७ वैशाख २०८१ शुक्रबार
कला

नेपाली कलाको प्रवर्धन गर्दै ‘लेट्स डिस्कभर’

राजधानीको ठमेलस्थित काठमाडौं गेस्ट हाउसको तल्लो भाग (अन्डरग्राउन्ड)मा रहेको म्युजियम अफ नेपाली आर्ट (मोना) नेपाली कलालाई नयाँ आयाम दिन लागि परेको छ । सोमबार मोनाले ‘लेट्स डिस्कभर’ नामक कार्यक्रमको आयोजना गरेर विश्वसामु नेपाली कला र कलाकारहरूलाई परिचित गराउन लागि परेको जानकारी गराएको थियो ।

संग्रहालयलाई सञ्चालनमा ल्याएका काठमाडौं गेस्ट हाउसका सिइओ राजन शाक्यका अनुसार म्युजियम अफ नेपाली आर्टले स्थानीय संस्कृति र परम्पराको प्रदर्शनसँगै नेपालीको परिचय समेत झल्काउँछ । ‘यस संग्रहालयले हाम्रो जीवन, संस्कृति र परम्परालाई प्रदर्शन गर्दछ,’ उनले भने, ‘त्यसबाहेक संग्रहालयले नेपालीहरू को हुन् भनेर समेत झल्काउँछ ।’ नेपाली कलाका विभिन्न पक्षहरूबारे बुझ्न र छलफल गर्न मोनाले महत्वपूर्ण भूमिका खेल्नेमा उनी आशावादी देखिन्छन् ।

काठमाडौं गेस्ट हाउस र मोनाले कतार ऐयरवेजसँग सहकार्य गरेर कोरोना भाइरस महामारीपछि थलिएको नेपाली कला र कलाकारहरूबारे स्थानीय समुदायलाई जानकारी गराउन जुटेको छ । यसका लागि राजनीतिक अस्थिरताले देशभर अशान्त सिर्जना भइरहेको अवस्थामा संग्रहालयमा रहेको ‘टिचिङ अफ बुद्ध’ शीर्षकको कलाले आगन्तुकहरूको ध्यान केन्द्रित गरेको छ । चित्रकार समुन्द्रमान सिंहले तयार गरेका यस कलाले बुद्धको कथा सुन्दै हुर्किएका सर्वसाधारणलाई नेपालमा भइरहेको कलाका अभ्यासहरूलाई बुझ्न सहज बनाइदिएको छ । कलाकार शशि विक्रम शाह, किरण मानन्धर, एरिना ताम्रकार, उमाशंकर शाह, एरिना ताम्रकार, लोक चित्रकार र मुक्ति सिंह थापा, पूरण शाक्यलगायत कलाकारहरूले तयार गरेको परम्परागत र समसामयिक कलाहरू संग्रहालयमा राखिएका छन् ।

त्यस्तै संग्रहालयमा राखिएका पौभा कलाले नेपालका विविध समुदायहरूको धर्म र संस्कृतिलाई स्थापित गरेको छ । समयको अन्तरालमा जीवनशैली परिवर्तन भएपनि कलाप्रतिको सम्मान र विश्वासले निरन्तरता पाएको महसुस गर्न सकिन्छ । संग्रहालयमा रहेका कलाहरूलाई सुरक्षित राख्न विशेष ध्यान दिइएको छ । नेवारी वास्तुकलाले सजिएको संग्रहालय पाँच भागमा विभाजित गरिएको छ । ‘नेपाली कला नेपालीले बुझ्न जरुरी छ,’ सिइओ शाक्यले भने, ‘नेपाली कलालाई स्थानीयस्तरमा प्रचार गर्न हामीले संग्रहालयलाई पाटन र पोखरामा विस्तार गर्ने योजना बनाइरहेका छौं ।’

संग्रहालयमा प्रवेश गर्न पाँच सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । सोमबारदेखि आगामी मार्च २४ तारिकभित्र टिकटसहित संग्रहालय प्रवेश गरेका आगन्तुकमध्ये लक्की ड्रमार्फत एक जनालाई कतार ऐयरवेजले अनलाइन गन्तव्यको राउन्ट ट्रिपको टिकट प्रदान गर्नेछ ।

प्रकाशित: २१ माघ २०७७ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App