्। साँघुरो र जीर्ण सडक भएकाले दुर्घटनाहरू पनि प्रशस्त हुने गरेको छ।

 यात्रुलाई सहज हिँड्डुल गराउन यथाशीघ्र सडक स्तरोन्नति गर्न जनदबाब सिर्जना गर्नकै लागि सडक भेला आयोजना गर्न थालेको स्थानीय मोहन कोइरालाले बताए। उनका अनुसार ०५८ सालमा नेपाली सेनाले निर्माण गरेको सो सडक सिराहाको मिर्चैयादेखि कटारी, घुर्मी हुँदै ओखलढुंगा जोडिएको छ।  

मिर्चैयादेखि चुरे पहाड हुँदै कटारी र कटारीदेखि पहाडी भूगोल हुँदै घुर्मी जोडिएको यो लोकमार्ग ओखलढुंगा, सोलुखुम्बुसम्म सडक सञ्जालले जोड्ने उद्देश्यले निर्माण भएको हो। सिराहाको चोहर्वामा रहेको मारुती सिमेन्ट उद्योगका लागि सिन्धुलीको ककुरठाकुरस्थित खानीबाट चुन ढुंगा ओसार्ने अधिक भारवहनका ट्रिपरहरू दिनरात दर्जनौं संख्यामा चल्ने गरेका कारण सञ्चालनमा आएको दुई वर्षमै बिग्रेर धुले सडकमा परिणत भएको हो।

सडक डिभिजन लाहानको रेखदेखमा सञ्चालित सो लोकमार्ग बर्सेनि मर्मत गर्ने गरिए पनि जस्ताको तस्तै हुने गरेपछि अब मर्मत नगरेर स्तरोन्नति गर्ने नीति सरकारले लिएको छ।

सरकारले गतवर्षदेखि यो सडकको रेखदेख गर्ने जिम्मेवारीसहित कटारीमा ‘मिर्चैया–कटारी–घुर्मी सडक आयोजना’ कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याएको छ। सो कार्यालयले पेश गरेको ६ अर्बको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार सडक विभागले आवश्यक बजेट व्यवस्था गर्ने काम भइरहेको आयोजना कार्यालय प्रमुख (डिई) सञ्जिव मिश्रले बताए। डिई मिश्रले स्थानीयले सडक मर्मतको माग गर्दै पटक पटक आयोजना कार्यालय धाउने गरेको तर अब मर्मत गर्ने कार्यक्रम नै सरकारको नरहेकाले एकैचोटी स्तरोन्नतिको काम हुने बताए।

डिई मिश्रका अनुसार स्थानीयले मर्मतसँगै धुलो मार्न पानी छ्याप्न माग गर्दै कार्यालय आउने गरेका छन्। ठेक्का नै लागिनसकेकाले सो शीर्षकमा बजेट नभएको हुँदा उनीहरूको माग पूरा गर्न नसकेको उनले बताए। पानी छ्याप्ने काम स्थानीय सरकारको भएकाले कटारी नगरपालिकासँग सहयोग माग्ने तयारी गरेको पनि डिई मिश्रले बताए। 

प्रकाशित: २ माघ २०८० ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App