लामो समयपछि वर्षा हुँदा किसानलाई खेती गर्न भ्याईनभ्याई भएको छ। ७० प्रतिशत हिस्सा पहाडी भूभागले ओगटेको उदयपुरमा समयमा वर्षा नहुँदा अन्न बाली (आलु र मकै) लगाउन नपाउँदा मर्कामा परेका किसानलाई यो वर्षाले धेरै खुसी दिएको छ।
बिहीबार राति र शुक्रबार विहान वर्षा भएपछि किसानलाई बाली लगाउन भ्याईनभ्याई भएको छ। जिल्लाको उच्च क्षेत्र (लेक) भूभागमा समयमा वर्षा नहुँदा आलु र मकै बाली लगाउन निकै ढिला भइसकेको छ। उच्च र चिसो ठाउँमा आलु मकै खेती बाली लगाउने गरिएको छ। आलु र मकै बाली लेकमा माघ पहिलो सातादेखि ढिलोमा चैत दोस्रो साताभित्र लगाइसक्नुपर्ने सिजन हो। तर, समयमा वर्षा नहुँदा अहिलेसम्म आलु रोप्न र मकै छर्न नपाउँदा किसान चिन्तित भइरहेका थिए।
कतिपयले भने वर्षा नभए पनि आलु र मकै लगाइसकेका थिए। चिस्यान र सेपिलो क्षेत्रमा किसानले आलु उमारेर गोडमेल गर्न थालिसकेका छन्। आलुसँगै छरेको मकै बाली भने पानी अभावमा धुले (खुम्ले किरा) रोग लागेर क्षति भएको किसान बताउँछन्। ‘समयमा पानी परेन र एक/डेढ महिना ढिलो रोपेको आलु जसोतसो हुर्कँदै छ। तर, मकै चाहिँ उम्रने बित्तिकै धुले लाग्यो,’ रौतामाई १ माझखर्कका किसान लालबहादुर राईले भने, ‘आलु गोडमेल गरिँदै छ, मकै चाहिँ धुले गभारोले उम्रेर दुई/तीनपाते हुँदै जरै काटेर सखाप बनायो।’ अझै वर्षा नभए यस वर्ष मकै उब्जाउन नसक्ने चिन्ता राईजस्तै लेकाली किसानलाई छ।
लगभग सात महिनापछि वर्षा भएको पनि कहीँकहीँ राम्रै भए पनि धेरैजसो ठाउँमा भने हल्का वर्षा भएको छ। वर्षासँगै किसानहरू बाली लगाउन, बाँझो खेत जोत्न, मल ओसार्न र खनजोत कार्यमा व्यस्त भएका छन्। लेकतिर धमाधम मकै र आलु रोप्न किसान व्यस्त छन् भने कक्षार (लेक र बेँसीको बीच) तिरका किसान मल ओसार्न, बाँझो बारी जोत्न र घसेटा डढाउन (मल बनाउने प्रक्रिया) लागी परेका छन्। कक्षार क्षेत्रमा चैत अन्तिमदेखि वैशाख दोस्रो साताभित्र मकै बाली लगाइसक्नुपर्छ, त्यसपछि लगाइएको मकैको उत्पादन राम्रो नहुने किसानको अनुभव छ।
खोँच, बेँसी र खोला–नदी किनारका भावर क्षेत्रमा भने जेठ पहिलो सातादेखि असार पहिलो सतासम्म लगाइने मकै बाली पनि राम्रै उत्पादन हुनाले अहिले नै वर्षाको खासै खाँचो परेको छैन। अहिलेसम्म वर्षा नहुनुले सबभन्दा बढी मर्का लेकका किसानलाई परेको छ भने कक्षारकालाई पनि मकै बाली लगाउन झण्डै ढिला भइसकेको छ। वैशाख पहिलो साताभित्र पनि वर्षा भएन भने कक्षार क्षेत्रका किसान पनि यो वर्ष मकै बाली उत्पादन गर्न असफल हुने अनुमानले चिन्तित हुन थालेका छन्।
उदयपुरको भूगोल समुद्री सतहदेखि ३ सय ६० मिटर तलदेखि २३१० मिटरसम्मको उचाइसम्ममा अवस्थित छ। जसमा अधिकतर भूभाग पहाड र खोँचमा पर्छ। भित्रि मधेस र तराई भेगले ३० प्रतिशत हिस्सा ओगटेको छ। जिल्लाको सबभन्दा अग्लो ठाउँ रौतामाई गाउँपालिका १ नामेटाको चित्रेथाम, माझखर्क, डहर, जिरे, टाट्ने पर्छ। त्यस्तै लिमचुङबुङ गाउँपालिका ३ को भोयोचुङ, दोबाटे, नगरे, बाराहा तथा ताप्ली गाउँपालिका ३ को ईनामे, ठानागाउँ, ताप्ली पोखरी, चिसापानी, जतनपुर पनि लेक क्षेत्रमै पर्छन्।
ती क्षेत्रका किसानलाई भर्खरको वर्षा अमृत समान भएको छ। समयमा पानी नपरेर चिन्तित किसान यो वर्षापछि आलु र मकै बाली लगाउन व्यस्त भएका छन्। ‘अझै एकझरो पानी परे त सबै बारीमा बाली लगाउन भ्याइन्थ्यो,’ भोयोचुङका पार्वति शेर्पाले भनिन्, ‘यो वर्ष पानी पर्न ढिला भएर बेलामा बाली लगाउन पाइएन। बल्ल एकझरो पानी परेर जेनतेन मकै छर्न पाइयो।’ यसपाली बेलमा वर्षा नभएर धेरै किसानलाई समयमा बाली लगाउन नपाएर चिन्ता लागेको शेर्पाले बताइन्।
जिल्लाका रौतामाई, लिमचुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिका पुरै पहाडी भूभागमा पर्छन्। जसमध्ये ३० प्रतिशत हाराहारी हिस्सा लेक, ४० प्रतिशत कक्षार र बाँकी ३० प्रतिशत खोँच र बेँसी भेगमा पर्छन्। त्यस्तै कटारी नगरपालिकाका १४ वडामध्ये आधा अर्थात ७ वडा पहाडी भेगमै छन्। यता सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकाका १६ वडामध्ये १४, १५ र १६ नं. पनि पहाडी छन्। १४ वडा रहेको चौदण्डीगढी नगरपालिकाका १ र ८ तथा ९ वडा रहेको बेलका नगरपालिकाका ५, ६, ७ र ८ नं. वडालाई पनि पहाडी भूगोलले समेटेको छ।
यता तराई भेगमा पनि वर्षा भएपछि किसानलाई चैते धान रोप्न भ्याईनभ्याई हुन थालेको छ। अहिलेको मौसम चैते धान रोप्ने बेला भएकाले यो वर्षाले किसानलाई हर्षित बनाएको हो। चैते धानको रोपाईँ गर्न अहिले नै समय घर्किनसके पनि वर्षा भएको बेला किसान रोपाईँमा व्यस्त भइहालेका हुन्। ‘चैते धान रोप्ने समय बितिगएको त छैन, तै पनि पानी परिहाल्यो, यै बेला दाउ छोपिहालुँ भनेर,’ त्रियुगा नगरापलिका ९ का रत्न विष्टले भने, ‘के थाहा, अर्को झरी पानी पर्छ कि पर्दैन, त्यै भएर रोपाई सकिहाले ढुक्क हुन्छ भनेर नि।’
प्रकाशित: ३१ चैत्र २०८१ ०९:२५ आइतबार